महेन्द्रनगर, अषाढ ४ - कञ्चनपुरको कृष्णपुर गाविसमा पर्ने बनदेवी जंगल नजिक राजमार्गमा आइतवार राति भएको सडक दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
राति १० बजेतिर महेन्द्रनगरबाट धनगढीतर्फ जाँदैगरेको म १ ख ४१६ नम्वरको यात्रुबाहक बस र विपरीत दिशा कैलालीको अत्तरियातर्फबाट आइरहेको से १ त १६५८ नम्वरको ट्रयाक्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको हो । दुर्घटनामा १६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी बृषबहादुर रावलले दिएको जानकारी अनुसार मृत्य हुनेहरुमा ट्रयाक्टरको ट्रालीमा रहेका कञ्चनपुरको देखतभुली गाविस- ८ का ३२ वर्षीय साहिवराना, ३४ वर्षीय सुम्लि राना, १२ वर्षीय निवास राना, ४० वर्षीया लक्ष्मी राना र विन्दुदेवी रानाछन् । साहिव राना, सुम्लि र निवासको कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटो मै मृत्य भएको हो । 'लक्ष्मी राना र विन्दुदेवीको भारत बरेलीमा उपचारको क्रममा मृत्यु भएको हो,' रावलले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका कञ्चनपुर देखतभुली - ८ कै झेल राना र दिपेन्द्र रानाको भारत बरेलीमा उपचार भइरहेको छ भने बसका चालक देवबहादुर महता समेत ४ जनाको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको रावलले जानकारी दिए । अन्य सामान्य घाइते उपचारपछि घर फर्केका छन् । ट्रयाक्टर चालक बाबुराम रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
'बस र ट्रयाक्टर एक आपसमा ठोक्किदा भएको दुर्घटनामा मृत्यु हुनेहरु सवै कञ्चनपुरको देखतभुलीका हुन् । उनीहरु सवै ट्रयाक्टरको ट्रलीमा बसेका थिए,' रावलले भने, 'घटनाको थप अनुसन्धान भइरहेको छ ।'
No comments:
Post a Comment