Friday, June 22, 2012

होटल आक्रमणमा मर्नेको संख्या १८ पुग्यो

काबुल, असार ८- अफगानिस्तानको एक होटलमा गरिएको आक्रमणमा परी मर्नेको संख्या १८ पुगेको छ। राजधानी काबुलको पश्चिम भागमा अवस्थित एक प्रसिद्ध होटेलमा तालिबानी बन्दुकधारीहरूले गरेको आक्रमणमा ती सर्वसाधारण नागरिकको मृत्यु भएको प्रहरी स्रोतले शुक्रबार जनाएको छ।
राजधानी काबुलदेखि बाहिरी इलाकाको अत्यन्त सुन्दरस्थलमा अवस्थित यस होटलमा आक्रमणको क्रममा बन्धक बनाइएका ३५ देखि ४० व्यक्तिलाई अफगान सुरक्षा बल र नेटोसँग आबद्ध सैनिकले मुक्त गरेको गृहमन्त्रालय स्रोतले जनाएको छ।
आक्रमणअघि त्यसमा संलग्न हतियारधारीले सो होटलमा रहेका महिला र बालबालिकालाई बन्दी बनाएका थिए। तर पछि सो घटनामा परेका उनीहरुको उद्वार गरिएको बताइएको छ।
आक्रमणको क्रममा आतङ्ककारीहरूले स्वचालित हातहतियार, रकेट र गोली प्रहार गरेको समाचारमा उल्लेख छ। सो आक्रमण तालिबानीले गरेको पुष्टि भइसकेको समाचारमा जनाइएको छ।
उक्त आक्रमण स्थानीय समयअनुसार बिहीबार राति ११ बजेबाट सुरु भएको समाचारमा उल्लेख छ। तालिबानी आतङ्ककारीद्वारा बन्धक बनाइएका नागरिकमा महिला र बालबालिकासमेत रहेका पनि समाचरमा उल्लेख छ।
काबुलको बाहिरी इलाकामा अवस्थित कार्घाताल इलाकामा सो होटेल रहेको जनाइएको छ। होटलमा सुरु गरिएको जन्मदिन मनाउने समारोहमा सो आक्रमण गरिएको थियो।
अफगानिस्तान सरकारसँग गत एक दसकदेखि युद्धरत तालिवानी आतङ्ककारीले यस घटनाको जिम्मा लिएको समाचारमा जनाइएको छ। सो आक्रमणको निसानामा रहेका होटलका अरु पाहुनाको उद्वारका लागि सैनिकले आज दिनभरजसो नियन्त्रणमा लिएर काम गरेको थियो। रासस/एएफपी

No comments:

Post a Comment