काठमाडौं, जेष्ठ ६ - नयाँ संविधान जारी हुने समय नजिकिंदै गर्दा बन्द र प्रदर्शन बढेको छ । यस्तोमा विद्यलाय चलाउने- नचलाउने सञ्चालक तथा प्रधानाध्यापक दोधारमा छन् । शिक्षा मन्त्रालयले चलाउन निर्देशन दिएको छ । विद्यालयहरूले भने जाडो र गर्मी विबदा कटौती गर्नेगरी विद्यालय बिदा गर्न थालेका छन् ।
शिक्षा मन्त्रालयले भने बन्दका लागि कुनै निर्देशन दिएको छैन । राजधानीका अधिकांश सामुदायिक विद्यालय बन्द भएका छन् भने निजी विद्यालयसमेत त्यसलाई पच्छ्याएका छन् । 'नयाँ संविधानप्रति राष्ट्रिय चासो बढिरहेकाले विद्यालय चलाउने स्थिति छैन', शिक्षा मन्त्रालयका प्रवक्ता जनार्दन नेपालले भने, 'तर, पनि प्राविधिक रूपमा मन्त्रालयलाई बिदा घोषणा गर्न गाह्रो परेको छ । विद्यालय आफैले वर्षे बिदाकाटिने गरी छुट्टी गरेका छन् ।' शैक्षिक तालिकाअनुसार वाषिर्क २ सय २० दिन पठनपाठन गर्नुपर्छ । त्यसमा गर्मी र जाडो गरी दुई महिना बिदा रहन्छ ।
शिक्षकले बिदाको आशा गरिरहेका बेला शिक्षा विभागले भने शुक्रबार विज्ञप्ति जारी गर्दै विद्यालय सुचारु राख्न भनेको छ । 'सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषण गरेको छ', 'सामाजिक शान्तिका लागि विद्यालय शान्ति र शैक्षिक शान्ति जरुरी रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनेको छ, 'कुनै पनि कार्यक्रमबाट विद्यालयको पठनपाठनको वातावरणमा असर नपुर्याउन र निर्बाध रूपमा शिक्षालयहरू सञ्चालनको सुनिश्चित वातावरण सिर्जना गरी बालबालिकाको पठन पाठनमा सहयोग पुर्याउन सम्बद्ध सबैबाट रचनात्मक सहयोगका लागि हार्दिक अपिल गरिन्छ ।'
आफ्नै तालिकाअनुसार सञ्चालित निजी विद्यालयका सञ्चालकसमेत अन्योलमा छन् । कतिपयले आकस्मिक बिदा दिने गरेको छन् भने अभिभावक अन्योलमा छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन -प्याब्सन) का अध्यक्ष बाबुराम पोखरेलले पठनपाठन गर्ने/नगर्ने निर्णय प्याब्सन जिल्लाले गर्ने जनाए ।
प्रकाशित मिति: २०६९ जेष्ठ ६ १२:००
No comments:
Post a Comment