दोलखा, भदौ १७ - माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले वैदेशिक रोजगारीका नाममा चेलीबेटी बेचबिखन बढ्दै गएकोबताएकी छन्। कोइरालाले त्यसरी दलालको भरमा विदेश पुग्ने नेपाली चेलीबेटी धेरैजसो सामूहिक बलात्कारको शिकार हुने गरेको बताइन्।
लोकतान्त्रिक युवा सञ्जाल दोलखाले कोइरालाको सम्मानमा आज दोलखा सदरमुकाम चरिकोटमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भनिन्, "केही वर्षयता वैदेशिक रोजगारीको नाममा चेलीबेटी बेचबिखन र यौन शोषणका घटना बढ्दै गएको छ।"
राम्रो कमाई हुने प्रलोभन देखाएर नेपाली चेलीलाई खाडी क्षेत्रमा पुर्याउने दलाल सक्रिय रहेको उनको भनाइ छ।
अहिले सातामा ५ देखि ६ जना नेपाली चेली विदेशबाट मानसिकरुपमा विक्षिप्त र शारीरिक रुपमा कमजोर भएर फर्किने गरेको जानकारी कोइरालाले दिइन्। उनले माइती नेपालले अहिलेसम्म बेचबिखनमा परेका २० हजार चेलीको उद्धार गरेको र ८६८ दलाललाई कानुनको कठघरामा उभ्याएर कारबाही गराएको बताइन्।
चेलीबेटी बेचविखन विरुद्ध साताव्यापी कार्यक्रम लिएर दोलखा आएकी कोइरालालाई लोकतान्त्रिक युवा सञ्जाल दोलखाले अभिनन्दन गरेको हो। रासस
No comments:
Post a Comment