चितवन, जेठ ६- चितवन जिल्लामा लगातारको बन्दका कारण यहाँ उत्पादित कुखुराका चल्ला खाल्डोमा गाड्नुपर्ने अवस्था आएको भन्दै व्यावसायीहरुले चिन्ता प्रकट गरेका छन्। जिल्ला ह्याचरी सङ्घले दिएको जानकारीअनुसार चितवनमा एक हप्ताको अन्तरालमा तीन लाख जति कुखुराका चल्ला खाल्डोमा गाडिएको छ।
ह्याचरी सङ्घ चितवनका अध्यक्ष टीका पोख्रेलले चितवनमा हप्तामा पाँच लाख चल्ला उत्पादन हुने गरेकामा तीन लाख चल्ला खाल्डोमा हालेर नष्ट गर्नुपरेको जानकारी दिए। उनले आफ्नो मात्रै १५ हजारको हाराहारीमा कुखुराका चल्ला खाल्डोमा गाडिसकेको बताए। लगातारको बन्दले चल्लाको बजार ठप्प भएकाले बिक्री नभएर चल्ला नष्ट गर्न बाध्य भएको उनले उल्लेख गरे।
चितवनको उद्योग व्यवसायमा बन्दका कारण दैनिक साढे चार करोड रुपैयाँ बराबरको क्षति भइरहेको भन्दै व्यवसायीहरुले चिन्तासमेत प्रकट गरेका छन्।
चितवनका विगत हप्तादेखि लगातारजसो बन्द हुँदै आएको छ। चितवनमा ५३ वटा चल्ला उत्पादन गर्ने ह्याचरी छन्। यस्तै, दाना उद्योग ३५, ठूला पोल्ट्रीफर्म १०० र साना एक हजार रहेका छन्। व्यवसायीहरुले बन्दलाई माग पूरा गर्ने विकल्प नबनाउनसमेत सबैमा आग्रह गरेका छन्।
उद्योग वाणिज्य सङ्घ चितवनले दिएको तथ्याङ्कअनुसार चितवनमा पोल्ट्रीजन्य वस्तु, फलफूल, तरकारी, दूध तथा अन्य व्यवसायमा गरी दैनिक साढे चार करोड रुपैयाँ बराबरको क्षति हुने गरेको छ।
उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष तथा दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष तिलचन्द्र भट्टराईले तयारी कुखुरा र कुखुराजन्य पदार्थ सम्बन्धित ठाउँमा पुर्याउन नसक्दा व्यावसायीहरुले ठूलो घाटा बेहोर्नुपरेको बताए।
घाटामध्ये कुखुराजन्य वस्तुमा ६० प्रतिशत असर परेको उनले बताए। चितवन नेपालमै कुखुरा उत्पादनका लागि महत्वपूर्ण जिल्ला हो। यहाँ नेपालकै ६० प्रतिशत कुखुरा उत्पादन हुने गरेको छ। रासस
प्रतिक्रियाहरू (0)
No comments:
Post a Comment