Friday, December 21, 2012

प्रलयको डरमा के–के भयो ?

६ पुस, काठमाडौं । खगोलविदहरुले केही हुन्न भनेर आश्वस्त पार्न खोजेपनि
डिसेम्वर २१ अर्थात शुक्रबार पृथ्वी ध्वस्त हुन्छ कि भन्ने धेरैलाई त्रास
थियो । कतिले यसलाई रमाइलो चर्चा गर्ने अवसरको रुपमा लिए । कतिलाई
साँच्चै नै आतंकित नै बनायो ।
भोलिपल्ट मरिने हो कि भन्ने डरले बिहीबार धेरैले खानपान र रमाइलोमा पनि
भुले । 'मरिएला भनेर पाँचजना साथीभाई मिलेर होटलमा खानपान गर्यौं,
परिवारसँग बसेर दुःखसुखका कुरा पनि गर्यौं' गोरखाका चेतन रेग्मीले
अनलाइनखबरसितभन्नुभयो-'डराई डराई सुतेको, बिहान उठ्दा त उस्तै, केही भएन
।'
चेतनले मात्र होइन बिहीबार साँझ धेरैले यसैगरी रमाइलो गरे । 'गुड
फ्राइडे' भनेर शुक्रबार खानपान र रमाइलो बढी हुने भएपनि यसपटक बिहीबार
साँझ नै होटलहरु भरिभराउ देखिन्थ्यो । तर अचम्म मादक पदार्थ सेवन अर्थात
मापसे गरेर गाडी चलाउनेको संख्या भने बिहीबार घटेको छ । 'बुधबार बेलुकी
१२८ जना कार्वाहीमा परेका थिए, तर बिहीबार चाहिँ १२१ जना मात्र
कार्वाहीमा परे' ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब निरीक्षक रमेश
बस्नेतले अनलाइनखबरसित भन्नुभयो-'घरमा बसेर खाएकाले होला धेरै कार्वाहीमा
परेनन् ।'
मदिरा कारोबारकै बारेमा पत्रकार दिपक भट्टराईले ट्वीटरमा लेख्नुभएको
छ-'हिजो डिसेम्वर २१ भोलि के हुन्छ भनेर जाँड, आज डिसेम्वर २१ जेसुकै
होस् भो भनेर जाँड । अनि भोलि डिसेम्वर २१ मा केही भएन अब बाँचियो
भनेरजाँड भन्ने सुन्छु म त । मादक पदार्थ उद्यमीहरुको हल्ला हो कि यो
डिसेम्वर २१ ?'
मासुको कारोबार पनि बढ्यो
बिहीबार मदिराजस्तै मासुको कारोबार पनि बढेको व्यापारीहरुले बताएका छन् ।
राजधानी सहित शहरमा प्रायः शुक्रबार र शनिबार मासुको कारोबार बढी हुन्छ ।
तर यसपटक शुक्रबार र शनिबार जस्तो हुने कारोबार बिहीबार नै भयो ।
'बुधबारको तुलनामा बिहीबार मासुको कारोबार १० प्रतिशतले बढ्यो'
राजधानीस्थित भ्याली कोल्ड स्टोरका सञ्चालक सानुबाबु बिन्दुकारले
अनलाइनखबरसित भन्नुभयो -'कारण त थाहा भएन, जाडोले पनि हुनसक्छ ।'
खगोलविद र ज्योतिषी हैरान
खगोल र ज्योतिषशास्त्रका जानकारहरुलाई केही दिनदेखि चटारो छ ।
सञ्चारमाध्यममा प्रतिकृयादिन मात्रै होइन, साथीभाइ र आफन्तले समेत
उनीहरुलाई हैरान बनाउने गरेका छन् । 'हैन साँच्चै प्रलय हुन्छ कि भनेर
धेरैले सोधेर हैरान पारे' नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टका
प्राज्ञ ऋषि शाहले अनलाइनखबरसित भन्नुभयो-'कतिले साँच्चै सिरियस भएर सोधे
कतिले चाहिँ ख्यालठट्टा गरेर ।' केही हुँदैन भनेर आश्वस्त पार्न खोजेपनि
धेरैले विश्वास नगरेको उहाँको अनुभवछ । 'साँच्चै प्रलय भयो भने के गर्ने,
