Thursday, June 7, 2012

राजसंस्था फर्काउने उपयुक्त अवसर : थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो अवस्था राजसंस्था फर्काउने उपयुक्त अवसर भएको बताएका छन्। थापाले संविधान सभा विघटनपछि संविधान सभाको पहिलो बैठकदेखि जेठ १४ सम्मका सबै निर्णय शून्य भइसकेकाले वैधानिकरुपमा मुलुकमा राजसंस्था फर्किसकेको दाबी पनि गरे।
रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने- संविधान सभा नै विघटन भइसकेपछि त्यसको पहिलो बैठकदेखि अहिलेसम्म भएका सबै निर्णय शून्य भइसके। संविधान सभाको पहिलो बैठकले राजसंस्थाकोअन्त्य र गणतन्त्र स्थापनाको निर्णय गरेकाले त्यो निर्णय पनि संविधान सभाको अवसानसँगै समाप्त भयो।
पूर्व राजा ज्ञानेन्द्रले मुलुकको पछिल्लो अवस्थाको गम्भीरतापूर्वक अध्ययन गरिरहेको भन्दै उनले राजा जनताको भावनाको पर्खाईमा रहेको बताए। उनले मुलुक अहिले संविधान सभाको निर्वाचनअघिको अवस्थामा पुगेको भन्दै नेपालले गणतन्त्र धान्न सक्दैन भन्ने प्रमाणित भएको ठोकुवा पनि गरे।
संवैधानिक र राजनीतिक कुनै पनि आधारमा संविधान सभा अब पुनर्स्थापना हुन नसक्ने ठोकुवा गर्दै थापाले संविधान सभाको पुनर्स्थापना जस्तो गैरजिम्मेवारी, अप्रजातान्त्रिक र जनविरोधी कामअरु केही नहुने दाबी गरे। उनले भने- संविधान सभा पुनर्स्थापनाका कारण फेरि जागिर खानेबाहेक केहीपनि हुन सक्दैन। राष्ट्रपतिले पनि पुनर्स्थापनागर्न सक्दैनन्।
कङ्ग्रेस र एमालेले मुलुकमा सर्वसत्तावादको डर देखाएर प्रजातन्त्रको खोलमा फेरि अर्को अधिनायकवाद लाद्न गुटबन्दी गरेको दावी गर्दै उनले राजासहितको प्रजातन्त्र र हिन्दुत्वको जगमा मात्रै सर्वसत्तावादलाई पराजित गर्न सकिनेविश्वास व्यक्त गरे।
प्रधान मन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन हुनै नसक्ने ठोकुवा गर्दै अध्यक्ष थापाले सर्वोच्च अदालतका बहालवाला वा पूर्व प्रधान न्यायाधीशको नेतृत्वमा नागरिक समाजको सहभागितामा सर्वपक्षीय चुनावी सरकार गठन गर्न माग पनि गरे।
प्रतिक्रियाहरू (0)

No comments:

Post a Comment