कलेन्द्र सेजुवाल, सुर्खेत, साउन ६- पार्टी फुट्नुअघि निर्माण भएको पार्टी कार्यालय भवन स्वामित्वको विषयलाइ लिएर दुइपक्षबीच भिडन्तमा उत्रिएका छन्। शनिबार दिउँसो करिब १ बजे नेकपा-माओवादीले पुरानै भवनमा साइनबोर्ड झुण्ड्याएर पार्टी कार्यालयको उद्घाटन गरे पनि त्यसको दुई घण्टा नबित्दै एकीकृत माओवादी पक्षले बोर्ड हटाएपछि टक्करको स्थिति बनेको हो।
दिउँसो ३ बजे एकीकृत माओवादी कार्यकर्ताले साइनबोर्ड भूइँमा मात्र खसालेनन्, ढुंगा प्रहार गर्दै आफैसँग लिएर गए। ‘पार्टी नै छोडेर हिँडेपछि किन आएर साइनबोर्ड राख्ने?' साइनबोर्ड खसालेपछि आक्रोश पोख्दै एकीकृत माओवादी कार्यकर्ता प्रताप पौडेलले भने, ‘अब कोही यहाँ आउन खोज्छ भने उसले एकीकृत माओवादीको बिचार बोकेर आउनु पर्छ।' उनले साइनबोर्ड झार्नुका साथै नेकपा-माओवादीले मूलगेटमा लगाएको ताला पनि ढुंगाले फोडे।
नेकपा-माओवादीले भवन निर्माणमा दुवै पक्षको बराबर योगदान रहेकोले स्वामित्व बाँडिनुपर्ने जिकिरसहित कार्यालय उद्घाटन गरेको हो।
No comments:
Post a Comment