Monday, August 27, 2012

सहमति नभए सैनिक शासन : पाण्डे

भीम चापागाईं, इलाम, भदौ ११ - नेकपा एमालेका पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेले दलहरुबीच सहमति नभए देशमा सैनिक शासन लागू हुनसक्ने खतरा औंल्याएका छन्। उनले सवै संवैधानिक निकायहरुको आयु सकिन लागेकाले कानुनीरुपमा सैनिक मात्रै रहने भन्दै सेनाबाहेक अरुले शासन गर्न नसक्ने अवस्था आउने बताए।
नेकपा एमाले इलामले आज सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा पाण्डेले भने, 'न्यायाधीशहरुको पदावधि पनि सकिँदैछ। प्रधानमन्त्रीको त सकिएकै हो। राष्ट्रपतिको पनिभरपर्दो आयु छैन। त्यही भएर सेनाबाहेक अरुहरु वैधानिक नहुने अवस्था आउँदैछ।'
देशलाई यो खतराबाट बचाउन पनि दलहरुबीच सहमति आवश्यक रहेको उनले बताए। पाण्डेले एमाले र माओवादीले सरकारको नेतृत्व गर्न कांग्रेसलाई आग्रह गरिरहे पनि कांग्रेसले प्रधानमन्त्रीको नाम दिन नसक्नुमा सहमति अडि्कएको बताए। उनले भने 'एमाले र माओवादीले प्रधानमन्त्री छोडिदिँदा पनि नाम दिन नसक्ने कांग्रेसमा के छ त्यस्तो असहमति भन्ने हामीलाई अचम्मै लागिरहेको छ।'
माओवादीले सहमति भए सरकार आजै छाड्छु भन्नु उसको वाहाना मात्रै भएको आरोप लगाउँदै पाण्डेले माओवादी पनि सरकार टिकाउने खेलमै लागिरहेको बताए।

No comments:

Post a Comment