Monday, July 30, 2012

तोकिएको भन्दा आधा तलबमा काम गर्न बाध्य

दोहा (कतार), श्रावण १५ - सरकारले कतार आउने कामदारको न्यूनतम तलब ८ सय रियाल तोकेको छ । त्यो भन्दा कममा कामदारलाई कतार आउन वैदेशिक रोजगार विभागले अनुमति दिने गरेको छैन ।
तर यहाँको वास्तविकता अर्कौ छ । आइतबार कतारस्थित नेपाली दूतावासमा यस्ता पीडित टोली न्याय माग्दै आइपुगे, जो मासिक ३ सय ९० रियाल -८ हजार रुपैयाँ) मा काम गर्न बाध्य छन् । १७ जनाको उक्त टोली विभागबाट श्रमस्वीकृति लिएर आएको कामदारको हो ।
'खाना सहित ११ सय रियाल पाइन्छ भनेर हामीलाई पठाएको थियो,' झापाका योगेन्द्रबहादुर बस्नेतले भने, 'यहाँ त सुख्खा ६ सय रहेछ । त्यसमा खानाका लागिभनेर १ सय १० र भिसा बापत १ सय काट्ने गरेको छ ।' त्यही पनि उनीहरूले पाएका छैनन् । पीडितहरू तलब दिलाई स्वदेश फिर्ता पठाइदिन अनुरोध गर्दै दूतावास पुगेका छन् ।
उनीहरू काठमाडौं लाजिम्पाट स्थित गि्रनशेखर म्यानपावरबाट दुई महिनाअघि आएका हुन् । म्यानपावरलाई ८५ हजार रुपैयाँदेखि १ लाख १० हजार तिरेको उनीहरू बताउँछन् । 'हामीले शाखा कार्यालयलाई पैसा बुझाएका हौं,' स्याङ्जाका चन्द्रकान्त तिवारीले भने, 'गि्रनशेखरले पठाएको हो ।'
यही तलबमा उनीहरूले दुई वर्षसम्म काम गर्दा पनि लागत खर्च उठ्दैन । 'मैले १ लाख २० हजार रुपैयाँ बुझाएर आएको हुँ,' इलामका कुबेर राईले भने, 'केही हुन्छ भनेर आइयो । यो तलबले त २४ महिना काम गर्दा पनि लगात खर्च उठ्दैन । मिहेनत त कता जान्छ कता ।'
आएदेखि 'भन्टा' मात्र खान बाध्य यिनीहरूको बस्न पनि सुविधा छैन । उनीहरूलाई दिन्छु भनेको तलब समेत दिइएको छैन । 'बस्ने सुविधा पनि राम्रो छैन । बिगि्रएका एसी छन् । तातो हावा फाल्छन् । केही बोल्यो कि धम्की मात्रै दिन्छ,' झापाका बोलहाङ एकटेङले भने । फोरम्यान, क्लिनर भनेर पठाएका उनीहरू सबैले अर्कै काम गरे । 'कतारमा हाम्रो नेपाली लिन आउँछ । तपाईहरू ढुक्कले एक हजार रियालखल्तीमा राख्न पाउनुहुन्छ । विभागले दिएको श्रम स्वीकृतिको कागजपत्र विमान चढ्ने बित्तिकै च्यातिदिनु भन्यो । यो नेपाली अक्षर हो । अरबी सोध्ये भने कसरी फर्काउँछ भनेर च्यात्न लगाए,' रामेछापका हरिबहादुर श्रेष्ठले भने, 'यता हामीलाई सप्लाईमा हालिदियो ।'
धेरैलाई नक्कली करारपत्रमा पठाएको उनीहरूले बताए । 'म क्लिनरमा आउने भए पनि भिसा र करारपत्र ड्राइभरको थियो,' चन्द्रकान्ता तिवारीले भने, 'पि्रन्टिङ गलत भएर ड्राइभरको भिसा आएको हो । तपाईले काम गर्ने त क्लिनर नै हो भनेर पठायो ।'

No comments:

Post a Comment