दिलीप पौडेल, बाग्लुङ, भदौ १६ - वैदेशिक रोजगारी गएका नेपालीको मृत्यु भए परिवारलाई राहत दिने व्यवस्था भए पनि यहाँको एक परिवारले तीन वर्षसम्म कुनै रकम पाएको छैन। साउदी अबरमा मृत्यु भएका छिस्ती-७ का कविराज परियारको परिवारले बिमा र राहत रकम नपाएको बताएको छ।
रोजगारीका क्रममा विदेशमा मृत्यु भए, परिवारलाई बिमाबापत चार लाख र राहत डेढ लाख रुपैयाँ दिने कानुनी व्यवस्था छ।
कविराजको तर २०६६ कात्तिक १९ गते साउदी अरबमा मृत्यु भएको थियो। परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड, जिल्ला प्रशासन कार्यालयलगायत निकायमा निवेदन दिए पनि रकम नपाएको उनकी श्रीमती विष्णुमायाले बताइन्।
'शव पनि आउन ६ महिना लाग्यो। उनको साउदीमै हत्या भएको हो। परराष्ट्र धाउँदा रकम पाउनुहुन्छ भन्छन्,' सामान्य लेखपढ गर्न पनि नजान्ने विष्णुमाया भन्छिन्, 'तर तीन वर्ष बित्यो, रकम पाइनँ।' ज्यालादारी गरेर परिवार चलाउँदै आएकी उनी आर्थिक अवस्था कमजोर भएकाले बालबच्चा पढाउनसमेत समस्या भएको बताउँछिन्।
धन कमाउन गएका पतिको हत्या भएपछि उनको परिवार विचल्लीमाछ। 'श्रीमान्को मृत्युपछि बिहान-बेलुकाको गर्जो टार्न हम्मे छ,' उनले भनिन्, 'आम्दानीको स्रोत नभएपछि छोराछोरी पढाउन पनि समस्या आयो।'
नेपाल सरकार र बिमाबापत आउने रकम नपाए पनि कविराज कार्यरत कम्पनीले करिब दुई लाख रुपैयाँ उनको परिवारलाई पठाएको थियो। हत्याको आरोप लागेका परियारकै नाता पर्ने बाग्लुङ धुल्लुबाँस्कोट-३का ख्यामबहादुर परियारसमेत चार वर्षदेखि घर आउन पाएका छैनन्।
कविराजको मृत्युपछि चार जनामाथि साउदीकै अदालतमा मुद्दा दायर भएको थियो। हत्यामा संलग्न हुनुपर्ने कुनै कारण नभएको भन्दै छुटाकारा दिन ख्यामबहादुरकी पत्नी मीनाले आग्रह गरेकी छन्।
मृतककी पत्नी विष्णुमायालाई लिएर बाग्लुङ सदरमुकाम आएकी मीनाले आफ्नो पतिलाई स्वदेश फर्काउने वातावरण मिलाइदिन आग्रह गरिन्। आफ्नो पतिको हत्यामा ख्यामबहादुरको हात नभएको बिष्णुमाया बताउँछिन्। साउदीको अदालतले भने मुद्दाको फैसला नहुँदासम्म घर नर्फिन ख्यामबहादुरलाई निर्देशन दिएको छ। बाग्लुङ आइपुगेका उनीहरूले काठमाडौं पुगेर परराष्ट्रसँग अनुरोध गर्ने बताए।
No comments:
Post a Comment