Saturday, July 6, 2013

ट्राभल एजेन्सीले नै गर्छन म्यानपावरको काम

२२ असार, काठमाण्डौं । राजधानीमा सञ्चालित १९ ओटा ट्राभल्स एजेन्सीले
अवैध रूपमा मानिस विदेश पठाएर म्यानपावर कम्पनीले गर्ने काम गरिरहेको
तथ्य फेला परेकोछ । गोप्य सूचनाका आधारमा पर्यटन उद्योग महाशाखाले गरेको
आकस्मिक अनुगमनमा सो तथ्य फेला परेको हो । ट्राभल्स ऐजेन्सीको बोर्ड
टाँगेर दर्तासमेत नगरी अवैध रूपमा म्यानपावरको काम गरिरहेको अनुगमनमा
पाइएको छ ।
पर्यटन उद्योग महाशासाका प्रमुख एवं सहसचिव पूर्णचन्द्र भट्टराईले
राजधानीमा रहेका केही टुर एन्ड ट्राभल्स कम्पनी दर्ता नै नगरी व्यवसाय
सञ्चालन गर्दै आएको र ट्राभल्स सञ्चालनको इजाजत लिएर म्यानपावरको काम
गरिरहेको उजुरी आएपछि अनुगमन गर्दा १९ ओटाले दर्ता नै नगरी व्यवसाय
सञ्चालन गरिरहेको पाइएको बताए ।
उनले कुल ६२ ओटा ट्राभल्स एजेन्सीमा लगातार तीन दिनसम्म गरेको अनुगमनका
क्रममा १९ ओटाले इजाजत नै नलिई कारोबार सञ्चालन गरेको भेटिएको बताए ।
अनुगमनका क्रममा कतिपय एजेन्सीमा पासपोर्टसमेत फेला परेको भट्टराईले
जानकारी दिए । उनलेपहिलो चरणमा अनुगमन गर्दा अवैध रूपमा कारोबारमा संलग्न
भेटिएका ट्राभल्स एजेन्सीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको
जानकारी दिए । छापा मार्ने क्रममा अवैध भेटिएमध्ये १२ ओटालाई तत्काल
सम्पर्क राख्न पत्राचार गरेको र तीनओटालाई स्पष्टीकरण सोधिएको भट्टराईको
भनाइ छ ।
उनले अन्यले भने अझैसम्म अटेरगरी पत्र बुझ्न नआएको र केहीलाई स्पष्टीकरण
सोध्न बाँकी रहेको बताए । अवैध ढंगले ट्राभल्स एजेन्सी चलाउनेको शंकास्पद
सूचीको आधारमा निरीक्षण गरिएको बताउँदै भट्टराईले भने, 'कुनै पनि
अवैद्यानिक ढंगले काम गर्ने ट्राभल्स एजेन्सी हाम्रो नजरबाट बच्न
सक्दैनन् ।' उनले यस्ता कार्यमा संलग्नलाई २० हजार जरिवाना, कारोबार नै
खारेज गर्ने र अन्य किसिमका अधिकतम कारबाही गरिने बताए । दर्ता नै नगरी
हवाई टिकट बिक्री र अन्य कारोबार गरिरहेको पाइएकाले ती कम्पनीहरूमाथि कडा
कारबाही हुने जानकारी दिएको राजधानी दैनिकमा खबर छ ।
महाशाखाले पहिलो पटक थालेको अनुगमनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलनजिकैको सिनामंगल र ठमेल क्षेत्रमा अवैध रूपमा सञ्चालिन विभिन्न
१७ ओटा ट्राभल्स एजेन्सी कारबाहीको फन्दामा परेका हुन् । महाशाखाले गत
सोमबारदेखि बिहीबारसम्म लगातार तीन दिन गरेको अनुगमनका क्रममा
सिनामंगलस्थित बीबीसी वल्र्ड ट्राभल्स एन्ड टुर्स प्रालि, सम्बिसन
ट्राभल्स एन्ड टुर्स, भिसा ट्राभल्स एन्ड टुर्स, सर्लाही ट्राभल्सएन्ड
टुर्स, हिसी ट्राभल्स एन्ड टुर्स र रुमरु टुर्स एन्ड ट्राभल्सले दर्ता नै
नगरी सञ्चालन गरिएको पाइएको हो ।
यस्तै, घुमफिर इन्टरनेसनल ट्राभल्स एन्ड टुर्स, होलिडे प्लानर्स टुर एन्ड
ट्राभल्स, एपेक्स टुर्स एन्ड ट्राभल्स, लायन टुर्स एन्ड ट्राभल्स, सुपर
प्यासन टुर्स एन्ड ट्राभल्स र डीबी ट्राभल्स एन्ड टुर्स प्रालि दर्ता नै
नगरी सञ्चालन भएको भेटिएको छ ।यसैगरी, ठमेल र ज्याठा क्षेत्रको अनुगमनको
क्रममा हिमालयन यती ट्राभल्स एन्ड टुर्स प्रालि, फ्रेन्स हिमालयन
ट्राभल्स एन्ड टुर्स,वेस्ट ट्रिप ट्राभल्स एन्ड टुर्स, गुडविल ट्राभल्स
एन्ड टुर्स र माउन्टेन ट्वाचे ट्राभल्स एन्ड टुर्स प्रालि अवैध रूपमा
सञ्चालित भइरहेको फेला परेको छ ।
अनुगमनका क्रममा भेटिएका अवैध कारोबारमा संलग्न ट्राभल्स एजेन्सीहरूलाई
कडा कारबाही हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिलेसम्म
मुलुकभर करिब २ हजार २ सय ९ ओटा ट्राभल्स एजेन्सी दर्ता भएका छन् । सो
तथ्यांकबाहेक अझै अधिकांश ट्राभल्स एजेन्सीले दर्ता नै नगरी व्यवसाय
सञ्चालन गरिरहेका छन् ।

No comments:

Post a Comment