Sunday, August 19, 2012

लोडसेडिङ अझै बढ्ने ?

३ भदौ, काठमाण्डौं । लोडसेडिङको समय घट्ने आशामा रहेका बिजुलीका उपभोक्ताले वर्षायाम नसकिँदै इन्भर्टर र ऊर्जाका वैकल्पिक स्रोतलाई दुरुस्त राख्नुपर्ने भएको छ। घोषित रुपमै दैनिक पाँच घन्टालोडसेडिङ भइरहेको अवस्थामा प्राधिकरणले अघोषित रुपमा समय बढाएको छ। ‘पूर्वाञ्चल भारतबाट आउने बिजुली आधाले कटौती भएकाले लोडसेडिङको नयाँ तालिका ल्याउँदैछौं,’ प्राधिकरण प्रणाली सञ्चालन विभागका प्र्रमुख भुवनकुमार क्षेत्रीले भने।
भारतबाट ल्याएर मेची र कोसी अञ्चलमा विद्युत आपूर्ति हुँदै आएकोमा अहिले आधा कटौतीभएको छ। ६५ मेगावाट बिजुली भारतबाट आयात भइरहेकोमा अहिले ३० मेगावाटमा सीमित भएकाले लोडसेडिङ तालिका प्रभावित भएको छ।
गत वर्ष यो समयमा दैनिक दुई घन्टामात्र लोडसेडिङ थियो। यसपटक बिहान र बेलुकी गरी पाँच घन्टाबाट घटेको छैन। ‘अब पाँच घन्टाबाट लोडसेडिङ घट्दैन होला,’ क्षेत्रीले भने। गत वर्षको भन्दा यो वर्ष मनसुनी वर्षा निकै कम भएको र मागसमेत बढेको हुँदा लोडसेडिङ पाँच घन्टाबाट नघट्ने भएको खबर नागिरक दैनिकले छापेको छ ।
प्राधिकरणका अनुसार हरेक वर्ष विद्युतको माग सामान्य अवस्थामै एक सय मेगावाटको दरले बढ्छ। नयाँ कलकारखाना स्थापना नभए पनि घरायसी प्रयोगकै लागि एक सय मेगावाटका दरले बिजुलीको उत्पादन बढ्छ। क्षमता भने गएको एक वर्षमा सात मेगावाटमात्र थपिएको छ।
लोडसेडिङ नघट्नुको अर्को कारण विद्युतको सबैभन्दा ठूलो ‘ब्याकअप’ मानिएको कुलेखानीको जलाशय नभरिनु हो। गत वर्ष साउनमै पूरा जलाशय भरिएर बालुवा भरिएका बोरासमेत राखेर पानी रोकिएको थियो। त्यही पानीले गर्दा पनिहिउँदमा लोडसेडिङ १२ घन्टामा सीमित राख्न प्राधिकरण सफल भएको थियो।
प्राधिकरणका अनुसार यो वर्ष कुलेखानीको जलाशय भरिन पानीको सतह अझै ८ मिटर बढ्नुपर्छ। भदौ लागेपछि जलाशय भरिने गरी पानी पर्ने सम्भावना रहँदैन। यो वर्ष वैशाखदेखि नै देशभरि वर्षा औसतभन्दा ज्यादै कम भएको छ। गत वर्षहरुमा जेठदेखि नै लोडसेडिङलाई प्राधिकरणले नियन्त्रणभित्र राख्ने गरेकोमा यसपटक मध्य वर्षामा पनि पाँच घन्टाबाट घटाउन नसक्नुले सरकार र प्राधिकरणले अहिलेदेखि नै तयारी नगरे हिउँदमा बिजुलीको ठूलो हाहाकार हुने भएको छ।

No comments:

Post a Comment