Thursday, May 3, 2012

गजलहरू

गजलहरू
उमा गौतम
पुर्व गएँ पश्चिम गएँ बेग्लै लाग्यो जिन्दगी
समाल्नलाई गाह्रो भयो टाढा भाग्यो जिन्दगी
बाँचेको छु तिम्रै लागि मर्छु तिम्रै लागि भनी
पटकपटक नजिक आई उसले माग्यो जिन्दगी
मृगतृष्णा बनी आयौ सपनीमा विपनीमा
नौलो रूपमा जिउनलाई फेरि जाग्यो जिन्दगी
अचानक आगो लाग्यो हृदयको कुनाबाट
पीडा नै त भोग्नु रै’छ खुसी नाघ्यो जिन्दगी ।
अमेरिका
हरि धिमाल
पीडा लुकाई हाँस्न खोज्दा पिरोलिएर रुन्छ मन
गरिबीमा बाँच्नुपर्दा आँसु बनी चुहुन्छ मन
दुःख जिलो गर्दागर्दै जिउने कोसिस गरे पनि
पीर व्यथा गाँठो परी निसासिएर थुन्छ मन
निष्ठुरी यो समयले कति कष्ट दिन्छ होला
अभागीको कर्मै खोटो आँसुले नै धुन्छ मन
घर छैन गाउँ छैन बस्ने एउटा ठाउँ छैन
दुःख झेल्दै सुख पाउने आशाहरू बुन्छ मन ।
अमेरिका
थुक्तेन दोर्जी डुक्पा
दुखियाको हत्केलामा भाग्यरेखा हुँदैन रे
गरिब मर्दा बिचराको लाशसमेत छुँदैन रे
कलीयुगको खेल हो या बाध्यताको नेल भनुँ
हिजोआज छोरा मर्दा बाबुसमेत रुँदैन रे
जन्म पाई कर्म खोज्दै सडकसडक हिँडेको छ
खान पाए भोको पेटले हातसमेत धुँदैन रे
अहिले खाएँ भरे के खाऊँ छाकै टार्न गाह्रो भयो
गरिबलाई दुःख पर्दा आँसुसमेत चुहुँदैन रे !
डेनमार्क
नारायण ‘गाउँले’
घाइते छु नसोच कि लाचार भएको छु
जति छिया पार्छ्यौ त्यति विस्तार भएको छु
भावना थेँ हिजो लात हान्यौ तर आज
जति काट्छौ त्यति बढ्छु विचार भएको छु
खुन बगेँ, आँसु बगेँ, बगेँ पसिना भै
र त आज खडेरीमा सिमसार भएको छु
उज्यालोका लागि हिजो पर्खाल ढालेकै हो
आज बत्ती बचाउन दिवार भएको छु
पगालेर तिम्रै सैयौँ मृत्युधूनहरू
जिन्दगीको आज अमर झङ्कार भएको छु
‘गाउँ’ थिएँ जमेँ कुहेँ तिम्रो सिद्धान्तमा
आज नदी बगेँ जब संसार भएको छु ।
लन्डन
मनु लोहोरुङ
अझै पनि आकाशमा जून रुँदै छ
सङ्गीतमा बाँसुरीको धून रुँदै छ
वस्तीभित्र पसिनाको धारा सुकेन
सहरमा सहिदको खुन रुँदै छ
आधा पेट भारी खेपी गयो जीवन
भरियाकै ढाडमाथि नुन रुँदै छ
महलमा कालो सिसा रङ्ग चाहिन्न
झुपडीको भित्ता हेरी चुन रुँदै छ
धेरै आए धेरै गए गर्छु भन्ने तर
धरतीको गर्भभित्रै सुन रुँदै छ ।
इजरायल
भोजराज घिमिरे
मनैभरि, तनैभरि देशको माया मुटुभरि
सम्झी मुटु गाँठो पर्छ झर्छ आँसु धरधरी
उतै आमा, उतै बाबा, साथीसङ्गी सारा उतै
एक्लो छु म, फगत एक्लो दुःख्छ मुटु घरिघरि
घरैभित्र, गाँउभित्र, मनै घुम्थ्यो बेँसीभित्र
सम्झी ल्याउँदा कलेजीमा चिरा पर्छ चरचरी
हाँसेकै थेँ, नाचेकै थेँ, रूखोसुखो रूचेकै थ्यो
भोकै बस्न बाध्य भएँ कुरा खेल्दा थरिथरि
सुख खोज्न, शान्ति खोज्न आएथेँ म विदेशमा
रातोदिनको दौडाहाले बढ्यो व्यथा परीपरी ।
क्यानाडा
एमवी घिसिङ
अनायासै जब कोही घरबाट टाढा हुन्छ
आफन्तको याद झन् परदेशमा गाढा हुन्छ
चिन्नु जान्नु कोही हुन्न साहू गाली गर्छ
चट्ट छाडी फर्की घर आऊँ कहाँ भाडा हुन्छ
मेरो भाषा, मेरो भेष, मेरो प्यारो मातृभूमि
तर त्यहाँ घीनलाग्दो खेल धुमधाडा हुन्छ
लाग्छ मन भन्नलाई बिचरा त्यो मेरो देश
जब भुली कर्तव्य त्यो नेता छाडा हुन्छ ।
दुबई
अञ्जु अञ्जलि
मौनतामा तिम्रा नयन केही बोलेजस्तो लाग्यो
मनको कुरा अलिकति केही खोलेजस्तो लाग्यो
यस्तो प्रश्न गर्‍यौ तिम्ले जवाफ मसँग थिएन
माफ गर तिम्रो हृदय मैले पोलेजस्तो लाग्यो
आकाश ओढी धर्ती बिछ्याई चुपचाप सँगै हिँड्यौ
