पुष्पराज जोशी, डोटी, असार ४- झाडापखालाबाट डोटीमा एक साता यता ७ जनाको मृत्यु भएको छ। डोटीकोपूर्वी चौकीस्थित काडामाण्डौ-४ वटालागाउँमा झाडापखालाबाट ६ जना र वग्लेक गाविसमा १ जना गरी साता दिनमा ७ जना वृद्धवृद्धाको मृत्यु भएको हो।
झाडापखालाबाट मृत्यु हुनेहरुमा काडामाण्डौ गाविस वडा नम्वर ४ बटालागाउका ७८ वर्षिय तिर्मले वटाला उनकी श्रीमती ७५ वर्षिया पारु देवी वटाला, ७२ वर्षिया महामती देवी वटाला, ७२ वर्षिया धनी देवी वटाला, ६२ वर्षिया मनी देवी वटाला, ३५ वर्षिया दुरा देवी वटाला र वगलेक गाविस वडा नम्वर ७ का ७३ वर्षिय अवी साउँद रहेका छन्। आईतवार वेलुकी धनी देवी वटाला र मनी देवी वटालाको मृत्यु भएको हो।
वटाला गाउँमा १४ जना वृद्धवृद्धा र १५/२० जना वालवालिका झाडापखालाबाट प्रभावित भएको स्थानिय पदमसिंह वटालाले बताए। उनले भने, 'एक साता यता मात्रै गाउँमा ६ जना वृद्ध वृद्धाको पखालाका कारण मृत्यु भएपछि हामी अत्तालिएका छौ।' स्थानिय स्वास्थ्य चौकीमा झाडापखालाको औषधी नभएपछि विरामीहरु मर्न थालेको स्थानिय चक्र कठायतले बताए।
काडामाण्डौ स्वास्थ्य चौकीमा अहेव विष्णुराज जोशी दुई सातादेखि आएका छैनन्। अहिले मासिकाको भरमा चलेको स्वास्थ्य चौकीमा पखालाको औषधी नहुँदा विरामीहरु उपचारका लागि निजी क्लिनिकमा जान थालेको चक्र कठायतले बताए।
जिल्ला जनस्वास्थ्य कार्यालय डोटीका जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीले पखालाबाट मृत्यु भएको खवर पाए पनि त्यस ठाउँमा औषधी के कति छ भन्ने थाहा नभएको बताए।
No comments:
Post a Comment