Friday, May 24, 2013

दुर्गम गाउँमा चेलीको वेदना

धन कमाउने सपना बुन्दै कुवेत जान हवाईजहाज चढिन् फूलमाया । चमेली नामकी
एक महिलासँग दाजु बिर्खेको सल्लाहमा पासपोर्ट बनाएर घरबाट निस्किएकी
थिइन् उनी । तर, केही घन्टामै उनले आफ्ना सपना चकनाचुर भएको थाहा पाइन् ।
कुवेत पुगेर राम्रो काममा लाग्ने अनि मनग्ये कमाइ गर्ने सपना देखिरहेकी
उनी बेचिन पुगिन्, भारतको एक वेश्यालयमा । बल्ल उनले थाहा पाइन्, धन
कमाउने प्रलोभन देखाएर सोझासाझा केटीलाई वेश्यालय पुर्‍याउने दलाल रहिछे
चमेली ।
यो सडक नाटकमा प्रदर्शन गरिएको काल्पनिक कथा हो । तर, दुर्गम गाउँमा
वैदेशिक रोजगारको नाममा चेलीबेटीले भोगेका दु:खद र दर्दनाक घटनाको
वास्तविक उदाहरण पनि हो । चेलिबेटी बेचबिखन नियन्त्रण गर्ने उद्देश्यले
नुवाकोटका विकट गाउँमा स्थानियवासी, महिला, शिक्षक र विद्यार्थीहरूको
सहभागितामा भर्खरै 'चेलीको वेदना' नामक सडक नाटक प्रर्दशन गरिएको छ ।
नेपाल परिवार नियोजन संघ सिजिटि परियोजना खरानीटार नुवाकोटले दुर्गम
गाविसहरू काहुले, भाल्चे र फिकुरीमा यस्तो नाटक मञ्चन गरेको हो ।
नाटकमा इच्छाविपरीत कोठीमा यौनकार्य गर्न बाध्य बनेकी फूलमायालाई तीन
वर्षपछि कोठी मालिक्नीले एचआईभी एड्स लागेको थाहा पाएर रित्तोहात
त्यहाँबाट निकालिदिन्छिन् । जीवन बर्बाद भयो भन्दै रोइकराई गर्दै हिँडेको
अवस्थामा फूलमायााको एक नेपाली युवकसँग भेट हुनपुग्छ । ती युवकको साथमा
उनी नेपाल फर्किन्छिन् । त्यसपछि घरमा पुग्दा जम्मा भएका सबै गाउँलेसामु
उनले आफ्नो वेदना बताएपछि ती युवकले गाउँका सबैलाई अरूको लहैलहैमा विदेश
जानुभन्दा अघि आफू जाने देश, काम र भाषाका बारेमा राम्रोसँग बुझ्न सल्लाह
दिन्छन् । नत्र फूलमायालाई जस्तै अरू चेलीहरूलाई पनि दलालले फन्दामा
पार्नसक्ने कुरामा सचेत गराउँछन् ।
चेलिबेटी बेचबिखनको बदलिँदो अवस्थालाई कथावस्तुमा समेटिएको नाटक राहदानी
बनाएर तेस्रो मुलुक लैजाने नाममा भारतका वेश्यालयमा पुर्‍याइने गरेको
यथार्थ घटनालाई चित्रण गरिएको थियो । रामहरि गजुरेलको लेखन तथा
निर्देशनमा प्रदर्शन गरिएको नाटकमा रिलेक कलाकार समिति नुवाकोटका
कलाकारले अभिनय गरेका थिए । कलाकारहरूमा सविना रिमाल, नारायण पौडेल,
रामहरि गजुरेल, जमुना पौडेललगायत पात्रको अभिनय रहेको थियो ।
वैदेशिक रोजगारमा तेस्रो र खाडी मुलुकमा जाने नेपाली महिलाहरू बेचिने
घटनाहरू बढ्दै गएकाले उनीहरूले विदेशमा भोग्ने समस्यालाई नाटकमार्फत
सजगगराइएको नेपाल परिवार नियोजन संघ खरानीटारका निमित्त प्रमुख प्रेमजित
भैलले जानकारी दिए । 'पहिले दलालले स्थलमार्गबाटै विभिन्न नाका पार गराएर
भारतका विभिन्न सहरमा लैजाने रुट अहिले आएर बदलिएको छ,' प्रमुख भैलले
स्पष्ट पारे, 'यसको सट्टा बरु वैधानिकतवरले पासपोर्ट बनाइदिएर भारतलगायत
तेस्रो मुलुकमाचेलीबेटी बेचबिखन गर्न दलालहरूलाई सजिलो बनेको देखिन्छ ।'
यसैगरी, बेचबिखनमा संलग्न दलालहरूले राहदानीमार्फत विदेश पुर्‍याउने क्रम
दिनप्रतिदिन बढेको परियोजनाका फिल्ड सुपरभाइजर सरिता राईले बताइन
http://www.souryadaily.com/2013/05/72801.html

No comments:

Post a Comment