फेरि पनि एकान्तमा प्रीत घोलेजस्तो लाग्यो
रित्तो सडक रित्तो सहर रित्तै थियो शब्द पनि
मनमनै एकअर्काको चाहत मोलेजस्तो लाग्यो
बेलायत
वासुदेव ओस्ती
बाटो हिँड्दा नदी देख्दा माई मनमा आउँछ
तिहार छेउ आउँदा पनि भाइ मनमा आउँछ
साथीभाइ भेट्दा हामी नमस्कार भन्ने गथ्र्यौ
यहाँ अचेल देख्दा पनि हाई मनमा आउँछ
दैनिकजसो मठमन्दिर जाने हाम्रो बानी थियोर्
चर्च देख्दा आजकल र्साई मनमा आउँछ
सानैदेखि नानीहरूलाई डे केयरमा लाँदा रैछन्
यस्तो देख्दा मलाई फेरि धाई मनमा आउँछ ।
क्यनाडा
श्याम रोका
मायालुको यादमा कच्चा मन रोएको छ
बिछोडको पीडाले भित्री तन रोएको छ
यत्रो ठूलो भीडमा आफू मात्रै एक्लो भएँ
आँसु सुक्यो रोएर आफ्नै पन रोएको छ
जवानीको कोपिला नफक्रँदै झर्न लाग्यो
बर्षातको आशमा सुख्खा वन रोएको छ
जतातातै गरिबी सलहझैँ फैलिरहेछ
सम्पन्नको गोजीमा पापी धन रोएको छ
मेहनत गर्दा नि ‘श्याम’मात्रै कङ्गाल भो
बाँच्ने चाह हरायो आत्मा झन् रोएको छ ।
इजरायल
माइनस प्लस सङ्ग्रौला
हे भगवान ! शक्ति देऊ यात्रा मेरो कालो नहोस्
फूल चढाई शरण पर्छु षड्यन्त्रको जालो नहोस्
बुद्धि अनि ज्ञान देऊ बूढा अनि बालकलाई
जनताको तक्दीरमाथि फँसाउने रालो नहोस्
अपाङ्ग भए हात पाउ दिमाग सबै भ्रष्ट भयो
नयाँ नेपाल युवाको हो देशद्रोहीको पालो नहोस्
अल्मलिने छैन युवा एक हुन्छन् अघि सर्न
आशीर्वाद सबको यिनलाई नराम्रो गालो नहोस् ।
दुबई
ज्योतिपुञ्ज सुरेश
देश रक्षा गर्ने को छ सोधेँ आफैँलाई
सक्छु भनी आफू पनि रोजेँ आफैँलाई
दैँत्य भई घुमेँ कति द्यौता भेट्नलाई
मान्छे हुन त्यसपछि खोजेँ आफैँलाई
कालो मैलो आफैँभित्र भेटेँ जब धेरै
सर्ला भनी अरूलाई छोपेँ आफैँलाई
हेर्नु मात्रै कति घाउ सधैँ दुखाउने
काँडा झिकी ती घाउका घोचेँ आफैँलाई
बाटो बिराउने डर गुरुबिना यहाँ
बुद्धज्ञान माथि राखी खोपेँ आफैँलाई
अँध्यारो नै वरिपरि पुग्नुपर्ने टाढा
बाटोभरि ज्योतिपुञ्ज सोचेँ आफैँलाई ।
भारत
दिनेश अचार्य मन्डु
हर्के काका वीरे दाइ अचेल के गर्दै होलान् ?
साइँली-माइली पँधेरामा पानी भर्दै होलान् !
उस्तै होला मेरो घर उस्तै होला बनपाखा
भारी बोकी भरिया दाइ मधेशतिर झर्दै होलान्
गाउँबेँसीका साथीभाइ परदेशमा सम्झन्छु म
धान थन्क्याई गहुँ मकै खेतमा बा छर्दै होलान्
गरिबीको पर्खाल तोड्न मुग्लान आएँ म त
घरबारी गाई-भैँसी साहूकोमा पर्दै होलान् ।
दुबई
भगवती कणेल
गर्न सकिएन केही खास प्रवाशमा
उकुसमुकुस भएको छ सास प्रवाशमा
रेमिटेन्सकै भरमा चलेको छ देश मेरो
देशकै लागि बसेको छु बास प्रवाशमा
स्वतन्त्र भै बाँच्ने रहर हुँदाहुँदै पनि
भोगिरा’छु डर अनि त्रास प्रवाशमा
आफ्नैसँग बिछोडिई बस्नुपर्दा यहाँ
छैन मलाई कसैको नि आश प्रवाशमा
केही गर्नलाई मौका पाए स्वदेशमै
बन्नुपर्ने थिएन कि दास प्रवाशमा ।
इजरायल
तुलसी पौडेल ‘प्रकृतिप्रेमी’
झूठो आश्वासन दिएर फकायो तिम्रो सहरले
बिना काममा दौडाएर थकायो तिम्रो सहरले
बासी खाना सँगसँगै धूलो धूवाँ पनि खुवाएर
जवानीमै केश मेरो पकायो तिम्रो सहरले
गाँठ पाएपछि साधू को हो चोर को चिन्दैन
चोरलाई साधु बनाएर बकायो तिम्रो सहरले
खानेपानीमा बार लाउँछ बिना बिजुली तार लाउँछ
नराम्रोसँग छकाउनु छकायो तिम्रो सहरले
गाउँको ताजा खाना स्वच्छ हावा लिँदै सप्रिएको
हट्टाकट्टा जीउ मेरो सकायो तिम्रो सहरले ।
इजरायल

No comments:

Post a Comment