Wednesday, June 6, 2012

२६ दलका 'सभा कमान्डर'

काठमाडौं, जेठ २४ (नागरिक)- कांग्रेस-एमालेसहित २६दलले शुक्रबार राजधानीमा गर्ने शक्तिप्रदर्शनलाई व्यवस्थि गर्न एकएकजना कार्यकर्ता परिचालन कमान्डर तोकेका छन्। संविधानसभा विघटन गरी चुनाव घोषणा गर्ने प्रधानमन्त्री बाबुराम भट्टराईको कदमविरुद्ध आयोजित सभामा कम्तीमा एक लाख कार्यकर्ता उतार्ने उनीहरुको तयारी छ।
कांग्रेस मुख्यालय सानेपामा मंगलबार भएको सत्ताविरोधी २६ राजनीतिक दलको आन्दोलन परिचालन समितिको बैठकले परिचालन कमान्डर तोकेको हो।
सभामा कांग्रेसका प्रकाशमान श्रेष्ठ, एमालेका कृष्णगोपाल श्रेष्ठ, राष्ट्रिय जनशक्ति पार्टीका केशरबहादुर विष्ट र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरासहित २६ वटै दलका एकएकजनालाई कार्यकर्ता ल्याउने जिम्मा दिइएको छ।
कांग्रेस महामन्त्री सिंहले राष्ट्रिय सहमतिका लागि दबाबस्वरुप शक्ति प्रदर्शन गर्न लागिएको बताए।
'सरकारले चालेको अप्रजातान्त्रिक तथा असंवैधानिक कदमले देशलाई निरंकुशतातर्फ धकेल्न लागेकाले रोक्न दबाब दिँदैछौं,' उनले नागरिकसँग भने, 'आन्दोलनले सबैलाई एकै ठाउँमा आउने वातावरण तयार गर्छ।'
एमालेका श्रेष्ठले भने माओवादीको सत्ताकब्जा गर्ने तेस्रो दाउ विफल पार्ने लागिएको बताए। 'सत्ताकब्जा गर्ने माओवादीको तेस्रो प्रयासलाई प्रारम्भमै सशक्त ढंगले प्रतिकार गरी चकनाचुर पार्ने योजना छ,' केन्द्रीय सदस्य श्रेष्ठले भने।
अपराह्न २ बजे खुलामन्चमा सुरु हुने विरोधसभाअघि दलहरुले छुट्टाछुट्टै स्थानबाट जुलुस प्रदर्शन गर्नेछन्।
बैठकमा कांग्रेसले ३५ हजार र एमालेले २५ हजार कार्यकर्ता उतार्नेबारे छलफल भएको थियो। त्यसकालागि उपत्यका आसपासका जिल्लाबाट समेत कार्यकर्ता ओसार्ने तयारी छ।
काभ्रे, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, रसुवा, धादिङलगायत जिल्लाबाट कार्यकर्ता ल्याउने दलहरुको तयारी छ।
'राजधानी आउनेलाई सहज व्यवस्था मिलाउन बाग्मती अञ्चल कमिटीमार्फत स्थानीय कमिटीलाई निर्देशन दिइएको छ,' श्रेष्ठले जानकारी दिए।
करिब तीन घन्टा चल्ने सभा व्यवस्थित पार्न एक हजार स्वयंसेवक परिचालन गर्ने बताइएको छ। एमालेका तीन सय, कांग्रेसका दुई सय र बाँकी अन्य दलका स्वयंसेवक परिचालन गरिने तयारी छ।
सभामा पाँच पूर्व प्रधानमन्त्रीहरु सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनाल प्रमुख वक्ता छन्। प्रमुख दलका शीर्षनेताले पनि सभामा बोल्नेछन्।
सञ्चारमन्त्री राजकिशोर यादवले कांग्रेस-एमालेलगायत दलको आन्दोलन दबाउने चेतावनी दिएका छन्।
'आन्दोलनका नाममा निर्वाचन र अग्रगमनलाई बिथोल्ने षड्यन्त्र गरे सरकारले त्यसलाई परास्तगर्न कडा कदम चाल्नेछ,'
मंगलबार राजधानीको रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा सरकारी प्रवक्तासमेत रहेका मन्त्री यादवले भने।
संविधानका नमिलेका विषयमा कांग्रेस र एमालेले सहमति जनाए वा निर्वाचनबाट अर्को सरकार आएमात्र प्रधानमन्त्री पदमुक्त हुने जनाउँदै यादवले कांग्रेस र एमालेले भन्दैमा प्रधानमन्त्रीको राजीनामा नआउने दाबी गरे।
'मुलुकमा अहिले कांग्रेस र एमालेले भनेजस्तो कुनै संवैधानिक संकट छैन। राज्यपुर्नसंरचना आयोगले सिफारिस गरेको १० प्रदेशमा कांग्रेस र एमालेले सहमति जनाए तत्कालै प्रधानमन्त्रीले पदछाडिदिनुहुन्छ,' उनले भने, 'कसैले धम्क्याएर प्रधानमन्त्रीले पद छाड्नुहुन्न।'
कांग्रेस-एमालेले जमानत जफत हुने भयले चुनावको विरोध गरेको मन्त्री यादवले दाबी गरे।

No comments:

Post a Comment