Friday, August 17, 2012

आयल निगमको घाटा ४१ करोड पुग्यो

काठमाडौं, भदौ १ (नागरिक)- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि आयल निगमको घाटा ४१ करोड नाघेको छ। इन्डियन आयल कर्पोरेसन(आइओसी)ले अगस्ट १६मा पठाएको मूल्यअनुसार निगमको घाटा २४ करोड थपिएर ४१ करोड पुगेको हो। अगस्ट १ को मूल्यमा निगमलाई १६ करोड ४७ लाख घाटा थियो।
अगस्टमा आइओसीले डिजेल र पेट्रोलको मूल्यमात्रै पठाउँछ। नयाँ मूल्यअनुसार डिजेलको घाटा बढेर एक लिटरमा ८ रुपैयाँ १३ पैसा पुगेको छ।
यसअघि निगमलाई एक लिटरमा ५ रुपैयाँ १४ पैसा घाटा थियो। नयाँ मूल्यमा निगमलाई पेट्रोलमा भएको नाफा खुम्चिएर एक लिटरमा ३ रुपैयाँ ३६ पैसामा कायम भएको छ। यसअघि निगमलाई पेट्रोलमा ७ रुपैयाँ ३९ पैसा नाफा थियो। निगमका अनुसार आइओसीले पठाएको नयाँ मूल्य अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल प्रतिब्यारल १ सय ६ अमेरिकी डलर हाराहारीको हो।
'अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेकाले निगमको घाटा बढेको हो। नयाँ मूल्यले निगमलाई थप समस्यामा पारेको छ,' निगमका निर्देशक सुशील भट्टराईले बिहीबार नागरिकसँग भने, 'सेप्टेम्बरमा आउने मूल्यले निगमलाई अझ संकटमा पार्नेछ।' नयाँ मूल्यले पेट्रोलको नाफा६ करोड ८५ लाखले खुम्चिएको छ भने डिजेलको घाटा १७ करोड ६७ लाख घाटा बढेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ। बिहीबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल १ सय १६ डलर कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्ने अवस्था छैन।
भट्टराईका अनुसार अगस्टमा खाना पकाउने ग्यासको मूल्य बढ्ने भएकाले घाटा अझ बढ्नेछ। 'अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढिसकेको छ। सेप्टेम्बरको मूल्य आउँदा निगमको घाटा अझै बढेर आधा अर्ब नाघ्नेछ,' उनले भने।
आइओसीले पठायो पत्र
आइओसीले जुलाई महिनामा रहेकोबक्यौता रकम तत्कालै तिर्न आयल निगमलाई पत्र पठाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य कम भएर निगम तीन वर्षपछि नाफामा गएकाले बढी तेल ल्याएको थियो। उक्त अवधिमा निगमले २ अर्ब भन्दा बढी रकमको तेल ल्याएर भण्डारण गरेको थियो।
'जुलाई महिनामा हामी नाफामा गएकाले भारतबाट धेरै तेल ल्याएका थियौं। धेरै तेल ल्याएकाले आइओसीलाई २ अर्बभन्दा बढी बक्यौता तिर्नबाँकी थियो,' भट्टराईले भने, 'त्यसको रकम अहिलेसम्म तिर्न नसकेर आइओसीले पत्र पठाएको हो।' निगमले जुलाई महिनामा २९ हजार किलोलिटर तेल स्टक गरेको थियो। ९ हजारमा रहेको निगमको स्टक बढाएर २९ हजार पुर्‍याएकोले बक्यौता बढेको हो। निगमको अहिलेको स्टक बढेर ३७ हजार किलोलिटरभन्दा बढी छ।
'नाफामा गएको बेलामा तेल ल्याएकाले निगमलाई नाफै छ। तर तेल ल्याएर बिक्री गर्न नसकेकाले रकम तिर्न नसकेका हांै,' उनले भने। निगमले भ्याट फिर्ता वापतको रकम अहिलेसम्मपाउन सकेको छैन जसका कारण बक्यौता रकम तिर्न सकेको छैन। ठूला करदाताबाट पाउनुपर्ने भ्याट फिर्ता वापतको रकम नपाउँदा समस्या भएको हो।

No comments:

Post a Comment