Saturday, May 5, 2012

अन्नपूर्ण हिमशृङ्खला बगेपछि भीषण बाढी, ५ को शव भेटियो

तीन दर्जन बेपत्ता-
मनोज अधिकारी, सन्तोष पोखरेल, पोखरा, वैशाख २३- कास्कीको माछापुच्छ्रे गाविसस्थित अन्नपूर्ण हिमशृङ्खला पग्लिएर आएको भीषण बाढीले बगाएर केही मानिसको मृत्यु भएको छ। आज बिहान ९ बजेतिर खसेको हिम पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुगेको प्रहरीले प्रारम्भिक विवरण दिएको छ।
जिल्ला प्रहरीका प्रवक्ता रवीन्द्र पौडेलका अनुसार अहिलेसम्म ५ जनाको शव फेला परेको छ। अन्य तीन दर्जनभन्दा बढी बेत्ता भएको अनुमान छ। यसबाहेक तीन जनाको उद्दार गरी मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये एक जना मोहन ताम्राकार हुन्।
बाढीले खारापानीस्थित तातोपानी बजारका करिब दुईदर्जन स–साना होटल बगाएको त्यहाँ पुगेका प्रहरी तथा सञ्चारकर्मीले जानकारी दिएका छन्। खारापानीस्थित बसपार्कमा रहेका तीन वटा ट्याक्टरसमेत बगाएको छ। पोखराको याम्दी क्षेत्रमा भर्खरै थप एक शव फेला परेको छ।
बिहान करिब ९ बजे खसेको हिमपहिरोको बाढी पोखरामा ११ बजे आइपुगेको छ। बाढी हेर्न पोखरा रामघाटमा हजारौं पोखरेली भेला भएका छन्। बाढी आएपछि रामघाटमा दैनिक बालुवा निकाल्ने सयौं मजदुर भागभाग भएको थियो।
यसैबीच बाढीका कारण तीन जना पर्यटकसमेत हराइरहेका छन्। बाढी प्रभावित क्षेत्र पूरै बगरमा परिणत भएको छ। आज शनिबार भएकाले पिकनिक मनाउन गएकाहरु पनि उक्त बाढीमा परेका अनुमान छ। थुप्रै घर र सवारी साधनसमेत हराएको मानवीय क्षति निकै भएको अनुमान प्रहरीले गरेको छ। तर एकिन विवरण भने आउन सकेको छैन।

No comments:

Post a Comment