Sunday, September 30, 2012

‘राष्ट्रपति विरुद्ध धम्कीको भाषामा टिकाटिप्पणी गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन'

१४ असोज, काठमाडौ । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले
प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो पदीय मर्यादा विपरित संवैधानिक
राष्ट्रपति बिरुद्ध अभिव्यक्ति दिन नहुने बताएका छन् ।
नेपाल प्रेस युनियनको उपत्यकास्तरीय भेलाको आज राजधानीमा उद्घाटन गर्दै
देउवाले राष्ट्रपति विरुद्ध जथाभावी टिकाटिप्पणी गर्ने अधिकार
प्रधानमन्त्री भट्टराईमा नहरेको बताए । उनले भने, 'राष्ट्रपति विरुद्ध
धम्कीको भाषामा टिकाटिप्पणी गर्ने अधिकार प्रधानमन्त्री बाबुराम
भट्टराईलाई छैन ।'
'एकीकृत माओवादीको चरित्र धम्काएर राजनीति गर्ने हो,' नेता देउवाले भने,
'एमाओवादी र प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपतिलाई धम्काउने र
त्रसाउने कार्य अविलम्ब रोक्नु पर्छ ।'
एमाओवादीले नयाँ संविधान बनाउँनै नचाहेको नेता देउवाको आरोप छ । उनले
भने, 'सत्तामा बसिरहन एमाओवादीले संविधानसभाबिघटन गराएको हो ।'
एमाओवादी र प्रधानमन्त्री भट्टराईले राष्ट्रपतिको कटु आलोचना गरिरहेका
समयमा कांग्रेस नेताहरुले विरोध जनाएका हुन् ।
कांग्रेस नेता देउवाले अझै पनि एकीकृत माओवादी प्रजातान्त्रिक पद्धतिमा
रुपान्तरित भईनसकेको बताए ।
संविधानसभा पुनःस्थापनामा जोडदिएका उनले अन्तरिम संविधान संशोधन गरेर
नयाँ निर्वाचनमा जानका लागि पनि पुनःस्थापना आवश्यक रहेको बताए ।
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री बाबुराम
भट्टराईलाई सत्ता चलाउन अवश्यक पर्ने चाबी राष्ट्रपति समक्ष पुगेको दावी
गरे ।
'प्रधानमन्त्री बाबुराम भट्टराईले सत्ता चलाउने चाबी अन्यत्रै छ भन्नु
गलत हो,' उनले भने, 'चाबी कतै गएको छैन, राष्ट्रपति समक्ष पुगेको छ,
डराउनु पर्दैन ।' आवश्यक पर्दा राष्ट्रपतिले सो चाबीले मुलुकलाई निकास
दिने महामन्त्री सिटौलाको भनाई थियो ।
कुर्सीका लागि एकीकृत माओवादीले संविधानसभा विघटन गराएको सिटौलाको आरोप
थियो । 'एमाओवादी नयाँ संविधान बनाउन चाहँदैन,' उनले भने, 'सत्ता जोगाउन
एमाओवादीले जानिबुझिकनै संविधानसभा विघटनगराएको हो ।'
सहमतिमा नयाँ संविधान बनाउने तर्फ एमाओवादी र प्रधानमन्त्री भट्टराई नआए
पूर्व राजा ज्ञानेन्द्र शाहकै हविगति हुने चेतावनी दिए ।
Comments:

No comments:

Post a Comment