९ माघ, ताप्लेजुङ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले
प्रतिक्रियावादी तथा प्रतिगामीहरुले एमाओवादीलाई सिध्याउन षड्यन्त्र
गरिरहेको आरोप लगाउनु भएको छ । प्रचण्डले एमाओवादीलाई चौतर्फी
घेराबन्दीमा पार्ने र सिध्याउने षड्यन्त्र स्वरुप प्रतिक्रियावादीहरुबाट
द्वन्द्वकालका घटनालाई कोट्याउँदै शान्ति प्रक्रिया भाँड्न खोजिएको
बताउनुभयो । उहाँले आफ्नो पार्टीको नेतृत्वमा सरकार भइरहेको बेला
बेलायतमा नेपाली सेनाको अधिकृतलाई पक्राउ गर्नु र दैलेखमा डेकेन्द्रराज
थापा घटनाका आरोपीलाई पक्राउ गर्नु गम्भीर षड्यन्त्र गर्न लागिएको
बताउनुभयो ।
एमाओवादी ताप्लेजुङको एकताको प्रथम जिल्ला सम्मेलनको सदरमुकाम फुङ्लिङमा
उद्घाटन गर्दै उहाँले प्रतिक्रियावादीहरुले जनयुद्ध ताका आफूहरुलाई
सिध्याउन टाउँकाको मोल ५० लाख रुपियाँसम्म तोके पनि नडराइकन झण्डै १८ सय
वर्ष पुरानो राजतन्त्र र अढाई सयवर्षे शाही राजतन्त्रको अन्त्य गर्न
निरन्तर क्रान्तिमा लागिपरेको बताउनुभयो । उहाँले
भन्नुभयो,'द्वन्द्वकालको घटनालाई लिएर विस्तृत शान्ति सम्झौता
भाँडिनेखालको गतिविधि हुँदैछ, माओवादीलाई सिध्याउन यसो गरिँदै छ तर
नाङ्लो ठटाउँदैमा हात्ती तर्सिँदैन । '
"उहाँले एमाआवादी सबैभन्दाठूलो दल भएको नाताले अन्य दलहरुसँग सहमतिको पहल
भइरहेको छ, अबको दुई/तीन दिनभित्रै सहमति जुटे जेठभित्रै निर्वाचन सम्भव
भएको पनि बताउनुभयो ।
जेठमा चुनाव हुन्छ : प्रधानमन्त्री
यस्तै पार्टीका उपाध्यक्ष तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी
जेठ दोस्रो साताभित्र पुनः संविधानसभाको निर्वाचन हुने बताउनुभएको छ ।
प्रधानमन्त्री भट्टराईले निर्वाचनका लागि अन्य सवै दलहरुसँग सहमतिको पहल
भइरहेको बताउनुभयो । जेठभित्रै निर्वाचन गर्न राष्ट्रिय सहमतिको सरकार
हुनुपर्ने हुँदा त्यसका लागि आफू संबैधानिक प्रधानमन्त्री भएको हैसियतले
राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रयत्नशील रहेको र चाँडै सहमति
जुट्नेमा विश्वस्त रहेको पनि उहाँले बताउनुभयो ।
No comments:
Post a Comment