Tuesday, January 22, 2013

मन्त्रीको झण्डावाल गाडी हराएपछि प्रहरीमा हल्लीखल्ली

९ माघ, काठमाडौं । सानातिनो सरसामान हराउनु त स्वाभाविकै हो, तर, सोमबार
साँझ बहालवाला मन्त्रीको झण्डावाल गाडी मन्त्री निवासबाटै हराएपछि
केहीबेर उपत्यकाका तीनै जिल्लाका प्रहरीवीच खैलाबैला मच्चियो । आफ्नो
झण्डावाल गाडी हराएको भन्दै बहालवाला मन्त्रीले नै प्रहरीलाई खबर गरेपछि
गाडी भाग्न सक्ने नाकाहरुमा तत्कालै सेटबाट खबर गरियो ।
हराएको झण्डावाल गाडी रहेछ, सिंचाईमन्त्री महेन्द्रप्रसाद यादवको । सो
गाडी मन्त्री क्वार्टरबाटै हराएको प्रहरीलाई बताइएको थियो । आफूले चढ्दै
आएको कालो रंगको सरकारी गाडी हराएको भन्दै मन्त्री यादवले सोमबार साँझ
प्रहरीलाई खोजी गरिदिन भनेका थिए । हराएको सूचना आएको केही समयपछि
मन्त्रीको झण्डासहितको गाडी प्रहरीले भक्तपुरको लोकन्थलीमा फेला पारेर
मन्त्रिक्वाटर फर्काएको थियो ।
मन्त्रीले प्रहरीलाई नै उजुरी गर्नुपर्ने गरी गाडी लिएर बेपत्ता हुने
मानिसचाहिँ अरु कोही नभएर मन्त्रीकै ज्वाइँ रहेछन् । प्रहरीले उनलाई
मातेर भिल्लु भएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
महन्थ ठाकुर नेतृत्वको तमलोपाका तर्फबाट समानुपातिक सभासद् बनेका यादव
यतिबेला तमलोपा फुटाएर 'तमलोपा नेपाल'का अध्यक्ष छन् ।सर्लाही बसन्तपुर-५
का यादवले हालको बसोबास ललितपुरको टीकाथली-७ बताउने गरेका छन् । आफ्ना
पाँच दाजुभाइ सगोलमा रहेकाले अंशवण्डानभएको तर घर व्यवहार अलग रहेको
बताउने मन्त्री यादवको सर्लाहीका विभिन्न गाविसमा २० विघा जग्गा रहेका छ
। तर, हेटौडाको एक फाइनाइन्सबाट ५० हजार ऋण लिएर किनेको एउटा मोटर
साइकलमात्रै साथमा रहेको मन्त्री यादवले मन्त्रालयमा बुझाएको सम्पत्ति
विवरणमा उल्लेख छ ।

No comments:

Post a Comment