Wednesday, October 10, 2012

कतारस्थित राजदूतसँग स्पष्टीकरण

काठमाडौं, आश्विन २४ - रोजगारीका लागि कतार पुगेर विविध कारणले बिचल्ली
बेहोर्ने नेपाली कामदारलाई उद्धार गर्न सन् २००८ जनवरीबाट सञ्चालनमा आएको
आश्रयस्थल बन्द गरिएको र कामदारको समस्या पहिल्याउन छाडेको समाचार आएपछि
दोहास्थित राजदूत मायाकुमारी शर्मासँग परराष्ट्र मन्त्रालयले स्पष्टीकरण
माग गरेको छ ।
'कतार सरकारको नियमानुसार आश्रयस्थल सञ्चालन गर्न नपाइने भन्ने बुझिएको छ
भनेर राजदूतले जवाफ दिनुभयो,' परराष्ट्र प्रवक्ता अर्जुनबहादुर थापाले
कान्तिपुरसँग भने, 'स्थान अभावले मात्रै अहिले दूतावासको किचेनमा कामचलाउ
रूपमा अलपत्र कामदार राखिएको रहेछ ।'
यसअघिका राजदूत सूर्यनाथ मिश्रले कामदार उद्धार र घरफिर्ती सहयोगमा
दूतावास परिसरको एउटा कोठामा आश्रयस्थल -सेल्टर हाउस) स्थापना गरेका थिए
। दोहामा जस्तै साउदी अरेबिया, कुवेतस्थित दूतावासमा पनि अलपत्र नेपालीको
उद्धारमा सेल्टर हाउस सञ्चालनमा छन् ।
यस्तै, राजदूत शर्माले कामदारको 'मागपत्र' आफैं स्वीकृत गर्ने गरेको,
समस्या लिएर दूतावास पुगेका कामदारलाई भेटघाटमा समय नदिने गरेको र
नियोगको प्रशासनिक कार्य विभाजनमा ध्यान नदिएको उजुरीसमेत परराष्ट्रमा
आएको छ । प्रवक्ता थापाले राजदूत शर्मासँग आवश्यक परेमा फेरि अर्को चरणमा
स्पष्टीकरण लिइने जानकारी दिए । राजदूतबारेको समाचार र गुनासो बाहिर
आएपछि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा मन्त्रालयले
स्पष्टीकरण लिएकोहो । कतारमा झन्डै ४ लाख नेपाली कामदार छन् । म्यानपावर
र एजेन्टको ठगीमा परेर बिचल्ली पर्नेको संख्या पनि खाडीका रोजगार
गन्तव्यहरूमै सबैभन्दाबढी कतारमै छन् ।
प्रकाशित मिति: २०६९ आश्विन २४ १२:५९

No comments:

Post a Comment