Thursday, May 17, 2012

'हाइअलर्ट' राख्न प्रहरीको बिदा रोक्का

जेठ ४- प्रहरी प्रधान कार्यालयले जेठ १४ आसपासको परिस्थितिमा सुरक्षाव्यवस्था चुस्त बनाउन भन्दै प्रहरीको सबै बिदा रोकेको छ। प्रहरीहरूले भैपरी, सरकारी, बिरामी, चाडपर्व, सुत्केरी र किरियालगायत बिदा पाउँदै आएका थिए।
प्रहरी प्रवक्ता विनोद सिंहका अनुसार किरिया र सुत्केरी बिदाबाहेक अरू लिन पाइँदैन। वैशाख दोस्रो सातासम्म भैपरी आउने बिदा दिए पनि डेढ सातादेखि रोकिएको छ।
बढेको राजनीतिक गतिविधि, धर्ना, विरोधसँगै हुनसक्ने अराजक क्रियाकलाप नियन्त्रणमा खटिने प्रहरीको संख्या बढाउन बिदा स्वीकृत नगर्न सर्कुलर भइसकेको छ। जेठ १४ पछिको सुरक्षा अवस्था मूल्यांकन आधारमा बिदा फुकुवा गरिने सिंहले बताए।
प्रधान कार्यालयले जनशक्ति विश्लेषण गरी कम देखिएका स्थानमा रिजर्भ रहेका सुरक्षाकर्मीलाई समेत कार्यक्षेत्रमा खटाउन सुरु गरेको छ। प्रधान कार्यालयका अनुसार ६० हजार १ सय ३० प्रहरीमध्ये प्रशासनिक काममा खटिनेबाहेक सबैलाई तयारी अवस्थामा राखिएको छ।
कार्यक्षेत्रमा खटिने प्रहरीको कार्यसमय चार घन्टा बढाइएको छ। प्रहरीलाई न्यूनतम १२ घन्टा कार्यक्षेत्रमा खटाइँदै आएकामा १६ घन्टा पुर्‍याइएको छ।
'८ घन्टा आरामको समय छुट्ट्याएका छौं,' उनले भने, 'आवश्यक परे आरामको बेला पनि ड्युटी गर्नुपर्छ।'
प्रधान कार्यालय र क्षेत्रीय प्रहरी कार्यालय अन्तर्गत जगेडामा बस्ने गरेका विशेष कार्यदल, गण र सशस्त्र प्रहरीसमेत परिचालनका लागि तयारी राखिएको छ।
महानगरीय प्रहरी आयुक्त कार्यालय अर्न्तगतको घटना सहायता कार्यदलका प्रहरी दैनिक रूपमै परिचालित हुने गरेका छन्। बन्द, धर्नालगायत राजनीतिक गतिविधिमा सुरक्षाका लागि समूहगत र व्यक्तिगत रूपमा विशेष कार्यदलको जनशक्ति परिचालित भइरहेका छन्।
'आवश्यकता अनुसार कार्यक्षेत्रमा खटिने प्रहरी नै अधिकतम परिचालित भएका छन्,' डिआइजी सिंहले भने, 'रिजर्भ फोर्सलाई आवश्यकता अनुसार जुनसुकै समय परिचालन गर्न सकिने गरी हाइअर्लट राखिएको छ।' उनले स्थानीय, क्षेत्र र केन्द्रमा अनुकूल सुरक्षा योजना कार्यान्वयन गरिएको जानकारी दिए।
उपत्यकाको सुरक्षाका लागि महानगरीय प्रहरी आयुक्त कार्यालयले वैशाखको पहिलो साता तीन चरणको सुरक्षा योजना लागू गरिसकेको छ। काठमाडौं, ललितपुर र भक्तपुरका लागि आयुक्त कार्यालयले एकीकृत सुरक्षा रणनीति लागू गरेको हो। बढ्दो राजनीतिक गतिविधिसँगै प्रहरीलाई इन्धनको समस्या देखिएको डिआइजी सिंहले बताए।
२२ सयले परीक्षा दिन पाएनन्
बिदा स्वीकृत नभएपछि कक्षा ११ र १२ मा अध्ययनरत २२सय प्रहरी परीक्षामा सहभागी हुन पाएनन्।
कक्षा १२ को परीक्षा वैशाख १६ बाट सुरु भएको थियो भने कक्षा ११ को आइतबार सुरु भएको छ। प्रहरी कर्मचारीको दरबन्दी र परीक्षा केन्द्र बेग्लाबेग्लै ठाउँमा भएकाले उनीहरू परिक्षामा सहभागी हुन नपाएको डिआइजी सिंहले बताए।
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया लेख्नुस्
ईमेल

No comments:

Post a Comment