Monday, June 10, 2013

राजा वीरेन्द्रको सम्पत्ति अवैधानिक रुपमा ज्ञानेन्द्रका नाममा सारियो

२७ जेठ, काठमाण्डौं । स्वर्गीय राजा वीरेन्द्रसहित नेपाल ट्रस्टका नाममा
दर्ता भएकाराजपरिवार र विभिन्न सदस्यको नाममा रहेको जग्गा मोहीका नाममा
दर्ता गर्न कन्ज्युसाइँ गरिएको छ । उनीहरूका नाममा रहेका कतिपय जग्गा
पूर्वराजा ज्ञानेन्द्रको नाममा अवैधानिक रूपमा नामसारी गरिएको छ ।
ज्ञानेन्द्रका नाममा नामसारी गर्न बाँकी रहेका जग्गा गरिब जोताहा मोहीलाई
दिन आनाकानी गरिएको हो । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्
कार्यालयको विधेयक समितिलाई यसबारे अध्ययन गरी निर्णय प्रक्रियामा जान
अधिकार प्रत्यायोजन गरेपनि समितिले काम नगर्दा गरिब जोताहा मोहीले जग्गा
पाउन नसकेका हुन् । ट्रस्टको नाममा रहेको राजपरिवारको जग्गा जोताहा
मोहीका नाममा दर्ता गनुपर्ने दबाब आएपछि निवर्तमान प्रधानमन्त्री डा.
बाबुराम भट्टराई नेतृत्वको सरकारले गत ११ भदौमा प्रस्ताव अघि बढाएको थियो
। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विधेयक समितिलाई यस
प्रक्रियालाई अघि बढाउने जिम्मा दिइएको थियो ।
समितिले नेपाल नेपाल ट्रस्टका सचिव श्रीधर गौतमको संयोजकत्वमा पाँच
सदस्यीय अध्ययन समितिसमेत गठन गरी अध्ययन गरेको थियो । अध्ययन समितिमा
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव शंकरप्रसाद अधिकारी,
कानुन मन्त्रालयका सहसचिव झमक घिमिरे, भूमिसुधार तथा व्यवस्था
मन्त्रालयका सहसचिव जितबहादुर थापालगायत थिए । अध्ययन समितिले नेपाल
ट्रस्टको नाममा दर्ता भएका राजपरिवारको जग्गा नेपाल ट्रस्ट ऐन, २०६४
बमोजिम मोहीलाई दिन नमिल्ने र नियम संशोधन गरेर मात्र मोहीलाई दिनुपर्ने
सुझावसहितको प्रतिवेदन विधेयक समितिमा पठाएको राजधानी दैनिकमा खबर छ ।
'ट्रस्ट ऐन, २०६४ बमोजिम ट्रस्टको स्वामित्वमा रहेको अचल सम्पत्ति कुनै
व्यक्ति विशेष वा संस्थाका नाममा दर्ता हुन सक्नेछैन र प्रतिकूल हुने गरी
भएको दर्ता स्वतः बदर हुनेछ भन्ने उल्लेख छ । मोहियानी हक लागेको भए
मात्र पाउने नत्र नपाउने र सबै मोहीले पाउने व्यवस्था गर्न ऐन नै संशोधन
गर्नुपर्ने भनेका छौं,' ट्रस्टका सचिव तथा अध्ययन समिति संयोजक गौतमले
राजधानीलाई जानकारी दिए । तर, अध्ययन समितिले सुझाव दिएको महिनांै दिन
बित्दा पनि विधेयक समितिले मोहीका नाममा जग्गा दर्ता गर्न रोक्ने नियमलाई
संशोधन गर्न कुनै प्रक्रिया अघि बढाएको छैन ।
'यो विषय छलफलमै प्रवेश गरेको छैन,' प्रधानमन्त्रीतथा मन्त्रिपरिषद्
कार्यालयका सचिव राजुमानसिंह मल्लले भने । तत्कालीन राजपरिवारकाविभिन्न
सदस्यको नाममा रहेका साबिकका फर्मायसी बिर्ता जग्गा असम्बन्धित जग्गा
कमाउने जोताहा/मोहीका नाममा दर्ता गर्ने विषयको प्रस्ताव मन्त्रिपरिषद्
विधेयक समितिमा छलफल गरी समितिको निर्णयबमोजिम गर्ने भनी मन्त्रिपरिषद्ले
निर्णय गरेको हो ।

No comments:

Post a Comment