तनहुँ, जेठ ७ (नागरिक)- मनकामना क्षेत्र विकास समितिले फोटो व्यवसायीलाई मनकामना मन्दिर परिसरमा फोटो खिच्न रोक लगाएको छ। व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाले दर्शनार्थीलाई सास्ती भएपछि समितिले व्यवसायीलाई फोटो खिच्न रोक लगाएको हो। समितिका अध्यक्ष दिनेश जोशीले भने, 'भक्तजनले मन्दिर पसिरमा जति पनि फोटो खिच्न पाउँछन्,' उनले भने, 'व्यवसायीलाई मात्र रोक लगाएका हौं।'
समितिले दुई महिनाअघि मन्दिर परिसरमा फोटो खिच्न रोक लगाएको हो। 'मन्दिर आएका दर्शनार्थीलाई व्यवसायीले तान्ने होड चल्यो,' जोशीले भने, 'त्यही भएर समितिले कदम चाल्नु पर्यो।'
मन्दिर परिसरमा फोटो खिच्न रोक लगाएपछि व्यवसायीले आ-आफ्नो पसलमा मन्दिरको ठूलो फ्लेक्स राखेका छन्। 'फ्लेक्स अगाडि मान्छेलाई उभ्याएर फोटो खिच्छौं,' कर्नर फोटो स्टुडियोका सञ्चालक सन्दीप क्षेत्रीले भने, 'पाँच मिनेटमै फोटो तयार हुन्छ।' पसलबाटै दैनिक ३० भन्दा बढी फोटो खिच्ने गरेको उनले बताए।
पहिलेको तुलनामा थोरै ग्राहक आए पनि सन्तुष्ट रहेको मल्ल डिजिटल फोटो सपका अनुज श्रेष्ठले बताए। 'पहिले एउटै मान्छेलाई तानातान गर्नुपथ्यो,' उनले भने, 'अहिले पसलमै आएर दैनिक २०-२५ जनाले फोटो खिच्छन्।' उनले फोटोसफ्ट सफ्टवेयरबाट प्रिन्ट गर्दै आएका छन्। 'मन्दिरको फोटो अघि ग्राहकको फोटो राख्छौ,' उनले भने, 'त्यसलाई डिजाइन गरी फ्रेमिङसमेत गरेर दिन्छौं।' मनकामना मन्दिरको फोटो व्यवसायबाट ३० जनाभन्दा बढी स्थानीय युवाले रोजगारी पाएका छन्।
No comments:
Post a Comment