Saturday, July 21, 2012

एन्फा अध्यक्ष गणेश थापाका छोराको खातामा एक लाख अमेरिकी डलर

काठमाडौँ, साउन ६ (नागरिक)- एन्फा अध्यक्ष गणेश थापाका छोरा गौरव थापाको व्यक्तिगत बैँक खातामा मोहम्मद बिन हमामले एक लाख अमेरिकी डलर डिपोजिट गरेको खुलासा अमेरिकी समाचार एजेन्सी एपी ले गरेको छ। हमामलाई भ्रष्टाचारको अभियोगमा फिफालेआजीवन प्रतिबन्ध लगाए पनि भर्खरै प्रमाणको अभाव देखाउँदै कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टसले निर्णय उल्ट्याएको थियो।
विश्व फुटबलको सर्वोच्च संस्था फिफाको नेतामा चुनिन वर्तमान अध्यक्ष सेप ब्लाटरसँग प्रतिस्पर्धा गर्न लाग्दा लामो समय एसियाली फुटबलको नेतृत्व गरेका ६३ वर्षीय यी कतारी नागरिकलाई भोट किन्न रकम खर्चेको आरोप लागेको थियो। उनले आफ्नो निजी कामका लागि एसियाली फुटबल महासंघ (एएफसी) को ब्याङ्क खाता प्रयोग गरेको आरोप छ।
एपीले एएफसीको अन्तर्राष्ट्रिय अकाउन्टिङ फर्म प्राइसवाटरहाउसकूपर्सले तयार पारेको लेखा परीक्षण प्रतिवेदन हात पारेको भन्दै गणेश थापाका छोरालाई समेत १० लाख डलर बाँडेको त्यसमा देखिएको खुलासा गरेको हो।
गणेश थापाले खुला रुपमा हमामको समर्थन गर्दै आएका थिए। उनी हमामका एकदमै निकट सहयोगी मध्ये एक मानिन्छन्। उनका छोरा गौरव थापा एएफसीको कम्पिटिसन डिभिजनमा हेड अफ युथ कम्पिटिसन्स छन्।
यो अडिट रिपोर्टले एसियाली फुटबललाई हमामले पारिवारिक व्यापार जसरी चलाइरहेको देखिएको छ, एपीले आफ्नो समाचारमा भनेको छ।
रिपोर्ट अनुसार दक्षिण एसियामा सबैभन्दा बढी रकम पाउने एन्फा अध्यक्षका छोरा नै हुन्। दक्षिण एसियाको अर्को देश बंगलादेश फुटबल फेडेरसनका प्रवक्ताको ट्युसन खर्चका रुपमा २५ हजार डलर गएको छ। २० हजार डलर चाहिँ त्यसका महासचिवको क्यान्सर उपचारका लागि दिइएको छ।
फिलिपिनो फुटबल अधिकारी जोसे मारी मार्टिनेजले ६० हजार डलर पाएका छन् भने २० हजार डलर अस्पताल खर्चका रुपमा भुक्तान भएको छ। अर्को ५० हजार डलर पूर्वी टिमोरका फुटबल अधिकारीलाई दिइएको अडिट रिपोर्टले देखाएको छ।
ब्लाटरलाई १४ वटा सर्ट किन्न २ हजार अमेरिकी डलर खर्च भएको छ भने क्यारेबियन फुटबल महासंघका प्रमुखलाई सुटहरु किन्न ५ हजार डलर गएको छ।
एएफसीसँग कन्ट्र्याक्ट गरेका व्यक्तिहरुबाट उनले लाखौँ डलर पाएका छन्। ती मध्ये हजारौँ डलर उनले छोराको हनिमुन, दाँत बनाउन र परिवारलाई नगद भुक्तान गर्न प्रयोग गरेका छन्।
बिन हमामले एपीलाई प्रतिक्रिया नदिए पनि उनका अमेरिकी वकीलले भने यी आरोपहरु विश्व फुटबलमा उनको फिर्ती रोक्न फिफाले चालेको रणनीति भएको जिकिर गरेका छन्।
कोर्ट अफ आर्बेटरी अफ स्पोर्टसले प्रतिबन्ध जायज नभएको निर्णय गरे पनि एसियाली फुटबल महासंघको अनुशासन कमिटीले अलग्गै गरिरहेको अनुसन्धान पूरा नहुन्जेल निलम्बन जारी रहने फिफाले बताएको छ।

No comments:

Post a Comment