Monday, November 19, 2012

एमाले गाउँ कमिटी अध्यक्षले श्रीमतीको खुट्टा भाँचे

३ मंसिर, रुकुम । नेकपा एमाले रुकुमअन्तर्गत पिपल गाउँ कमिटीका अध्यक्ष
दलबहादुर विष्टले श्रीमतीलाईकुटपिट गरी गम्भीर घाइते बनाएका छन् ।
दुई श्रीमतीमध्ये कान्छी गोमती विष्टलाई रक्सीको मातमा रहेका दलबहादुरले
कुटपिट गरेका हुन् । श्रीमान्को कुटाइपछि गम्भीर घाइते गोमतीको उपचार
भइरहेको छ ।
जिल्ला अस्पताल सल्लेमा उपचार हुन नसकेपछि घाइते विष्टलाई अस्पतालले
जिल्ला बाहिर लिएर जान भनेको हो । श्रीमान्को कुटाइबाट गोमतीको दाँया
खुट्टा भाँच्चिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।
दलबहादुरले श्रीमतीका कपडामा समेत आगो लगाइदिएको प्रत्यक्षदर्शीले
जानकारी दिएका छन् ।
श्रीमती कुटेको उजुरी कहीँ कतै नगर्न उनले अर्की श्रीमती, छोरा छोरी र
छिमेकीलाई चेतावनी दिएका छन् । कसैसँग श्रीमती कुटेको उजुरी वा यो विषयमा
कुरा गरे ज्यान मार्ने धम्कीसमेत दलबहादुरले दिएको नाम नबताउने शर्तमा एक
छिमेकीले बताए । उनको धम्कीकै कारण उनीविरुद्ध उजुरी पनि परेको छैन ।
उनको घर नजिकै रहेको प्रहरी चौकी पिपलले पनि घटनाबारे केही थाहा नभएको
प्रतिक्रिया दिएको छ । उनले पटक/पटक दुवै श्रीमतीलाई कुट्ने गरेका छन्
भने छिमेकीलाई पनि रक्सीकै मातमा धम्क्याउने गरेका बताएका छन् ।

No comments:

Post a Comment