Monday, July 30, 2012

अष्ट्रेलिया लैजाने भन्दै लगिएका इन्डोनेसियामा बिचल्ली

मानवतस्करी गिरोहको प्रभावमा परेर अष्ट्रेलिया जाने भन्दै नौ महिनाअघि घर छाडेर हिंडेका चार नेपाली कामदार युवा महिनौंदेखि इन्डोनेसियामा अलपत्र छन् ।
इन्डोनेयिशाको जकार्तास्थित अन्र्तराष्ट्रिय आप्रवासन संगठन (आइओएम)को सम्पर्कमा आएका यी युवाहरु आफूसँग पासपोर्ट र नागरिकता समेत नरहेको अवस्थामा घरफिर्तीका लागि आग्रह गरिरहेका छन् । कञ्चनपुरका एजेन्ट हर्क कठायतले आफूहरुसँग जनही ७ हजार डलर शुल्क लिएर मलेशिया हुँदै इन्डोनेशिया ल्याएर अलपत्र छाडेको पीडितहरुले क्वालालाम्पुरस्थित नेपाली दुतावासलाई जानकारी गराएका छन् । दुतावासका अनुसार खोटाङ, महेश्वरी-९ का प्रकाश पुरी, वागलुङ, हिस्टी-७ का डम्बरबहादुर दर्जी, नवलपरासी, जदाहा-७ का राजकुमार श्रेष्ठर मोरङ, पथरी-३ का लक्ष्मीप्रसाद सुनुवार छन् ।
'जर्कातास्थित आइओएम अफिसले बिचल्ली परेका नेपालीलाई उद्धार गर्ने जनाउ दिएको छ तर उनीहरुसँग पासपोर्ट/नागरिकता केही नभएकाले व्यक्ति-पहिचान हुन नसकेको अवस्था छ,' दुतावासका अधिकारीले भने, 'हामीले ट्राभल-डकुमेन्ट दिने आधार पनि नभएकाले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धीत जिल्लामा पत्राचार गर्ने क्रममा छौं ।' अलपत्र पार्ने एजेन्ट कठायतले भने चार युवा कामदारलाई जकार्ता पुर्‍याएर उनीहरुको पासपोर्ट लिएर बेपत्ता भएको पीडितले जनाएका छन् ।
परराष्ट्र मन्त्रालयले एक महिनाअघि मात्रै अफगानिस्तानमा बन्धक बनेका १० युवालाई आइओएमको सहयोगमा नेपाल फिर्ता ल्याएको थियो भने अहिले अफ्रिकी टापु मदागास्करमा बिचल्ली रहेका दुइ दर्जन कामदारको उद्धारमापरराष्ट्र मन्त्रालयले पहल गरिरहेको छ ।
प्रकाशित मिति: २०६९ श्रावण १५ ११:१०

No comments:

Post a Comment