Saturday, July 7, 2012

भारत लगेर बालबालिकाका मृगौला बेच्ने २ जना पक्राउ

खिलानाथ ढकाल, विराटनगर, असार २२-भारत सुपौलस्थितललितगञ्जमा नेपाली बालबालिका लगेर मृगौला बिक्री गर्ने गरेको आरोपमा पक्राउ परेका दुई जनालाई मानव बेचबिखन उद्योग र अपहरण तथा शरिर बन्धक मुद्दामा अनुसन्धान थालिएको छ। गत असार १९ गते पक्राउ परेका दीपक झा र सरिता झालाई उक्त मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको हो।
दीपक र सरिता सुपौल लगेर नेपाली बच्चाको मृगौला बेच्ने गिरोह हुनसक्ने अनुसन्धानअनुसार पत्ता लागेको प्रहरीको भनाइ छ। जिल्ला अदालत सरकारी वकिलको कार्यालयमा वयानका क्रममा दीपकले ललितगञ्जमा लगेर बालिकाको मृगौला झिक्ने योजना रहेको स्वीकारेका छन्।
दुहवीस्थित सान स्वीट बिस्कुट फ्याक्ट्रीमा कामगरिरहेका दीपक र सरिताले टंकिसिनवारी-२ की १० वर्षीया बालिका सीता प्रधान (परिवर्तित)नामलाई सुपौल लैजान खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। दीपकले सरिताको जिम्मा लगाउने र सरिताले सुपौल पुर्‍याउने योजना थियो।
त्यही योजना बमोजिम उनले ती बालिकालाई फकाएर लैजान लाग्दा गाउँलेले नियन्त्रणमा लिएपछि प्रहरीले पक्राउ गरेको थियो। ‘मैले सरितालाई पुर्यागउने जिम्मा मात्र लिएको थिएँ, तर बीचम पक्राउ परिहाल्यो,' हिरासतमा रहेका दीपकले भने, ‘उहाँ लगेर जिम्मा लगाउँदा ४० हजार भारतीय रूपैयाँ पाउने भनेपछि यस्तो काम गरियो।'
सरिताले मृगौला बिक्रीका लागि नभई आफ्नो माइतीघर सुपौलकै डोन भन्ने स्थानमा भएकोले बालिकालाई घर लान खोजेको प्रहरीमा बताएकी छिन्। दीपकलाई सरिताले भनेअनुसार सुपौलमा डाक्टरले बच्चाको मृगौला झिक्ने गर्छन् अनि बच्चा गायब पार्छन्।
ललितगञ्ज नै माइती भएकी सरिता पाँच वर्षयता दुहबी बस्दै आएकी छिन्। दीपक पनि दुहबीमै बसोबास गर्छन्। सरिता उक्त उद्योगमा खाना पकाउने काम गर्छिन्। भारत सुपौल नै घर भएका दीपक २० वर्षयता नेपाल बसोबास गर्छन्। उनले नेपाली नागरिकता प्रमाणपत्र पनि लिइसकेका छन्।
एउटै फ्याक्ट्रीमा काम गर्ने गरेका उनीहरूले एक महिनायता नेपाली बच्चा भारत लाने योजना बनाइरहेका थिए। सरिता र दीपक दुबैलाई भारतमा नेपाली बालबालिकाको मृगौला कारोबार गर्ने गिरोहभनी भारतीय नागरिक ललितगञ्जस्थित रेल्वेस्टेशनका विनोद यादवको नाम लिएका छन्। 'सरिता माइती जाँदा विनोदसँग सम्पर्क भएको र विनोदले ४० हजार रूपैयाँ दिने भनेपछि बच्चा लान खोजिएको हो,' दीपकले भने, 'त्यही भएर मैले बच्चा उठाएको हुँ।'
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सुपौल ललितगञ्ज मृगौला कारोबारको ट्रान्जिट प्वाइन्ट हुने अनुमान छ। सरिताले पाँच वर्षदेखि नेपाल-भारत निरन्तर आवतजावत गरिरहेकाले विगतमा पनि नेपाली बालबालिका त्यहाँ पुर्‍याएको हुनसक्ने प्रहरीको आशंका छ। उक्त क्षेत्रलाई केन्द्रबिन्दु गरेर विशेष अभियान थाल्ने योजना रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए। ‘सुपौलमा नेपाली बालबालिकाको मृगौला बिक्री हुने गरेको घटनालाई गम्भीर ठानी विशेष अपरेशन थाल्ने छौं,' चतुर्वेदीले नागरिकसँग भने।
मुलुकी ऐन अनुसार बालबालिकाको मानव बेचबिखन तथा ओसारपसार उद्योग पुष्टि भए १५ देखि २० वर्षसम्म सजाय हुने व्यवस्था छ। अपहरण तथा शरिर बन्धक मुद्दामा ७ देखि साढे ९ वर्षसम्म सजाय हुनसक्छ। सुपौल लगिएका बालबालिका उतै गायब पारिने गरेको प्रहरीको दाबी छ। नेपालबाट सुपौला पुर्यााएर मृगौला झिकी बेपत्ता पारिएका बालबालिकाको खोजी गरिने प्रहरीले जनाएको छ। ‘गहिरो अनुसन्धान गरिरहेका छौं,' चतुर्वेदीले भने, ‘उक्त क्षेत्रबाटरिपोर्ट आएपछि सबै पत्ता लाग्नेछ।'

No comments:

Post a Comment