Wednesday, July 18, 2012

दाहालले बोल्दा कार्यकर्ताको ताली बजेन

उजिर मगर, काठमाडौं, साउन ३- पार्टीको कुनै पनि कार्यक्रममा अध्यक्ष दाहाल आउँदा तालीका पर्रा छुट्थे। मंगलबार सुरु विस्तारित बैठकमा त्यस्तोभएन। कार्यकर्तामा उत्साह र ऊर्जा देखिएन। सैद्धान्तिक कुरा गर्दा कार्यकर्ता मौन देखिन्थे। पार्टी एकढिक्का हुने, गुट अन्त्य गर्ने प्रतिबद्धता जनाउँदा भने केहीले ताली बजाएका थिए।
दाहालले सातवटा रातो मैनबत्ती बालेर बैठक उद्घाटन गरेका थिए। मञ्चमा सबैभन्दा बढी व्यस्त प्रवक्ता दीनानाथ शर्मा थिए। दाहालले बत्ती बाल्दै गर्दा आइप्याडबाट शर्मा फोटो खिचिरहेका थिए।
गुटबन्दीलाई छुट दिन्नँ : दाहाल
एकीकृत माओवादीका उच्च नेताहरूले पार्टीभित्र रहेको गुट-उपगुट अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्।
राजधानीमा मंगलबार सुरु सातौं विस्तारित बैठककोउद्घाटन सत्रमा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले त्यस्तो प्रतिबद्धता जनाएका हुन्।
गुट-उपगुट रहँदा पार्टी विभाजनको अवस्था आएको निष्कर्ष नेताहरूले निकालेका छन्। मोहन वैद्य समूहले छुट्टै पार्टी गठन गरेपछि पनि एकीकृत माओवादीमा दाहाल, भट्टराई र श्रेष्ठका आ-आफ्ना गुट छन्।
देशभरका पाँच हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी बैठकले पार्टीलाई रूपान्तरण गर्ने दाबी नेताहरूको छ। 'गुटबन्दीलाई कुनै पनि हालतमा छुट दिन्नँ,' दाहालले भने, 'पार्टीमा गुटबन्दी गर्न दिएर यसअघि कमजोरी भयो।'
विगतका कमीकमजोरीप्रति पनि उनले आत्मालोचना गरे। 'जनवादी केन्द्रीयताको लेनिनवादी संगठनात्मक सिद्धान्त कडाइसाथ लागु गर्छु,' दाहालले भने, 'किरणजी ( मोहन वैद्य) को समूहलाई जनवाद बढी दिँदा अराजकता बढ्यो। उनीहरूले पार्टीलाई असहयोग गरे।'
गुटगत भएर पार्टीभित्र बहस चलाउँदा नकारात्मक परिणाम आएको दाहालको भनाइ थियो। वैद्य समूहले क्रान्तिको परिवर्तनशील प्रवाहलाई बु‰न नसकेको आरोप पनि उनले लगाए।
'भावावेशमा आएर किरणजीहरू अलग भए,' उनले भने, 'उनीहरूले क्रान्तिलाई किताबमा लेखिएको सुन्दर शब्दावलीको रूपमा मात्र बुझे।'
कम्तीमा महाधिवेशनसम्म पार्टी नफुटाऔं भनेर वैद्यसँग अनुरोध गर्दा त्यसलाई अस्वीकार गरिएकोदाहालले बताए। 'पार्टी फुटाएर कमरेडहरूबाट गम्भीर गल्ती भएको छ, त्यसलाई महसुस गरेर एकतामा आउनुपर्छ,' उनले भने, 'राजनीतिक अन्योलका बेला पार्टी फुटाएर किरणजीहरूले जनतामाथि घात गरेका छन्।'
संविधानसभाबाटै संविधान घोषणा गर्ने कार्यनीतिमा पार्टी अडिग रहेको दाहालले बताए। 'पहिचानसहितको संघीयता र संघीयतासहितको संविधानजारी गर्नेमा पार्टी प्रतिबद्ध छ,' उनले भने।
१२ बुँदे सहमति कार्यान्वयनको औचित्य अझै बाँकी रहेको दाहालको भनाइ थियो। 'राज्य पुनर्संरचना मुद्दामा गम्भीर बन्न १२ बुँदे सहमति गर्ने दलहरूलाई आग्रह गर्छु,' उनले भने।
कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष बाबुराम भट्टराईले सातौं विस्तारित बैठकपछि पार्टी नयाँ आधारमा रुपान्तरण भएर अघि बढ्ने विश्वास व्यक्त गरे। 'पार्टीमा अब कुनै पनि गुट बाँकी रहँदैनन्,' उनले भने, 'शान्ति र संविधानको कार्यदिशा पार्टी एकताको आधार हो।'
पार्टीमा विभिन्न समयमा जन्मेका विचार समूह स्थायी नहुने भट्टराईको भनाइ थियो। दाहाल नेतृत्वको पार्टी एकगठ भएर अघि बढ्ने दाबी पनि उनले गरे।
सशस्त्र संघर्ष सुरु हुँदा बखत केही नेताहरूले पार्टी छाडेको औंल्याउँदै भट्टराईले आफूलाई दोस्रो नम्बरमा उभ्याए। 'जनयुद्धको मुख्य नेतृत्वकर्ता श्रद्धेय अध्यक्ष हुनुहुन्छ, दोस्रो म यहीँ छु,' भट्टराईले भने, 'विस्तारित बैठकपछि विश्वलाई चकित पार्ने गरी पार्टी सुदृढ हुन्छ। पार्टीले परिवर्तन र क्रान्तिको लक्ष्यलाई कुनै पनि हालतमा छाड्दैन।'
सडक, सदन र सरकारको मोर्चामा एकैसाथ लड्ने नौलो अभ्यास आफूहरुले गरिरहेको उनले बताए। 'बैठकले राजनीतिक संघर्षको नयाँ दिशा तय गर्नेछ,' उनले भने, 'सातौं विस्तारित बैठक तेस्रो विस्तारित बैठकपछिको महŒवपूर्ण र ऐतिहासिक बन्ने छ।'
अर्का उपाध्यक्ष श्रेष्ठले सातौं विस्तारित बैठकबाट पार्टी नयाँ आधारमा एकताबद्ध भएर अघि बढ्ने जनाए। पार्टीभित्र अझै विभिन्न गुट रहेको भनी गरिएको प्रचारलाई असत्य सावित गरिदिने उनको भनाइ थियो।
'पार्टीभित्रको गुटबन्दी अन्त्य गरी विचार, अभिव्यक्ति स्वतन्त्रता र कामकारबाहीमा एकरुपता हुनेछ,' श्रेष्ठले भने, 'क्रान्तिकारी पार्टीका लागि गुटबन्दी विषवृक्ष भएकाले यसकोे अन्त्य गर्नैपर्छ।'
बैठक मूल व्यवस्थापन समितिका संयोजक कृष्णबहादुर महराले ४ हजार ८ सय प्रतिनिधि सहभागी भएको जानकारी गराए। उद्घाटन सत्रपछि दाहालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। प्रतिनिधिहरूलाई १४ समूहमा विभाजन गरी प्रतिवेदनमाथि छलफल थालिएको छ।
छलफल सकेपछि बुधबार ११ बजेदेखि प्रत्येक समूहका तर्फबाट एक सहभागीले मत राख्ने कार्यक्रम छ।
के छ प्रतिवेदनमा?
- पार्टीको कार्यदिशा शान्ति र संविधान निर्माण। सम्भावना हुँदासम्म त्यसका लागि पहल गर्ने।
- आवश्यकता परे बलपूर्वक आन्दोलनमा जाने। त्यसका लागि चार तयारी (वैचारिक/राजनीतिक, संगठन, संघर्ष र प्राविधिक) जारी राख्ने।
- पार्टीको पथपदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद, माओवाद/विचारधारा।
- जनवादी क्रान्तिका आंशिक उपलब्धि धर्मनिरपेक्ष, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशीको सिद्धान्तलाई रक्षा गर्ने।
-पार्टीलाई चुस्त राख्न ठूला समिति घटाउने। तत्काल जिल्ला, राज्य समितिको सम्मेलन गरी फागुनमा महाधिवेशन गर्ने।
- सहकारी आन्दोलनलाई तीव्रता दिने।
- प्रतिवेदनबाट 'जनयुद्ध' शब्द झिक्ने। वाइसिएललाई लडाकु दस्ताका रूपमा विकास गर्न पार्टीको सहायक संगठनका रूपमा राख्ने।
- राष्ट्रपति, सभामुखको चुनाव, तत्कालीन प्रधानसेनापति रूक्मागंद कटवाल कारबाही प्रकरणमा पार्टीबाट कमजोरी भएको।
- सभामुख माओवादीको भएको भए संविधान बन्ने निष्कर्ष।

No comments:

Post a Comment