Monday, August 27, 2012

सडकबाट कराउँदैमा राजीनामा आउँदैन : मन्त्री पुन

गजेन्द्र बोहरा, दाङ, भाद्र ११ - एकिकृत माओवादीका नेता तथा अर्थमन्त्री वर्षमान पुनले राजनीतिक सहमति विना प्रधानमन्त्रीको राजिनामा आउने कुनैसम्भावना नभएकाले सहमति विनै वर्तमान सरकारको विकल्प खोज्नु निरर्थक हुने बताएका छन्। अहिले विपक्षी दलहरुले सडकबाटै प्रधान मन्त्रीलाई हटाउने बताएपनि त्यो सम्भव नभएको भन्दै पुनले भने, 'त्यो प्रयास निरर्थक हुनेछ ।
सहमति विना कसैले सडकबाट सरकार फाल्छु भन्दैमा यो सरकार फालिन्न।' क्रान्तिकारी पत्रकार संघ दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान सरकार परिवर्तनका लागि सहमति जुटाउन विपक्षी दलहरुलाई आग्रह गरे।
उनले दलहरुबीच संविधानका अन्तरवस्तुहरुमा सहमति भएमा मात्रै सरकार परिवर्तन हुनेदावी गरे। 'विपक्षी दलहरुले पहिला संविधानका अन्तरवस्तुमा सहमति जुटाउनु पर्यो अनि बल्ल सरकार परिवर्तन हुन्छ । सहमति पनि नगर्ने , राजीनामा भनेर सडकमा कराउँदैमा राजीनामा आउँदैन।'
वर्तमान सरकार जनताको म्याण्डेड प्राप्त सरकार भएको भन्दै पुनले आगामी दिनहमा बन्ने प्रधान मन्त्रीहरु 'टिके' प्रधान मन्त्री बन्ने जिकिर गरे। उनले संविधानका अन्तरवस्तुमा सहमति भए सरकारको नेतृत्व कांग्रेसले गर्दैमा माओवादीलाई कुनै आपत्ति नहुने वताए। मन्त्री पुनले विपक्षी दललाई सरकार भन्दा संविधानका सवालमा बढी गम्भीर हुन सुझाव दिए।
'अहिले संविधानको सवालमा बढी जिम्मेवार बन्ने बेला हो। तर विपक्षी दलहरु संविधान भन्दा सरकारको मुख ताकिरहेका छन् । यो पक्कै उचित काम हैन,' उनले भने ।' त्यस्तै उनले अध्यादेशको विषयमा सबै दलहरुसँग न्युनतम सहमति गरेर राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी भइरहेको जानकारी दिए। केहि पार्टीहरुले गोलमेच सम्मेलन गरेर पूर्व राजा ज्ञानेन्द्रलाई पुनः फर्काइ देशलाई पश्चगमनतर्फ लग्ने षड्यन्त्र गरिरहेको भन्दै उनले त्यो आफूहरुलाई मान्ने नहुने बताए।

No comments:

Post a Comment