Monday, July 30, 2012

गाईजात्रा देखाउनेहरुकै गाईजात्रा

१५ साउन, काठमाडौं । हास्यव्यँग्य कलाकारहरुलाई यतिखेर दशैं लागेको छ । हरेक वर्षजस्तै यसपाली पनि उनीहरु गाईजात्रे प्रस्तुति सहित स्टेज कार्यक्रममा व्यस्त हुँदैछन् । त्यसको लागि तयारी पनि जोडतोडका साथ भैरहेको छ ।
सधैं टेलिभिजन कार्यक्रममा व्यस्त हुने कलाकार गाईजात्राको बेला स्टेज कार्यक्रममा देखिन्छन् । समसामयिक राजनीतिक र सामाजिक घटनाक्रमले उनीहरुलाई गाईजात्रे मसला पनि प्रशस्तै जुटेको छ । हँसाउनेहरु धेरै भएपछि केही वर्षदेखि गाईजात्रा कार्यक्रम दुईवटा हलमा प्रस्तुत हुन थालेको छ । एकै ठाउँमा कार्यक्रम गर्न अप्ठेरो भएकाले दुईवटा हलमा बाँडिनुपरेको कलाकारहरुको प्रतिकृया छ । तर दुई हलमा बाँडिएका कलाकारहरुबीच अस्वस्थ प्रतिष्पर्धा पनि हुने गरेको यसपाली पुष्टी भएको छ ।
पोहोरसालसम्म प्रज्ञा भवनमा देखाईने गाईजात्रे प्रस्तुतिको नाम ‘तीते जिरे मेरी बास्सै’ र राष्ट्रिय सभागृहमा हुने गाईजात्रे कार्यक्रमको नाम ‘झ्याईंकुटी जय होस्’ भन्ने हुन्थ्यो । टेलिभिजनमा आउने हास्य सिरियलको नामबाट गाईजात्रे प्रस्तुतिको नाम जुराइने गरिन्छ । यसवर्ष प्रज्ञा भवनमा देखाइने गाईजात्राको नाम तीते जिरे मेरी बास्सै नै छ । तर सभागृहमा देखाइने गाईजात्रा कार्यक्रमको नाम झ्याईंकुटी मेरी बास्सै जय होस् भन्ने छ । अर्थात मेरी बास्सै नाम दुवैतिर मिसिएको छ ।
दुवैतिर मेरी बास्सै झुण्डिनुको कारण हो, कलाकारहरुबीचको मनमुटाब र अस्वस्थ प्रतिष्पर्धा । मेरी बास्सैमा संयुक्त काम गर्दै आएका केदार घिमिरे ‘माग्ने बुढो’ र सिताराम कट्टेल ‘धुर्मुस’बीच लामो समयदेखि मनमुटाब छ । मेरी बास्सैमा छुट्टिँदा अलोकप्रीय हुने भएकालेउनीहरुले जबर्जस्ती टेलिभिजन कार्यक्रम भने संयुक्त रुपमा गर्दैछन् । तर स्टेज कार्यक्रममा भने संयुक्त देखा पर्न सकेनन् । घिमिरेले पोहोर गाईजात्रे कार्यक्रममा भाग नै लिएनन् । यसपाली चाहिं उनीहरु बाँडिएका छन् । घिमिरेको समूह सभागृहको कार्यक्रममा र कट्टेलको समूह प्रज्ञा भवनको कार्यक्रममा आआफ्नो प्रस्तुति प्रस्तुत गर्ने तयारीमा छ ।
गाईजात्रे कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा घिमिरेले ढाँटेका थिए । सिताराम विदेशमा भएकाले आफूले सभागृहको कार्यक्रममा मिसिन लागेको उनको भनाई थियो । तर कट्टेलसँग कुरा नमिलेकै कारण उनी छुट्टएिका हुन् । स्रोतका अनुसार दुवै कार्यक्रममा मेरी बास्सैको नाम रहेकाले अरु टेलिसिरियलका कलाकार असन्तुष्ट छन् । दुवै समूहले आआफ्नो पट्टि मेरी बास्सैका कलाकार बढी रहेको दावी गर्दै आएका छन् ।
यसरी अरुको विकृति, विसंगतिको खिसीटिउरी र व्यंग्य गर्दै गाईजात्रा देखाउने कलाकारहरुमै गाईजात्रा देखिएको छ । तर उनीहरुलाई व्यंग्य गर्ने चाहिं कोही पनि छैनन् ।

No comments:

Post a Comment