लौ आइज आज बसेर रमाइलो गरौं भन्नेहरु पनि थिए' शाहले भन्नुभयो ।
ज्योतिषीहरुलाई पनि यस्तै हैरान बनायो । 'भेटेर र टेलिफोन गरेर
सोध्नेहरुलाई जवाफ दिँदादिँदै हैरान भइयो' नेपाल पञ्चांग निर्णायक
समितिका सदस्य सचिव सूर्यप्रसाद ढंगेलले अनलाइनखबरसित भन्नुभयो-'खानपीन र
मोजमस्ती गरेर भएभरका सम्पत्ति यहीबेला सिध्याउनुपर्छ भन्नेहरु धेरै थिए,
हामीले केही हुँदैन नआत्तिनुस् भनेर जवाफ दियौं ।'
स्कूल बन्द
डिसेम्बर २१ को त्रासले स्कूल/कलेजका विद्यार्थीलाई अझ बढी आतंकित बनायो
। कतिले चलिरहेको परीक्षा समेत प्रभावित भएको बताएकाछन् । यही हल्लाले
भक्तपुरको एउटा उच्च मावि तशुक्रबार बन्द नै भयो । बोडे उच्च माविमा
बिहान पढाई हुने दश जोड दुईको कक्षा बन्द गरिएको विद्यालयले जनाएको छ ।
सामाजिक सञ्जालमा २१ कै चर्चा
डिसेम्वर २१ मा पृथ्वी ध्वस्त हुन्छ भन्ने हल्ला फेसबुक, ट्वीटर जस्ता
सामाजिक सञ्जाल मार्फत नै फैलिएको हो । सामाजिक सञ्जालमा बिहीबार
बिहानसम्म चितवनको ध्रुवे हात्ती र देशको राजनीतिक टिकाटिप्पणी बढी
समेटिएका थिए । बिहीबार दिउँसोदेखि भने भोलि के होल भन्ने अनुमान,
हाँसीमजाक र केही हुँदैन भन्ने खालका टिप्पणीले फेसबुक र ट्वीटर भरिन
थाले । शुक्रबार बिहानैदेखि त सामाजिक सञ्जाल डिसेम्वर २१ कै चर्चाले
भरिएको छ ।
धेरैले ठट्टा र हाँसीमजाक गर्दै मरिएला कि भनेर सुतेको बाँचियो भनेर मख्ख
परेका छन् । कतिले राजनीतिक दलहरुले म्याद थपेका कारण तत्काललाई संकट
टरेको प्रतिकृया दिएका छन् । फेसबुक र ट्वीटरमा रहेका केही प्रतिकृया
यस्ता छन्ः
विश्वदिप तिग्देल -म त भर्खर ब्युझिएँ । संसारमा प्रलय हुन्छ भन्थे । हैन
प्रलय भैसकेको संसारमा छु कि पहिलेकै संसारमा छु । अलमलमै परें ।
राजकुमार बुढामगर - उफ ओहो मान्छे त जिउँदै पो उठिएछ । झण्डै अर्काको
कुराको विश्वास गरेर सुतेको सुत्यै भइन्छ जस्तो लाग्याथ्यो ।
मेघराज रसाईली- बर्डफ्लु लागेको चल्ला झैं मान्छे पृथ्वी ध्वस्त हुने
हल्लाले आक्रान्तबन्यो । फ्लू लागेपछि मर्नुथ्यो, मर्यो । विचरा हल्ला ।
पुरुषोत्तम गिरी -स्वर्गमा नेपालका नेतालाई राख्ने ठाउँको विषयमा कुरा
मिल्न नसकेपछि २१ त्ाारिखको म्याद ५ दिन थपेर २६ तारिख बनाइएको छ ।
डिबी खड्का -आज प्रलय नजानुको कारण पत्ता लगाएँ नि । आज २१ डिसेम्बर नभएर
पुस ६ गते रहेछ ।
यमुना अर्याल काफ्ले-डिसेम्बर २१ म्ाा प्रलय हुने की नहुने भन्ने विषयमा
सहमति जुट्न सकेनछ । आखिर प्रलय भएन । फेरि म्याद थप भो जस्तो छ ।
सुविन श्रेष्ठ -बधाई हामी सबैलाई । हल्लाले हल्लाएपछि पनि हामी आजकै दिन
उठ्यौं, हाँस्यौं र कामतिर लाग्यौं । अभ्यस्त भैसकेको समयसँगै निर्धक्क
बाँच्यौं पनि ।
निशान्त खनाल -हात्ती आयो हात्ती आयो फुस्सा भयो २१ डिसेम्वर पनि ।

No comments:

Post a Comment