काठमाडौ, जेष्ठ २० - अब कुनै चमत्कार भएमा मात्रै माओवादी एक रहनेछ, नत्र फुटका निम्ति बाटो खुलिसकेको छ ।
के हो त्यो चमत्कार ?प्रधानमन्त्री बाबुराम भट्टराईसँग सहकार्य छाडी अध्यक्ष पुष्पकमल दाहाल आफूतिर आए भने मात्र पार्टी एकता हुन सक्नेबुझाइ उपाध्यक्ष मोहन वैद्य समूहको छ । त्यो तत्काल असम्भव देखिन्छ । भयो भने चमत्कारै मान्नुपर्छ ।
वैद्यले शुक्रबार पनि 'अब दाहाललाई विश्वास गर्न नसक्ने' बताए । 'अध्यक्षले जहिले पनि हुन्छ भन्नुहुन्छ, व्यवहारमा पार्टी निर्णयविरुद्ध जानुहुन्छ,' उनको भनाइ थियो, 'आज (शुक्रबार) बिहानको भेटमा पनि त्यस्तै भन्नुभयो, अब विश्वास गर्न सकिन्न ।'
माओवादी संस्थापनको केन्द्रीय समिति बैठक पेरिसडाँडामा भइरहेका बेला शुक्रबार उपाध्यक्ष मोहन वैद्य पक्षले ललितपुरको कुपन्डोलस्थित सम्पर्क कार्यालयमा 'नयाँ पार्टी' निर्माण प्रक्रिया सुरु भएको घोषणा गरे । वैद्य पक्षको केन्द्रीय समिति बैठकले गरेको निर्णय सार्वजनिकगर्दै वैद्यले दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईलाई 'फुटवादी' भएको आरोप लगाए ।
वैद्य पक्षको निर्णय सुनिसकेपछि परिसडाँडामा संस्थापन पक्षले असार दोस्रो साता विस्तारित बैठक गर्ने निर्णय गर्यो, जबकि वैद्य पक्षले असार पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरिसकेको थियो ।
नाम एउटै भए पनि संस्थापन र वैद्य पक्षले दुई समानान्तर पार्टी चलाउँदै आएका छन् । संस्थापनले वैद्य पक्ष कार्यदिशाविहीन, जडसूत्रवादी भएको आरोप लगाउँदै आएको छ भने वैद्य पक्षले संस्थापन राष्ट्रिय आत्मसमर्पणवादी र संसदीय आहालमा डुबेको टिप्पणी गर्दै आएको छ ।
संविधानसभा विघटन भएपछि आरोप मात्र बढेको छैन, दूरी पनि झ्न-झ्न बढ्दै गएको छ । दुवै पक्षले एउटै पार्टी हुने आशा मारिसकेका छन् । दुवै पक्षले अब हुने प्रयास एकताका लागि अन्तिम हुने बताएका छन् ।
आफ्नै निवास बालुवाटारमा दाहालले वैद्यलाई पार्टी एकताका लागि आफू अध्यक्ष पद छाड्न तयार रहेको बताए । वैद्यलाई यो कुरामा समेत विश्वास लागेन । उनले दाहाललाई अब विश्वास गर्न नसकिने बताए । दाहालले संस्थापनको केन्द्रीय समिति बैठकमा अध्यक्ष पद छाड्न तयार भए पनि वैद्यले नमानेको जानकारी दिएका थिए । 'अध्यक्षले पार्टी एकताका लागि पद छाड्न तयार रहेको किरण -वैद्य) जीलाई भन्नुभएछ,' प्रवक्ता दीनानाथ शर्माले भने, 'तर उहाँले एकता हुन सम्भव छैन, विचार र राजनीतिमा धेरै फरक परिसकेको बताउनुभएछ ।'
वैद्य पक्षले राष्ट्रिय भेला गरी राजनीतिक र सांगठनिक निर्णय लिने निष्कर्ष निकालेको छ । 'अलगभइसकेका भन्ने होइन । नयाँ ढंगको कम्युनिस्ट पार्टी खोल्न राष्ट्रिय भेला गरिएको हो । जुन पक्षले सिद्धान्त, विचार, कार्यदिशा छाड्यो त्यो फुटवादी हो,' वैद्यले भने ।
