Thursday, May 3, 2012

मन्त्रीहरुद्वारा सामूहिक राजीनामा, तीन बुँदे सहमति गर्ने तयारी, मस्यौदा बन्दै

माओवादी र मधेसी मोर्चाका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरुले प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष सामूहिक राजीनामा बुझाएका छन्। माओवादीका तर्फबाट मन्त्री बनेकाहरुको राजीनामाको खबर माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र मधेसी मोर्चाका मन्त्रीहरुको राजीनामाको खबर ह्रदयेश त्रिपाठीले वार्तास्थल बाहिर सञ्चारकर्मीहरुलाई यसबारे जानकारी दिएको नागरिकन्युजकर्मी माधव ढुङ्गेलले जनाए। 'राजनैतिक सहमतिको आधारमा बाबुराम भट्टराईकै नेतृत्वको सरकारमा सहभागी हुन' राजीनामा दिएको मन्त्री त्रिपाठीले बताए। मन्त्री श्रेष्ठले बाबुराम भट्टराई कै नेतृत्वको सरकार बन्ने शर्तमा राजीनामा दिएको बताए।
राजीनामा दियौँ: मन्त्री ह्दयेश त्रिपाठी जानकारी दिँदै। तस्बिरः रजनीश भण्डारी/ट्विटर
प्रमुख तीन दल र मधेसी मोर्चाबीच तीन बुँदे सहमति गर्ने तयारी, मस्यौदा बन्दै (2012-05-03 22:26:54)
प्रमुख तीन दल र मधेसी मोर्चाबीच तीन बूँदे सहमति गर्ने तयारी भइरहेको वार्तामा सहभागी अर्थमन्त्री वर्षमान पुनले बताएका छन्। वार्तास्थल नयाँ बानेश्वरमा रहेका नागरिकन्युजकर्मी माधव ढुङ्गेलका अनुसार अर्थमन्त्री पुनले सहमतिको मस्यौदा तयारी भइरहेको जानकारी दिए। उनका अनुसार तीन दिन भित्र संविधानका विवाद टुङ्ग्याउने, शान्ति प्रक्रियाटुङ्गोमा पुर्‍याउने र राष्ट्रिय सहमतिको सरकारअविलम्ब बनाउने बुँदाको सेरोफेरोमा रहेर सहमतिको मस्यौदा बन्दैछ।
माओवादी र मधेसी मोर्चा अलग्गै बैठकमा, मोर्चाका मन्त्रीले राजीनामा दिन मानेनन् (2012-05-03 22:12:54)
नयाँ बानेश्वरमा अहिले माओवादी र मधेसी मोर्चाबीच द्विपक्षीय वार्ता भइरहेको नागरिकन्युजकर्मी माधव ढुङ्गेलले जनाएका छन्। भोलिका दिनमा पनि गठबन्धन जारी राख्‍ने विषयमा दुई पक्षको वार्ता केन्द्रित रहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार मधेसी मोर्चाका मन्त्रीहरुले राजीनामा दिन अस्वीकार गरेपछि वार्ता जटिल मोडमा पुगेको छ। काङ्ग्रेस र एमालेले भने आजै सहमति नहुने हो भने भोलिदेखि वार्तामा नबस्ने चेतावनी दिएको बताइएको छ।
यसअघि हिजो दलहरुबीच आज लिखित सहमति गर्ने गरी कुरा मिलेको र प्रधानमन्त्री बाबुराम भट्टराईलेआजै मन्त्रिपरिषद् भंग गरी राष्ट्रिय सरकार बनाउन आह्वान गर्ने बताइएको थियो।
बैठक जारी, सहमतिको मस्यौदा बन्दै (अपडेट 2012-05-03 21:04:54)
नयाँ बानेश्वरको विशेष समिति सचिवालयमा प्रमुख तीन दल र मधेसी मोर्चाको बैठक राति नौ बजेसम्म जारी रहेको नागरिकन्युज कर्मी माधव ढुङ्गेलले बताएका छन्। बैठकमा सहमतिको मस्यौदा तयार हुँदै गरेको बताइएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, कङ्ग्रेस महामन्त्री कृष्ण सिटौला र मधेसी मोर्चाबाट विजयकुमार गच्छदार सम्मिलित टोलीले सहमतिको मस्यौदा बनाउँदै छन्।
नेताहरु बैठकबाट बाहिरिए (अपडेट 2012-05-03 16:54:54)
लिखित सहमति गर्ने भनिएको आजको प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकको बीचैमा शीर्ष नेताहरु बैठक स्थलबाट बाहिरिएका छन्। उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भने भोलिसम्ममा सहमति हुनेसंभावना रहेको बताए। सिंहदरबारमा बस्ने संवैधानिक परिषद्को बैठकमा सहभागी हुन उनीहरु निस्किएका हुन्। उनीहरु फेरि वार्ताका लागि फर्कने भनिएको छ।
एमाले वार्तामा कडा रुपमा प्रस्तुत हुन्छ : केपी ओली
तीन प्रमुख दल र मधेसी मोर्चाबीच भइरहेको वार्ता स्थलमा प्रवेश गर्नुअघि एमाले नेता केपी ओलीले वार्तामा एमाले कडा रुपमा प्रस्तुत हुने निर्णय स्थायी समितिको बैठकले गरेको बताएका छन्। नयाँ बानेश्वरमा रहेका नागरिकन्युजकर्मी माधव ढुङ्गेलका अनुसार ओलीले बहुमतीय प्रक्रिया अनुसार बन्ने सरकारमा एमाले सहभागी नहुने बताएका छन्।
___________________________

No comments:

Post a Comment