समुन्द्र पौडेल, तनहुँ, साउन ७- भक्तपुर क्यान्सर अस्पतालमा बिरामी ससुराको मृत्युपछि आइतबार साँझ यज्ञकुमारी भट्टराई उदयपुरको फोक्साबाट काठमाडौं जान गाडी चढिन्। उनी चढेको ना२ख ४९५१ नम्बरको ओखलढुंगा यातायातको बस सोमबार बिहान कृष्णभीरबाट त्रिशूलीमा खस्यो। दुर्घटनामा १६ जनाको मृत्यु भयो, १५ जना घाइते भए। थुप्रै यात्रुअझै हराइरहेका छन्।
उदयपुरको कटारीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको खबर सुनेलगत्तै यज्ञकुमारीका दाजु लोकबहादुर कार्की सोमबार दिनभर घटनास्थलमाभौंतारिए। 'दिनभर घटनास्थलमा खोजी गर्दा उनको ह्यान्डब्याग मात्र फेला पर्यो ,' लोकबहादुरले भने, 'दिनभर खोज्दासमेत नभेटेपछि प्रहरीमा निवेदन दिएर फर्कियौं।' निवेदन बुझाएको साता बितिसक्दा पनि उनले बहिनीको केही अत्तोपत्तो पाएका छैनन्।
ह्यान्डब्यागमा यज्ञकुमारीको नागरिकता, मोबाइल र केही पैसा भेटिएपछि बहिनी दुर्घटनामा परेको पुष्टि भएको उनले बताए। 'सबै परिवार अहिले बहिनीको ससुराको किरियामा जुटेका छौंं, यताको काम सकेर बहिनीको खोजीमा जुट्ने सल्लाह भएको छ,' उनले भने, 'प्रहरी खोजी जारी छ भन्छ, एक साता बितिसक्यो तर आज (शनिबार) सम्म केही खबर आएको छैन।'
बस खसेपछि त्रिशूलीमा बेपत्ता भएको भन्दै १५ यात्रुका नाममा आफन्तले प्रहरीमा निवेदन दिए पनि प्रहरीले अहिलेसम्म कसैलाई फेला पार्न सकेको छैन। '१५ भन्दा बढी यात्रु नदीमा हराइरहेका छन्, तर राज्यलाई यसप्रति कुनै चासो छैन,' उनले भने,'सरकारलाई राजनीति गर्न पाए हुँदोरहेछ।'
गत वर्ष कटारीबाटै काठमाडौं जाँदै गरेको लालिमा यातायातको बस त्रिशूलीमा खस्दा हराएका छिमेकीकोसमेत अहिलेसम्म केही पत्ता नलागेको उनले बताए। स्वर्गीय आमाको ४५ दिने काजका लागि काठमाडौं हिँडेका विपीन कोइराला पनि दुर्घटनापछि बेखबर छन्। खोजीका लागि निवेदनमा दिए पनि प्रहरीको काम देखेर छक्कै परेको दाजु दीपकले बताए। 'प्रहरीले चासो लिएको भन्ने कि लिएन भन्ने!' उनले प्रश्न गरे, 'त्यत्रा मान्छे हराउँदा एक सातासम्म एकजना पनि फेला नपर्ने कस्तो खोजी हो?' प्रहरीले नदीभित्र भए २/४ दिनमा पानीले बाहिर निकाल्ने आश्वासन दिएको उनले बताए। उनले भने, 'त्यत्रा मान्छे हराउँदासमेत राज्यले खोजबिनको पर्वाह गरेन।'
जन्डिस बल्भि्कएपछि उपचारका लागि काठमाडांै हिँडेका ओखलढुंगाका डिल्लीराम राई पनि त्रिशूलीमै बेपत्ता छन्। टिकटका आधारमा त्यही बसमा चढेको प्रमाणित भए पनि अहिलेसम्म केही पत्ता नलागेको उनका मावलीतिरका दाइ खेमराज राईले बताए। 'टिकटबाट भान्दाइ त्यही बसमा चढेको प्रमाणित भयो,' उनले भने, 'खोजी गर्दा नभेटेकाले प्रहरीमा निवेदन दियौं, सातासम्म केही खबर आएको छैन।'
दुर्घटना भएकै दिनदेखि लगातार नदीकिनारमा खोजी गरिए पनि बेपत्ताहरु फेला नपरेको इलाका प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक विनोद घिमिरेले बताए। 'घटनाको दिन नदीको बहाब बढी भएकाले बगाएको हुन सक्छ,' उनले भने, 'नदीका दुवै किनाराबाट पैदल गस्तीमार्फत खोजी गरिरहेका छौं।' उद्धार तालिम र आवश्यक सामग्री नभएकाले प्रहरीले उद्धार गर्न नसकेको स्थानीयको भनाइ छ।
नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी गण विपद व्यवस्थापन तालिम केन्द्र, कुरिनटारका सशस्त्र प्रहरी भने घटनाकै दिनबाट र्याफ्टिङ बोर्डको सहायताले बेपत्ताको खोजी गरिरहेका छन्। ६० भन्दा बढी यात्रु बोकेको बसले छतमा समेत आँपका भारी ल्याएकाले ओभर लोडका कारण दुर्घटना भएको पीडित परिवारको अनुमान छ।
दुर्घटनामा सिरहा पधेरियाका मिस्टर चौधरी, उदयपुर रुवाङ- ४ का दाकबहादुर बानियाँ, नुवाकोट नर्जमान्दप- ५ का राजन पौडेल, सिन्धुली लदाभीर- १ का टीकाराम धमला, उदयपुर कटारी- ३ का केशव खड्का, सिन्धुपाल्चोक यमुनाडाँडा- ८ का वासुदेव लामा, उदयपुर कटारी- ४ का मोहनसिंह तामाङ, रामेछाप लखनपुर- ९ का प्रसादसिंह तामाङ, धनुषाका विनोद महत, सुन्धरियाका बाबुछोरा भोला यादव र वसन्त हराइरहेको भन्दै तिनका परिवारजनले प्रहरीमा निवेदन बुझाएका छन्। सोही दुर्घटनामा हराएका चितवनका पञ्चकुमार महतोको गुन्जनगर- ७ नारायणी नदी किनारमा शनिबार साँझ शव फेला परेको छ। महतो। सेनाका हवल्दार हुन्।
यसअघि कात्तिक ५ गते गोरखाको भुम्लिचोक र चितवनको दारेचोक जोड्ने झोलुंगे पुल चँुडिँदा त्रिशूलीमा खसेका दुई भारतीय पर्यटक अहिलेसम्म बेपत्ता छन्। घटनामा तीनजनाको मृत्यु भएको थियो। त्यस्तै, गत वर्ष असारमा धादिङको चरौंदी र गोरखाको घ्याम्पेसाल जोड्ने तुइन चँुडिँदा त्रिशूलीमा बेपत्ता भएका पाँचजनाको पनि शवसम्म भेटिएन सात दिनसम्म नभेटिएपछि परिवारले कुशको शरीर बनाएर दाहसंस्कार गरेका थिए।
वर्षायामभर त्रिशूलीको बहाब उच्च रहने भएकाले नदीमा बेपत्ता भएकालार्य फेला पार्न कठिन हुने गरेको चरौंदीका भूमि रेग्मीले बताए। 'नदीको बहाब बढी हँुदा शव टाढा पुर्यााउँदोरहेछ,' उनले भने, 'नारायणीमा पुग्दा गोहीले खाइदिन्छ वा कुहिने भएकाले भेटिँदैन।'
No comments:
Post a Comment