Saturday, July 21, 2012

प्रचण्ड र बाबुरामको सम्पत्ति पार्टीलाई

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुसहित दुई उपाध्यक्षसँग रहेको सम्पत्ति पार्टीलाई बुझाउने घोषणा गर्नुभएको छ ।
पार्टीको सातौं विस्तारित बैठकको शनिबार समापन गर्दै माओवादी अध्यक्ष प्रचण्डले आफ्नो र उपाध्यक्ष द्धय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाशको चलअचल सम्पत्ति पार्टीलाई बुझाउने घोषणा गर्नुभयो । केन्द्रमा आर्थिक समिति र लेखा समिति बनाउने र उक्त आर्थिक समितिमार्फत सवै वितरण गर्ने प्रचण्डको भनाई छ । हाल चढ्दै आएको महंगो गाडी र बस्दै आएको लाजिम्पाटस्थित डेरा पनि छोड्ने घोषणा गर्दै उहाँले पूर्व प्रधानमन्त्रीलाई सरकारले दिने सुविधा मात्र उपयोग गर्ने बताउनुभयो ।
वैठकपछि केन्द्रीय सदस्य महेश्वर गहतराजले पार्टीको सबै कारोबार आर्थिक समितिबाट हुने र नेताहरुले रकम लिँदा माग फारम पेश गर्नु लिनु पर्ने व्यवस्था बसाल्न लागिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो-’अहिले इन्चार्ज खल्तीबाट पैसा दिए जस्तै हुने गरेको छ । त्यसलाई अन्त्य गर्दै सबै आर्थिक कारोबार आर्थिक समितिबाट हुन्छ । अब प्रचण्डलाई नै रकम चाहियो भने पनि माग फारम भनेर लिने व्यवस्था गर्न खोजिएको हो ।’
कर्मचारी साटफेरको घोषणा !
गुटबन्दी अन्त्यको सन्देश दिन माओवादी अध्यक्ष दाहाल प्रचण्ड र उपाध्यक्ष डा. भट्टराईले आफ्नो सहयोगीहरु एकअर्कामा साटफेर गर्ने घोषणा गर्नु भएको छ । ‘अध्यक्षले सचिवालयहरु पुनर्गठन गर्दा गुट अन्त्य हुने भावनात्मक आधार दिन सचिवालय एक अर्कामा लिने घोषणा गर्नु भएको हो’-नेता गहतराजलेभन्नुभयो ।
पार्टीमा गुटबन्दी अन्त्य भएको घोषणा व्यवहारमादेखाउनु पर्ने भन्दै बैठकमा सहभागी कार्यकर्ताले प्रचण्डका सल्लाहकार हरिबोल जगुरेललाई बाबुरामको र बाबुरामका सल्लाहकार देवेन्द्र पौडेलालाई प्रचण्डको सल्लाहकार बनाउन सक्छौं भन्ने प्रश्न गरेका थिए । गुट अन्त्यको घोषणा गर्दै सुरु भएको बैठकमा मध्यतिर शीर्ष नेताहरुमाथि आक्रमणको अवस्थामा पुगेपछि कार्यकर्तामा छाएको निरासा मेट्न पनि यस्तो घोषणा गरिएको एक नेताले बताए । बैठक सकेर बाहिरिने क्रममा कार्यकर्ताले प्रचण्डको घोषणालाई हाँसेर उडाएका थिए भने सचिवालयका कर्मचारी ‘आज कता जाने हो’ भन्दै मजाक गरिरहेका देखिन्थे ।
माघभित्र महाधिवेशन
प्रचण्डले आगामी माघभित्र महाधिवेशन गर्ने घोषणा गर्दै वर्तमान स्थायी समिति, पोलिटव्युरोलाई भंग गर्नुका साथै केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समिति बनाएको घोषणा गर्नुभयो । अब अध्यक्ष, उपाध्यक्ष र सचिव रहने केन्द्रीय कार्यालय रहने छ भने महाधिवेशन आयोजक समितिमा आदिवासी जनजाति, दलित, महिला, मुस्लिम लगायतका प्रतिनिधी र राज्य समितिहरुमा रहेका सिनियर नेताहरु थपिनेछन् । यसैगरि सवै राज्य र जिल्ला समितिहरुलाई सम्मेलन आयोजक समितिमा परिणत गरिएको छ ।
माओवादी पार्टी गठन भएयता एक पटक पनि महाधिवेशन हुन सकेको छैन् । पार्टीको २५ वर्षे जीवनमा पहिलो पटक हुन लागेको भनिएको आगामी महाधिवेशनको मिति भने तोकिएको छैन् । प्रचण्डले सबै राज्य समितिका इन्चार्ज, सहइन्चार्ज र सक्रेटरीको सरुवा गर्ने समेत बताउनु भयो ।
सरकारको प्रतिरक्षा
आफ्नै कार्यकर्ताले भट्टराई नेतृत्वको सरकारले गरेका कामको तिब्र आलोचना गरेपनि अध्यक्ष प्रचण्डले भने प्रधानमन्त्री र सरकारका कामको बचाउ गर्नुभयो । प्रधानमन्त्रीले सवै काम आफुसँगको सल्लाहमा गरेको भन्दै प्रचण्डले विप्पा सम्झौता, सेना समायोजन लगायतका निर्णय सही भएको बताउनुभयो । दस्तावेजमा प्रधान सत्रुबारे मौन रहेको भन्ने कार्यकर्ताको आक्रोशको जवाफ दिंदै प्रचण्डले पार्टी सरकारमा पनि भएकाले कूटनीतिक ढंगले समस्या समाधानका लागि पहल गर्नुपर्ने बताउनुभयो । सरकारले केही पनि गर्न नसकेको भन्ने कार्यकर्ताको आरोपको जवाफ दिंदै प्रचण्डले भन्नुभयो-’ म पनि प्रधानमन्त्री भएकै हुँ, त्यहाँ बसेर धेरै गर्न सकिदैन्थ्यो, सकेजति गर्नलाई सरकारले प्रयत्न नगरेको हैन् ।’
विस्तारित बैठकले सहमतिका लागि राजनीतिक दलहरु तत्काल छलफल थाल्ने निर्णय गरेको छ । माओवादी अध्यक्ष प्रचण्डले दलहरुबीच सहमति नबनेसम्म सरकार नछाड्ने बताउनु भयो । संविधानसभाबाटै संविधान बनाउनु पर्ने भन्दै प्रचण्डले संविधासभा निर्वाचनका लागि सहयोग गर्न दलहरुलाईआहृवान गर्नुभयो ।

No comments:

Post a Comment