Thursday, June 14, 2012

एसएलसीमा फेल भएपछि आत्महत्या

नेपालगन्ज, जेष्ठ ३२ - एसएलसीमा फेल भएपछि बुधवार साँझ नेपालगन्जकी एक युवतीले आत्महत्या गरेकी छन् । आवेशमा आएर उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।
नेपालगन्ज–१३ गोसाईगाउ निवासी प्रतिक्षा शर्माले एसएलसी परिणाम आफ्नो पक्षमा नआएपछि आत्महत्या गरेकी हुन् । नतिजा सार्वजनिक भए लगत्तै नकारात्मक परिणाम आएर आवेशले ज्यानै लिने समेतका दुर्घटना हुन थालेको प्रहरीले जनायो ।
१५ वर्षिया प्रतिक्षाले परिणाम सोचे जस्तो नआएपछि झुण्डिएर देह त्याग गरेको प्रहरीको भनाई छ । घटना थाहा पाएपछि भेरी अञ्चल अस्पताल पुर्याइएकी शर्माको त्यसअघि नै निधन भैसकेको थियो । बलिराम शर्माकी छोरी उनी नारायण उच्च माध्यमिक विद्यालयबाट एसएलसीमा सहभागी थिइन् । घटनाबाट शर्मा परिवार स्तब्ध भएको निकटस्थ स्रोतले जनाएको छ । अबेर रातीसम्म अस्पतालमा जम्मा भएका आफन्तबीच रुवाबासी चलेको थियो ।
यसबर्ष बाँके जिल्लामा ३५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको र गत बर्ष ५६ प्रतिशतले एलएलसी उत्तीर्ण गरेको जिल्ला शिक्षा कार्यालयका शिक्षा अधिकारी भक्त ढकालले बताए ।
चार दृष्टिविहीन प्रथम श्रेणीमा
माधब अर्याल
पाल्पा- ० ६८ सालको एसएलसी परीक्षामा पाल्पा जिल्लामा चार जना दृष्टिविहीन प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । उनीहरु दमकडा उच्च मावि मदनपोखराबाट एसएलसीमा सहभागी भएका हुन् । नवलपरासीबाट पढ्न आएकी उमा अर्याल, सिलुवा पाल्पाका तोया विक, पालुङ्मैनादी पाल्पाकै किशोर आचार्य र धादिङबाट पाल्पा आएर पढेका दलबहादुर राना प्रथम श्रेणीमा उत्तीर्ण भएको विद्यालयका शिक्षक धनपति गैरेले बताए ।
एसएलसीमा सहभागीमध्ये विशिष्ट श्रेणीमा ८२, प्रथम श्रेणीमा ६ सय ५३, द्धितीय श्रेणीमा ९ सय ७ र तृतीय श्रेणीमा ५३ गरी जम्मा १ हजार ६ सय ९५ जना उत्तिर्ण भएका छन् । जिल्ला शिक्षा कार्यालय परीक्षाफाँट प्रमुख इन्द्रबहादुर थापाका अनुसार उत्तिर्ण प्रतिशत भने जम्मा ३३ दशमलव ४४ देखिन्छ । एक्जाम्टेडतर्फ भने जम्मा २० जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।
०६७ सालको एसएलसी परीक्षामा ४० प्रतिशत विद्यार्थी उर्त्तीण भएका थिए । ०६६ सालमा भन्दा ०६७ मा १५ प्रतिशतले घटेको थियो । यसवर्ष गतबर्षभन्दा ६ प्रतिशतले नतिजा घटेको छ । ०६८ मा नियमिततर्फ ५ हजार ६६ र एक्जाम्टेडतर्फ १ हजार ४ सय ७३ परीक्षार्थी सहभागी भएका थिए । जिल्ला शिक्षा अधिकारी बिष्णुबहादुर द्वारेका अनुसार यसपटक परीक्षामा पास हुने विद्यार्थीहरु साँच्चिकै राम्रो नतिजा ल्याउने अवस्थाका हुन् ।
जिल्लामा उत्तीर्णमध्ये नीजि विद्यालयले ८६ दशमलव ७१ प्रतिशत र सरकारी विद्यालयले २८ दशमलव ३३ प्रतिसत नतिजा ल्याएका छन् । सामुदायिक विद्यालयतर्फ ४ हजार ६ सय २४ जनाले परीक्षा दिएकामा १ हजार ३ सय १० जना विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्लाका १३ नीजि विद्यालयबाट ४ सय ४४ जनाले परीक्षा दिएकोमा ३ सय ८५ जना उत्तीर्ण भएकोशिक्षाले जनायो ।
नीजितर्फ रिभरभ्याली, सनराईज र वृन्दावन बोर्डिङ्गले सतप्रतिशत नतिजा ल्याएका छन् । इतिहास बोकेको न्यूहोराईजन उच्च माविमा यसबर्ष ७ जना फेल भएका छन् । होराईजनले जिल्लामै सबैभन्दा बढी ४४ जना विशिष्ट श्रेणी, १सय ४ जना प्रथम र ६ जना द्वितीय श्रेणीमा पास गराएको छ । यस्तै सरकारीतर्फ शारदा उच्च मावि मदनपोखरा, चन्द्र उच्चमावि चापपानी, प्रभात मावि पालुङ्गमैनादी, दरैठाँटी उच्च मावि रामपुर र गंगा उच्च मावि खालीवनको नतिजा राम्रो भएको विद्यालय निरीक्षक मणि खनालले बताए ।

No comments:

Post a Comment