ललितपुर, जेठ २० - नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभा विघटनसँगै मुलुकमा संवैधानिक र राजनीतिक सङ्कट सुरु भएको बताएका छन्। उनले दोष एक अर्कालाई थोपारे पनि अहिलेको संवैधानिक संकट माओवादीको गैर जिम्मेवारीले उत्पन्न भएको दावी गरे।
राजनीतिशास्त्री सङ्घले आज यहाँ आयोजना गरेको नेपालको वर्तमान राजनीतिक सङ्कट र समाधान विषयक अन्तर्त्रि्कयामा उहाँले संविधानसभा विघटनको दोष एकले अर्कालाई थोपर्ने गरिए पनि एकीकृत माओवादीको गैरजिम्मेवारीका कारण अहिलेको संवैधानिक सङ्कट आएको टिप्पणी गरे।
'संविधान बन्न नसक्ने विषय एमाओवादी र उसको नेतृत्वको सरकारको मात्र विषय नभई सबै राजनीतिक दल र सबै जनताको विषय थियो, साझा सहमति गरेर वैधानिक तवरले घोषणा गरिनुपर्थ्यौ त्यसैले संवैधानिक र राजनीतिक दोष माओवादीलाई नै जान्छ।'-नेता नेपालले भने।
उनले संविधानसभा भित्रका दलहरुसँग कुनै छलफल र सहमति नै नगरी एकलौटी असंवैधानिक तवरले संविधानसभा निर्वाचनको नयाँ मिति घोषणा गरिएको आरोप लगाउँदै अहिलेको अवस्थामा नयाँ राजनीतिक समझदारी गरेर अघि बढ्नुको विकल्प नरहेको बताए।
आफ्नो पार्टी सङ्घीयता विरोधी नभए पनि कुप्रचार गरिएको र त्यसैको हौवामा पार्टीभित्रका जनजाति नेता कार्यकर्तामा विचलन र विभाजनको अवस्था आएको भन्दै नेता नेपालले पार्टी भित्रका विचार र मतान्तरलाई बहस र छलफलबाटै समाधान खोच्न सकिने भएकाले पार्टी छोडेर नजान जनजाति नेताहरुलाई आग्रह गरे।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले संविधानसभा विघटनपछि घोषित संविधानसभा निर्वाचनले संवैधानिक सङ्कट मात्रै नभई कानुनी जटिलता निम्त्याएको भन्दै राजनीतिक सहमतिबाटै निकास खोजिनुपर्ने बताए।
प्राध्यापक कृष्ण पोखरेलले संविधानसभा विघटनपछि सबै राजनीतिक शक्तिमा ध्रुवीकरण आएको भन्दै अहिलेको अवस्थामा एकले अर्कोलाई दोष थोपर्ने भन्दा पनि हिजोका उपलब्धिलाई संस्थागत गर्न राजनीतिक सहमतिमा जानुको विकल्प नरहेको बताए।
यस्तै राजनीतिकशास्त्री सङ्घका महासचिव इन्दु आचार्यले मुलुकमा पछिल्लो संवैधानिक सङ्कटले शान्ति प्रक्रिया अवरुद्ध भई अहिलेसम्मका सबैखाले उपलब्धि गुम्ने खतरा बढेको भन्दै राष्ट्रिय एकता र सद्भावलाई जोगाउन सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिए। - रासस
No comments:
Post a Comment