Monday, July 30, 2012

बुढालाई मन्त्रीको कुर्सीमा बस्ने रहर जागेपछि…

१५ साउन, काठमाण्डौं । पार्टीभित्रका अरु असहमति र असन्तुष्टीका जति कुरा उठाएपनि एकीकृत नेकपा माओवादीमा फूट आउनुको एउटा मुख्य कारण कुर्सी हो भन्ने कुरा जगजागेर छ । यसअघिका प्रधानमन्त्री झलनाथ खनालको पालामैमन्त्रीमण्डल भागबण्डामा कुरा नमिल्दा माओवादी भित्रको विवाद उब्जेको थियो । कतिपय मन्त्री नै नपाएकोमा बटारिए, कति चाहिं भनेजस्तो मन्त्रालय नपाएर रिसाए ।
अरु पार्टीका नेतालाई जस्तै माओवादीका धेरैलाई मन्त्रीको कुर्सीमा बस्ने रहर थियो । तर एकैपटक मन्त्री हुन पनि नपाउने र पार्टीभित्र पनि काखापाखा हुने प्रवृत्ति भएकाले सबैको रहर पूरा भएन । मन्त्री हुने रहर पूरा नभएपनि कतिले मन्त्रीको कुर्सीमा बस्ने रहर चाहिं पूरा गरेका थिए । मन्त्रीको कुर्सीमा ढसमस्स बसेकै कारण एकजना नेताले बेइज्ज्ती पनि सहनुपरेको थियो ।
कुरा माओवादी नेता कृष्णबहादुर महरा गृहमन्त्रीभएको बेला हो । मन्त्रीको निवास र कार्यालयमा नेता कार्यकर्ता आउजाउ भैरहनु सामान्य कुरा नै भयो । यही मेसोमा माओवादी नेता सन्तोष बुढा मगर पनि महरालाई भेट्न उहाँको कार्यकक्ष पुग्नुभएछ । माओवादीका ठूलै मान्छे मन्त्रालय आउँदा छेकबार गर्ने कुरा पनि भएन । उहाँ सरासर महराको कार्यकक्ष पुग्नुभयो । त्यहाँ अरु पनि महरालाई भेट्न पालो पर्खेर बसेका थिए । तर महरा त्यतिबेला कुर्सीमा हुनुहुन्नथियो । उहाँ बस्ने कुर्सी खाली थियो । नेता मगरलाई के जोशा चल्यो कुन्नि, महराको कुर्सीमा पुगेर थ्याच्च बस्नुभयो । मन्त्रीको कुर्सीमा अर्कै मान्छे बस्दा देख्नेहरुले जिब्रो टोके । तर मगरलाई चाहिं रमाईलो लाग्यो । घुम्ने कुर्सीमा पहिलोपटक बसेको मान्छे झैं उहाँ हाँस्दै, रमाईंदै घुर्सीमा घुम्न थाल्नुभयो । आहा कस्तो मज्जा हुँदो रैछ भन्दै उहाँ जिस्किन थाल्नुभयो । धन्न त्योबेला सुरक्षाकर्मीले देखेनन् र केही भएन ।
अर्को दिन पनि यस्तै भयो । तर कुर्सीमा बस्ने मगर होइनन्, अर्का नेता ईश्वरचन्द्र ज्ञवाली । उहाँ पनि मगरले झैं खाली कुर्सी देख्ने बित्तिकै थ्याच्च बस्नुभयो । उसैगरी रमाइलो मान्दै कुर्सी घुमाउनुभयो । नजिक रहेका अरु दंग परे । ज्ञवाली हौसिंदै कुर्सीमा बसेर गफिन थाल्नुभयो । त्यो दिन सुरक्षाकर्मी पनि त्यहीँ थिए । मन्त्रीको कुर्सीमा अर्को मान्छे बसेको देख्ने बित्तिकै उनलाई रीस उठ्यो । हत्तपत्त उनले ज्ञवालीलाई समातेर कुर्सीतिर हुत्याईदिए । गल्ती आफैंले भएकाले ज्ञवालीले प्रतिवाद गर्नुभएन । नजिकै रहेका लोकेन्द्र बिष्ट मगरले बुर्जुवा ठाउँमा यस्तै हो भनेर ज्ञवालीको चित्त बुझाउने प्रयास गर्नुभयो ।
मन्त्रीको खाली कुर्सीमा बस्ने रहर गर्ने मगर र ज्ञवाली दुवै अहिले मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीमा छन् । उनीहरुको कुर्सी मोह माओवादी पार्टीभित्र पहिले पनि चर्चा चल्थ्यो । छुट्टाभिन्न भएपछि त झन् मूल माओवादीका नेताहरु मौका मिल्ने बित्तिकै यो प्रसँग उठाएर दुई नेतालाई खिसीटिउरी गर्ने गर्छन् ।

No comments:

Post a Comment