Sunday, July 22, 2012

कटवालले भने- तत्कालै राजसंस्था फर्कँदैन

मनोज घर्तीमगर, पोखरा, साउन ७- पूर्व प्रधानसेनापती रुक्माङ्गत कटवालले अहिलेको अवस्थामा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन्। 'राजसंस्था फर्कने म कुनै सम्भावना देख्दिन' उनले भने, 'तर, हिजो राजाविरुद्ध लागेकाहरु आज उनकै पछि किन लागेका हुन्, यो गम्भीर प्रश्न हो।'
स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाले आज (आइतबार) पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कटवालले 'राजा आउ देश बचाउ' भन्दैमा राज संस्था नफर्कने बताए। उनले पश्चिम गएका बेला हजारौं जनता राजाको पछि लाग्नुले फेरि जनताले राजाको महत्व महसुस गरेको हुनसक्ने अनुमान गरे।
ठूला दलका नेताहरुले कस्तो संविधान बनाउने भन्ने पहिल्यै निर्क्यौल नगरेका कारण संविधान बन्न नसकेको दावी गर्दै कटवालले नेताहरुले राष्ट्रिय एजेण्डा किलियर नगरेसम्म देशले निकासपाउन नसके बताए। अर्को एक प्रसंगमा देशमा संक्रमणकालीन अवस्था यथावत भए नेपाली सेनाले सत्ताको बागडोर नियन्त्रणमा लिन सक्ने पनि उनले आशंका गरे।
'अहिले सम्पूर्ण संवैधानिक निकाय पूर्णरुपमा फेल भइसकेका छन्। यही अस्था रहे नेपाली सेनाले सबै कुरा नियन्त्रणमा लिन सक्छ' उनले भने'नेपाली सेना सम्पूर्ण नेपाली जनताको आशाको केन्द्र हो। तर, त्यस्तो अवस्था नआओस्।'
देश संघीयतामा गए देशी विदेशी शक्तिले चलखेल गर्ने सक्ने बताउँदै उनले हिमाल, पहाड र तराईसहितको अखण्ड नेपाल नै ठिक भएको सुनाए। 'अब एमाले, माओवादी, कांग्रेस, मगर, राइ, लिम्बु, बाहुन, ठकुरी, दलित हैन हामी सबैको नेपाल हो भन्नुपर्छ,' उनले भने, 'सबै एक भएमात्र देश बलियो बन्छ कुनै पनि विदेशी शक्तिले हल्लाउन सक्दैन।'
कटवालले अहिलेका नेताहरुले राष्ट्रिय हितमा कामगर्न नसकेकोले उनीहरुमा राष्ट्रको हित र सर्वमान्य नेता हुनका लागि सद्बुद्धि पलाओस भन्दै कामना गरे। 'जातजाति, दलको हैन अब राष्ट्रियऐजेण्डा उठाउनुहोस्' दलका नेताहरुलाई सुझाव दिँदै उनले भने'हे भगवान अहिलेका नेतालाई सर्वमान्य नेता बन्न प्रेरणा देऊ।'

No comments:

Post a Comment