Tuesday, September 11, 2012

तीजअघिकै बुरुकबुरुकः संस्कृति कि विकृति?

२६ भदौ, काठमाडौं । तीज आउन अझै हप्तादिन बाँकी छ । तर शहरबजारका केही
महिलाहरुको फर्याकफुरुक हेर्दा महिना दिन पहिलेदेखि नै तीज लागिसक्यो ।
जागीरे र फुर्सदिला महिलाहरुलाई अहिले ठाउँठाउँमा पुगेर दर खान र रातो
साडीमा ढल्कँदै कम्मर मर्काएर नाचगान गर्न भ्याईनभ्याई छ । 'हरेक दिनजसो
कुनै न कुनै ठाउँबाट निम्तो आउँछ' गायिका शोभा त्रिपाठीले अनलाइनखबरसित
भन्नुभयो -'कहिले त एकै दिन दुई तीनवटा ठाउँबाट पनि आउँछ, कहाँ मात्रै
गएर भ्याउने ?'
ग्ाायिका त्रिपाठीलाई मात्र होइन अरु महिला कलाकार र कर्मचारीलाई पनि
यस्तै समस्या छ । कहिले यसले, कहिले उसले दर खान निम्ता गर्छ । नजाऔं
रिसाउँछन्, जाऔं कहाँ मात्र पुगेर भ्याउने । 'हिजोआज कहींबाट फोन आउँदा
दर खाने निम्तो हो कि भनेर डर लाग्न थालेको छ मलाई त' गायिका
त्रिपाठीलेभन्नुभयो -'जानै पर्ने ठाउँमा चाहिँ जान्छु, तर धेरैतिर जान
भ्याएको छैन ।' उहाँको जस्तै समस्या अधिकारकर्मी शारदा पोखरेलले पनि
भोग्नुभएको छ । 'कति ठाउँबाट आउँछ निम्ता त, के गर्नु भ्याउँदिन भनेर
कहीँपनि गएको छैन' पोखरेलले भन्नुभयो ।
तीजको अघिल्लो रात खाने दर हिजोआज शहरबजारमा महिना दिन पहिलेदेखि नै खाने
चलन छ । खासगरी शहरबजारमा घर हुने गृहिणी, जागिरे महिला, कलाकार लगायतलाई
यो बेला दर खान भ्याईनभ्याई हुन्छ । गाउँघरमा भने अझै पनि तीजको अघिल्लो
दिन मात्र दर खाने चलन छ ।
संस्कृति या विकृतिबारे आआफ्नै बुझाई
तीजका गीत छाडा र उच्छृँखल भयो भन्ने गुनासो त केही वर्षदेखि बढिरहेकै छ
। महिलाले मान्ने चाडमा केटाले समेत गीत गाउने, दोहोरीमा झैं केटाकेटी
नाच्ने, माया प्रेमका शब्द मिसाउने चलनले धेरैलाइ तीज विकृतितिर गयो
भन्ने चिन्ता छ । महिलाको पीडा, व्यथा र हकअधिकारका कुरा गर्ने अवसरलाई
धेरैले अरु गीतमा जस्तै मायाप्रेमको भाव मिसाउने गरेका छन् ।
गीतसँगै जथाभावी दर खाने र खुवाउने प्रवृत्तिका कारण पनि तीजमा विकृति
बढ्यो भन्ने टीकाटिप्पणी हुन थालेको छ । तीजको दिन महिलाहरु भोकै बस्ने
भएकाले अघिल्लो रात दरिलो, आडिलो, पौष्टिक खानेकुरा अर्थात दर खाने चलन
बसेको हो । पहिले पहिले दरका रुपमा मीठाई, खीर तथा दूधले बनेका परिकारको
चलन थियो । तर हिजोआज माछामासुलाई समेत दर भनेर खाने गरिन्छ । अझ कतिपयले
त दरको रुपमा मदिरा समेत पिउने गरेको सुन्न पाइन्छ ।
तीज आउनु महिना दिन पहिलेदेखि नै दर खाने र दरको रुपमा जस्तोसुकै
खानेकुरा पनि खाने चलनलाई के भन्ने त ? 'नकारात्मक रुपमा मात्र पनि हेर्न
हुँदैन' गायिका शोभा त्रिपाठीले भन्नुभयो -'तीज मान्ने परम्परा
घरभित्रबाट बाहिर आएको छ । यसले सामाजिक कार्यसँगै आपसमा मेलमिलाप, सहयोग
र सहकार्यको भावना पनि बढाएको छ ।'
हुन पनि कहिले यसकोमा, कहिले उसकोमा गएर दर खाँदा आफन्त र साथीभाइसँगको
सम्बन्ध बढाउन सहयोग गरेको छ । कतिपयले दर खाने र गीत गाउने कार्यक्रम
गरेर सामाजिक काम पनि गर्ने गरेका छन् । यसलाई त कसैले पनि नराम्रो भनेको
छैन । सकारात्मक कुरा नै हो, यो । 'सामाजिक सद्भाव बढाउन सहयोग गरेसँगै
विकृति पनि देखिन थालेको छ' महिला अधिकारकर्मी शारदा पोखरेलले भन्नुभयो
-'लुगाफाटा र गहना प्रदर्शन तथा भड्किलो शैलीले यसमा विकृति पनि देखिन
थालेको छ ।' विकृति हटाउन सके महिनादेखि लाग्ने तीज पनि ठीकै हुने उहाँको
भनाई छ ।

No comments:

Post a Comment