Sunday, July 29, 2012

‘अहिलेको सरकार इतिहासमै भ्रष्ट’

पोखरा, श्रावण १४ - नेकपा-माओवादीका महासचिव रामबहादुर थापाले नेपालको इतिहासमा अहिलेको सरकार सबैभन्दा बढी भ्रष्ट भएको बताएका छन् ।
शान्ति प्रकृया सुरुसँगै मुलुकम भ्रष्टाचार मौलाएकोमा अहिलेको सरकार सबैभन्दा अगाडि रहेको उनले दाबी गरे । 'पञ्चायत र बहुदलीय व्यवस्थामा पनि यतिधेरै भ्रष्टाचार भएन', पार्टीको तमुवान् तथा कास्की जिल्ला कार्यालयको आइतबार उद्‍घाटन गर्दै थापाले भने, 'अहिलेको सरकारले भ्रष्टाचारमा रेकर्ड तोडेको छ ।' उनले ६ वर्षयता दण्डहीनता मौलाएको र पुराना पार्टी पनि भ्रष्टाचारमा लिप्त भएको बताए ।
थापाले पछिल्लो समयमा मुलुकमा राष्ट्रियता विरोधीको हालीमुहाली भइरहेकाले त्यसको रक्षाका लागि नयाँ शक्तिका रूपमा आफ्नो पार्टीको जन्म भएको बताए । अब नयाँ कांग्रेस र नयाँ एमाले जन्मिएर नयाँ विचार र एकतासाथ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
यतिबेला नेपालीको भविष्य नेपालीले नै गर्नेकि विदेशी शक्तिले गर्ने भन्ने मुख्य चुनौती रहेको उनले उल्लेख गरे । '१७ पटकसम्म मतदान गर्दा प्रधानमन्त्री चयन नहुने तर विदेशी शक्तिले चाहेमा एकैपटकमा हुने', वर्तमान सरकारप्रति लक्षित गर्दै उनले भने, 'सरकार र नेपालको कर्मचारीतन्त्र आफ्नै विवेकले चल्नेकी कसैको ईशाराले भन्ने गम्भीर विषय उब्जिएको छ ।' उनले संविधान सभाको विघटनपछि सरकार परिवर्तन नहुनु पनि विदेशी रिमोट कन्ट्रोलले काम गरिरहेको बताए ।
सुगौली सन्धीदेखि बिप्पा संझौता र विमानस्थलको व्यवस्थापन भारतीयलाई दिने तयारी नेपाल र नेपालीविरुद्ध रहेको उनको भनाइ थियो । 'यतिबेला केही नेपाली अनुहारका दलाल, तस्कर, गुण्डा र डन विदेशी शक्तिलाई रिझाउन लागिपरेका छन्', उनले भने।
नेपाली जनताको अपेक्षाअनुसार शान्ति र संविधान नबनेको बरु उल्टै जनविरोधी, तस्कर र दलालमात्रै मौलाएको बताए । उनले एमाओवादीमा साँस्कृतिक र आर्थिक विचलन आएको आरोप लगाउँदै अनैतिक र अमर्यादित काममा सक्रिय रहेको बताए । हिजो जनताका लागि लड्ने, मर्ने एमाओवादी आज जनविरोधी भयो, रक्षक मानिएकोमा भक्षक बनेको भन्दै उनले कुनैबेलाका नायकनायिका अहिले कार्टुन बनिरहेको भन्दै कटाक्ष गरे ।
अब ३/४ नेता बसेर राजनीतिक निकास नहुने भन्दै सर्वपक्षीय गोलमेच सभा र संयुक्त सरकार गठन गरी निकास निकाल्नुपर्ने उनले दोहार्‍याए । संयुक्तसरकार गठन गरेर राजनीतिक निकास नखोजिए केन्द्र र स्थानीयस्तरमा संघीय सरकार गठन गरिने उनले बताए ।
पुरानोको औचित्य सकिएर नयाँ १२ बुँदेको संझौता आवस्यक रहेको भन्दै उनले अहिलेको सरकारलाई संविधान सभाको निर्वाचन गर्ने राजनैतिक र संवैधानिक अधिकार नभएको जनाए । निर्वाचित जनप्रतिनिधिको संस्थाबाहेक कसैको आदेश, बिज्ञ वा आयोगबाट बनाइएको संविधान मान्य नहुने उनले बताए ।

No comments:

Post a Comment