Sunday, April 29, 2012

भारतबाट चोरी पैठारीमा डिजेल आउँदै

नेपालमा भन्दा भारतमा डिजेल एक लिटरमा झन्डै १८ रुपैयाँ सस्तो भएपछि भारतबाट डिजेल आउने क्रम बढेको छ। सीमावर्ती क्षेत्रमा अहिले निर्वाधरुपमा डिजेल आउन थालेको व्यवसायीहरु बताउँछन्।
'नेपालमा महँगो तेलपनि पाइदैन। उद्योग चलाउन तेल जसरीपनि ल्याउनुपर्ने अवस्था भयो,' वीरगञ्जमा उद्योग चलाइरहेका एक उद्योगीले नागरिकसँग भने, 'भारतबाट तेल ल्याउँदा सस्तोपनि छ।' उनका अनुसार छोटी भन्सार कार्यालयबाट निर्वाध रुपमा डिजेल आइरहेकोछ। छोटी भन्सारका कर्मचारीलाई केही रकम दिएर डिजेल ल्याउने क्रम बढेको ती उद्योगीले बताए। नेपाल आयल निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले भारतबाट भन्सार छलेर नेपाल डिजेल आइरहेको स्विकार गरे।
'निगमको आर्थिक अवस्था राम्रो छैन। भारतीय आयल कर्पोरेसन(आइओसी)लाई डेढ अर्ब दिनबाँकी छ,' उनले भने, 'आइओसीलाई तिर्नुपर्ने रकम बढेपछि तेल कटौती भएको छ। अभाव भएपछि उद्योगीले भारतबाट तेल ल्याएर चलाइरहेको जानकारी हामीलाई पनि दिएका छन्।' उनले यसरी डिजेल आउँदा राज्यले नोक्सानी व्योहोरेको बताउँछन्।
'चोरी पैठारी भएर डिजेल आउँदा राज्यले राजस्व पनि पाउँदैन,' उनले भने, 'यसको विकल्पको बारेमा सोच्न आवश्यक भइसकेकोछ।' अग्रवालले अर्थमन्त्रालयले राजस्वको दरमा केही परिवर्तन गरेमा भारतबाट चोरी पैठारी आउने क्रम रोकिने बताउँदै निगमले तेल ल्याउनपनि सक्ने दावी गरे।
'भन्सार मात्रै हटाउने हो भने भारतबाट त्यसरी डिजेल आउने क्रम रोकिन्छ,' उनले भने, 'यसबाट निगमको घाटापनि कम भएर तेल आपूर्ति सहज गर्न सकिन्छ।' अग्रवालले अवैध रुपमा डिजेल आउँदा समस्या भएको बारेमा अर्थमन्त्रालयलाई जानकारी गराएको बताउँदै यसको विकल्पमा भन्सार घटाउनुपर्ने सुझाव दिएको बताए।
'अर्थमा हामीले भन्सार छुटको सुझाव दिइसकेका थियौ,' उनले भने, 'तर यो प्रस्तावलाई अर्थले अस्विकार गरेको छ।'
निगमलाई अहिले एक लिटर डिजेलमा १२ रुपैयाँ ६३ पैसा घाटा छ। स्रोतका अनुसार विराटनगर, वीरगन्जलगायत औद्योगिक कोरिडरमा यसरी नै डिजेल आएर समस्या चर्किएको छैन।
नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका निर्वतमान अध्यक्ष सरोज पाण्डेले भारतबाट चोरी पैठारीबाट तेल आएकोले सीमावर्ती क्षेत्रमा अभाव नभएको बताए।
'सीमावर्ती क्षेत्रमा छ्याप्छ्याप्ती भारतबाट डिजेल आइरहेको छ। यसलाई रोक्न नसक्ने हो भने संस्थागत रुपमा व्यापार गर्ने पेट्रोल पम्प व्यवसायीसमस्यामा पर्छन्,' उनले भने।

No comments:

Post a Comment