(समाचार टिप्पणी) २६ भदौ, काठमाडौं । बेरोजगार, भ्रष्टाचार, महंगी,
कुशासन, ढिलासुस्ती जस्ता समस्या एक प्रकारले देशको रोग नै भैसक्यो ।
सीमा अतिक्रमण, विदेशी हस्तक्षेप, सन्धी सम्झौतादेखि शान्ति र संविधानमा
आलटाल तथा अन्योललाई पनि रोगकै रुपमा चित्रण गर्न सकिन्छ । यीमध्ये धेरै
सरुवा र दीर्घरोग हुन् । एन्टिबायटिक, सूई या शल्यक्रिया गरेर यी रोग
अहिलेको अहिल्यै उतिखेरै च्वाट्ट पार्न नसकिने रहेछ । देशका सबै समस्या
अर्थात रोग निको पार्ने म नै हुँ भनेर वर्षदिन अघि प्रधानमन्त्री भएका
डाक्टरको हालत पनि त पहिलेका अरु भन्दा फरक देखिएन । त्यसैले सबैले
बुझिसके देशमा बल्भिmएका रोग छुमन्तर गरेर निको पार्ने तागत न वैद्यसित
छ, न डाक्टरसित । यो कुरा बुझेरपनि अहिलेको अहिल्यै निको पार्नुपर्यो
भनेर वैद्यले रोगको सूची डाक्टरको अघिल्तिर राखे भने यसलाई के भन्ने ?
अहिले भएको छ यस्तै ।
हो, मोहन बैद्य र डाक्टर बाबुराम भट्टराई । विपक्षीमा बसेर कराउन जति
सजिलो हुन्छ, सरकारमा गएर गर्न कता हो कता गाह्रो हुने रहेछ । सबैले
जस्तैभट्टराईले पनि राम्रैसँग अनुभव गरेको कुरा हो यो । सडकमा हुँदा जे
माग राख्दा पनि हुन्छ । सडकमा हुँदा कराउने मात्र हो, गर्न पर्दैन । २०५२
सालमा वैद्य र डाक्टर सँगै थिए, सडकमा । त्योबेला उनीहरुले मिलेर देशमा
बल्झिएका रोगको सूची बनाए । ४० बुँदामा उल्लेख भएका रोग छूमन्तर गरेर
निको पार्न पर्यो भन्दै उतिबेलाका प्रधानमन्त्रीलाई बुझाए । तर परिस्थिति
अहिलेको भन्दा जटिल थियो त्योबेला । अहिले त सजिलै गर्न नसकिएको कुरा
ऊबेला छुमन्तर गरेर गर्न सक्ने कुरै थिएन । सरकारले रोग निको पारेन भन्दै
डाक्टर, वैद्य सँगै जंगल पसे । देशको रोग निको पार्ने बुटी खोजेजस्तो गरी
१० वर्षसम्म जंगलमै बसे । रोग निको पार्नुपर्छ भन्ने उनीहरुको भनाई जायज
थियो । उपचार विधि पनि धेरैलाई मन परेकै हो ।
रोग निको पार्ने अचूक उपाय खोज्दै १० वर्ष भूमिगत बसेका उनीहरुलाई समय र
परिस्थितिले खुला बनायो । पहिले रोगको सूची जहाँ बुझाएको हो, त्यहीँ
बस्ने अवसर जुरायो । अर्थात रोग निको पार्ने ठाउँमै पुगे उनीहरु । आफूले
पहिले भनेका र अरु जल्दाबल्दा रोग निको पार्न उनीहरु कस्सिए पनि । तर
भन्नजस्तो गर्न सजिलो थिएन । त्यही भएर छुमन्तर गरेर उपचार गर्न न
बैद्यले सके, न डाक्टरले ।
अहिले डाक्टर गर्नुपर्ने ठाउँमा छन्, बैद्य भन्दा मात्रै हुने ठाउँमा ।
आफ्नो अस्तित्व देखाउनकै लागि उनै डाक्टरलाई वैद्यले फेरि रोगको सूची
थमाएका छन् । छिटै निको भएन भने पहिलेकै बाटो रोजिन्छ भन्ने चेतावनी पनि
दिइसकेका छन् ।
भनेजस्तो सजिलो भए पो ?
भनेजस्तो हुने भए डाक्टर भट्टराईले अहिलेसम्म के के मात्र गर्दा हुन् ।
जनताको लागि केही न केही न केही गर्न खोज्ने उनले पक्कै देशलाई रामराज्य
बनाउँथे । गरिबी, महंगी, बेरोजगार, भ्रष्टाचार, कुरिती सबै निमिट्यान्न
हुन्थ्यो । राहत र सहुलियतले जनताले सुख पाउँथे । शान्ति प्रकृया
टुंगिसक्थ्यो । संविधान बनिसक्थ्यो । छिमेकी देशसितको समस्या
सुल्भिmसक्थ्यो । सोचेजस्तो गर्न सजिलो भएको भए ऊबेला आफैंले राखेको माग
फेरि वैद्यहरुबाट किन बुझ्न पथ्र्यो र डाक्टरलाई ।
तर गर्न खोजेर पनि डाक्टरले पूरा गर्न सकेका छैनन् । महंगी नियन्त्रणको
लागि उनले सम्बन्धित निकायलाई निर्देशन दिएकै छन् । राहत र सहुलियतको
लागि बेलाबेला कार्यक्रम घोषणा गरेकै छन् । तर एक्लो प्रयासले केही
हुँदैन । सबै प्रशासनिक ठाउँलाई चुस्त र दुरुस्त बनाउनुपर्छ । अहिले नै
सबै कुरो नमिलेकोले भट्टराईले चाहेर पनि गर्न नसकेका हुन् । जुन कुरा
छर्लंङ छ ।
सबै रोग अहिले नै निको पार्नुपर्छ भनेर वैद्यहरुले बुझाएको सूची हातमा
लिँदै गर्दा पनि भट्टराईले सबै कुरा सकारात्मक भएपनि सबै अहिले नै
च्वाट्ट पार्न नसकिने बताए । भट्टराईको ठाउँमा वैद्य भएका भएपनि हालत यही
हो । अहिले नै देशलाई रामराज्य बनाउन सक्ने खुबी कसैसित पनि छैन ।
बिस्तारै बिस्तारै हुँदै जाने हो । उतिखेरै च्वाट्ट हुने हो भने त
वैद्यहरुले पनि त गर्न सक्नुपर्ने नि । लोकतन्त्र स्थापनापछि पटकपटक
मन्त्री भएका र शक्तिशाली ठाउँमा पुगेका वैद्यका वरिपरी नै छन् क्यारे ।
वैद्यले डाक्टरलाई छिटो निको पार्नु भनेको यी रोगबाट सबै नेपाली पीडित
छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविका शीर्षकमा सूचीकृत रोग कुनै जटिल
छन्, कुनै सरुवा । रोग निको पार्नुपर्छ भन्नेमा सबैको एकमत हो । तर
वैद्यले भनेजस्तो अहिलेको अहिल्यै निको हुन त कसरी सक्ला । डाक्टरले त
अहिल्यै सक्दिन भनिसके । डाक्टरको ठाउँमा वैद्य पुगेका भए पनि यसै भन्थे
। सबैलाई थाहा भएकै कुरा । रोग निको पार्ने अचुक उपाय डाक्टर र
वैद्यहरुसँगै छ । मिलेर गरे भने ढिलोचाँडो निको होला । यसैगरी निउँ खोजेर
हानथाप गरिरहे भने चाहिं हालत उस्तै हो ।
No comments:
Post a Comment