Saturday, May 5, 2012

सुन मूल्यमा नयाँ रेकर्ड तोलाको ५६ हजार

काठमाडौ, वैशाख २३ - भन्सार वृद्धिका कारण स्थानीय बजारमा शुक्रबार सुन मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनमा भन्दा तोलामा ६ सय रुपैयाँले बढेर शुक्रबार प्रतितोला ५६ हजार (दस ग्राममा ४८ हजार १०) रुपैयाँ कायम भएकोछ ।
'भन्सार बढाएकाले सुन मूल्यले नयाँ रेकर्ड कायम गरेको हो,' सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने । यसअघि गत वर्षको मंसिर १५ गते प्रतितोला ५५ हजार ८ सय पुगेर रेकर्ड कायम गरेको थियो ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रति दसग्राम सुनको भन्सार ८ सय रुपैयाँले बढाएको हो । अहिले सुनमा प्रति १० ग्राम २ हजार ३ सय रुपैयाँ भन्सार लाग्छ । सरकारले दुई वर्षको अवधिमा सुनको भन्सार १७ गुणाले बढाएको छ ।
भन्सार वृद्धिको अनुपातमा मूल्य बढाइएको भए तोलाको ५६ हजार ५ सय हाराहारीमा हुने शाक्यले बताए । 'शुक्रबार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेकाले यहाँ पनि गिरावट आएको हो,' शाक्यले भने । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार प्रतिआउन्स सुनको मूल्य १ हजार ६ सय ३५ अमेरिकी डलर कायम भयो । बिहीबार प्रतिआउन्सको मूल्य १ हजार ६ सय ४७ डलर कायम थियो ।
भन्सार वृद्धिपछि सुन तस्करी रोकिएको उनले बताए । 'शुक्रबारबाट सुनको तस्करी रोकिएको छ,' शाक्य भन्छन्, 'अवैध रूपमा भारतीय बजारमा सुन जान रोकिएपछि स्थानीय बजारमा तोकिएकै मूल्यमा सुन किनबेच हुन थालेको छ ।' उनले आपूर्तिमा देखिएको समस्या सकिएको बताए ।
भन्सार कम भएको र भारतीय रुपैयाँको अबैध कारोबारको कारण नेपालमा भित्रने सुनमा धेरै भारतीय बजारमा जाने गरेको थियो । शाक्यका अनुसार दैनिक १० किलोभन्दा बढी सुन यसरी अवैध रूपमा बाहिरिने गरेको थियो । सरकारले दैनिक २० किलो सुनल्याउने पाउने गरी कोटा निर्धारण गरेको छ । यसरी आएको सुन भारतीय बजारमा गएकाले स्थानीय बजारमा बढी मूल्यमा सुनको कारोबार हुन थालेको थियो ।
प्रकाशित मिति: २०६९ वैशाख २३ ०९:४३

No comments:

Post a Comment