Friday, April 27, 2012

कङ्ग्रेस र एमाले सरकार परिवर्तन गर्ने तयारीमा

राष्ट्रिय सरकार बनाउने दिशामा जान्छौँ : ओली
काठमाडौँ, वैशाख १५ (नागरिक)- संविधान निर्माण गर्ने म्याद एक महिना बाँकी रहँदा दलहरुबीच सरकार परिवर्तनको तयारी सुरु भएको छ। प्रमुख प्रतिपक्षी दल कङ्ग्रेस र एमालेका नेताहरुले सरकारको विकल्प खोज्ने प्रतिक्रिया औपचारिक रुपमा दिएका छन्।
आजको तीन दल र मधेसी मोर्चाको बैठकपछि कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले माओवादी संविधान लेखनका विषयमा इमान्दारीपूर्वक प्रस्तुत नभएको र थप जटिलता सिर्जना गरेको सरकारको विकल्पमाथि सोचिने बताए।
सरकार परिवर्तनबारे भोलिको बैठकमा छलफल हुने समेत उनले बताए।
त्यसैगरी एमाले नेता केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने यसअघिको सहमतिबाट माओवादी पछि हटेको बताए। उनले भने- 'राष्ट्रिय सहमतिको सरकार गठनको यसअघिको सहमति कार्यान्वयन हुनुपर्‍यो, त्यो कार्यान्वयन नभए कार्यान्वयन गर्ने दिशामा हामी जान्छौं।'
यसअघि हिजो पनि प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध अविश्वास प्रस्ताव ल्याउन एमालेका तर्फबाट भन्दै नेता केपी शर्मा ओलीले बिहीबार नेपाली कांग्रेसका नेताहरूसँग पहल गरेका थिए। माओवादी 'आफू अनुकुल नभए संविधानै नबनाउने तयारीमा रहेको' र 'अहिलेकै सरकारलाई जेठ १४ पछि पनि निरन्तरता दिन लागेको' भन्दै ओलीले माओवादीको वैद्य पक्षबाट सहयोग पाउन सकिने पनि कांग्रेस नेताहरूलाई बताएका छन्।
कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले ओलीबाट सरकार परिवर्तनको प्रस्ताव आफ्नो पार्टीमा आएको नागरिकलाई संक्षिप्त रुपमा बताए।त्यसबारे विस्तृत जानकारी भने दिन चाहेनन्।
स्रोतका अनुसार बिहीबार संविधानसभा भवनमा कांग्रेस नेताहरू संविधान सुझाव समितिको बैठक गरिरहेको बेला ओली उपस्थित भएका थिए। 'एमालेका तर्फबाट' उनले अविश्वास प्रस्ताव ल्याउने र कांग्रेसकै नेतृत्वमा अर्को सरकार बनाउने धारणाअवगत गराएका थिए। एमाले केन्द्रीय कमिटीको बैठक शनिबार हुँदैछ।
माओवादी संविधान बनाउने भन्दा पनि कांग्रेस-एमालेलाई अल्मल्याउने बाटोमा लागेको बताउँदै उनले भनेका थिए, 'माओवादीले अल्झाउने काममात्रै गरेको छ, साँच्चिकै संविधान बनाउनेतिर लागेको छैन। संविधान बनाउन पनि अर्को सरकार चाहिन्छ।'
कांग्रेस र एमालेको प्रस्तावलाई बहुमत पुर्‍याउन कसले समर्थन गर्छ भन्ने कांग्रेस नेताहरूको प्रश्न गरेका थिए। जवाफमा ओलीले बिहीबार बिहानमात्रै माओवादी उपाध्यक्ष मोहन वैद्य समूहसँग छलफल गरेको र उनीहरू सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका थिए।
'उनीहरूसँग लिखित गर्न परे लिखित र मानिस उभ्याउन परे मानिसै उभ्याइदिन्छु,' ओलीलाई उदृत गर्दै ती नेताले भने, 'यो सरकारले संविधान बनाउनै चाहेको छैन। उनीहरूको एउटै मक्सद जेठ १४ पछि पनि यही सरकारलाई लम्बयाउने मात्रै छ।'
छलफलमा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि लगायत १०, ११ जना सहभागी थिए।
कांग्रेसका दीपकुमार उपाध्यायले संविधानका विवादित विषयमा सहमति नजुटाई सरकार परिवर्तन गरे संविधान बन्ने सम्भावना नरहने बताएका थिए। 'सकभर केही दिनमै विवादित विषयमा सहमति गरौं। त्यसपछि सरकार परिवर्तनलाई मुख्य एजेण्डा बनाऔं,' उपाध्यायलाई उदृत गर्दै अर्का नेताले भने,'अहिल्यै चोर बाटोबाट सरकार ढाल्नतिर लागियो भने सहमति र संविधानको कुरा टरेर जान्छ। बरु केही समय पर्खौं।'
ओलीले भने माओवादी संविधान निर्माणमा इमान्दार नभएकाले तत्कालै सहमति नजुट्ने जिकिर गरे। त्यसैले पनि जेठ १४ अघि नै लोकतान्त्रिक नेतृत्वको सरकार निर्माण हुनुपर्नेमा उनले जोड दिए। सरकार परिवर्तनको उपयुक्त समय अहिले नै भएको पनि उनको तर्क थियो।

No comments:

Post a Comment