संस्थापनले संविधानसभा निर्वाचनको स्वागत गरिरहेका बेला वैद्य पक्षले त्यसको औचित्य नभएको भन्दै 'नौटंकी' को संज्ञा दिएको छ ।
वैद्य र महासचिव रामबहादुर थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यही जेठ १४ गते पार्टीभित्र र अन्य राजनीतिक दलहरूसित समेत आवश्यक परामर्श नगरी असंवैधानिक तथा अत्यन्तै षड्यन्त्रमूलक रूपमा संविधानसभाका साथै व्यवस्थापिका समेतको विघटन गराई संविधानसभाको अर्को निर्वाचन गर्ने जुन नौटंकी रचिएको छ, त्यसको घोर विरोध र भत्र्सना गर्दछौं ।'
भदौमा भट्टराई सरकार गठन भएदेखि राजीनामा माग्दै आएको वैद्य पक्षले हाल पनि त्यही कुरा दोहोर्याएको छ । वैद्य पक्षले संविधानसभा विघटन भइसकेपछि राष्ट्रपतिलाई दुई पटक भेटी भट्टराई सरकारविरुद्ध कदम चाल्न आग्रह गरेको थियो । सरकारविरुद्ध मोर्चाबन्दी गर्न कांग्रेसर एमालेसँग छलफलसमेत गरेको थियो । वैद्य पक्षले संविधान निर्माणका लागि नयाँ प्रस्तावसमेत अघि सारेको छ । 'राजनीतिक दल र अन्य समुदायबाट समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा सर्वपक्षीय गोलमेच सभा गरिनुपर्छ र यसै सभामार्फत अन्तरिम संयुक्त सरकार गठन र नयाँ संविधान निर्माणको अधुरो कामलाई पूर्णता दिनुकासाथै समग्र राजनीतिक निकास निकालिनुपर्छ ।'
संस्थापनसँग गम्भीर मतभेद राखे पनि वैद्य पक्षले तत्काल जनविद्राहबारे स्पष्ट गरेनन् । 'शान्तिपूर्ण बाटाहरू अवरोध भए बन्दुक पनि उठाउनुपर्ने हुन्छ, विश्वमा हिंसाबाटै क्रान्तिसम्पन्न भएको छ,' वैद्यको भनाइ छ ।
प्रवक्ता दीनानाथ शर्माले भने वैद्य पक्षसँग स्पष्ट कार्यदिशा नभएको दाबी गर्दै फुटेर गएमा सानो शक्ति हुने बताए । 'किरणजीहरूसँग स्पष्ट कार्यदिशा र एजेन्डा छैन, क्रान्तिको चर्का कुरा गरेर उहाँहरूले मोहनविक्रम सिंहको नियति भोग्नुपर्ने छ,' उनको भनाइ थियो ।
संस्थापनले अन्तिम समयसम्म वैद्य पक्षसँग छलफल गर्ने र असार १५ गते विस्तारित बैठक गर्ने निर्णयगरेको छ ।
वैद्य पक्षले के गर्यो ?
२०६८ वैशाख ९ - अध्यक्ष दाहालको भन्दा बेग्लै प्रतिवेदन
२०६८ वैशाख १६ - वैद्यको नोट अफ डिसेन्ट
२०६८ साउन १ - दाहालको प्रतिवेदनमा पुनः असहमत
२०६८ भदौमा १५ - बाबुराम भट्टराई सरकारलाई बहिष्कार
२०६८ कात्तिक १६ - सेना समायोजनको विरोध
२०६८ कात्तिक २९ - समायोजन प्रक्रियामा भाग लिनलडाकुलाई आग्रह
२०६८ चैत २८ - लडाकु र हतियार सेनालाई जिम्मा लगाउने कार्यको विरोध
२०६९ वैशाखभर - संविधान निर्माण प्रक्रियामा असहमत
२०६९ जेठ २ - विज्ञप्तिद्वारा संविधानका विषयमा संस्थापनका निर्णयको विरोध
२०६९ जेठ १८ - वैद्य पक्षको केन्द्रीय समिति बैठक
२०६९ जेठ १९ - नयाँ पार्टी गठन प्रक्रिया सुरु भएको घोषणा
No comments:
Post a Comment