Monday, May 7, 2012

सुदूरपश्चिममा लुकाएर राखिएका गोली र म्यागजिन ठूलो संख्यामा भेटियो (फोटोसहित)

सशस्त्र प्रहरी बलको टोलीले कैलाली जिल्लाको सुगरखाल गाविस ९ भालुमारे खोलाको ओडारबाट ठूलो मात्रमा विभिन्न खालको गोली तथा म्याग्जिन बरामद गरेको छ।
सो ओडारमा चार वटा प्लाष्टिकको कट्टामा गोली तथा म्याग्जिन लुकाई राखेको अवस्थामा सुदूर पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बैद्यनाथबाहिनी अत्तरियाबाट खटिएको एपीएफ टोलीले फेला पारेको सशस्त्र समाचार कक्षका डीएसपी अजय छतकुलीले बताए।
विशेष सूचनाको आधारमा खटिएको एपीएफ टोलीले खोजतलासको क्रममा ढुंगाको ओडारमा लुकाई छिपाई राखेको अवस्थामा हिजो उक्त गोली तथा म्याग्जिन बरामद गरी बेलुका करीब साढे सात बजे सो बाहिनीमा ल्याएको छ।
एपीएफ टोलीले त्यसवेला ५.५६ एमएम गोली एक हजार नौ सय ३७ राउण्ड, ९ एमएम गोली दुई सय ८६ राउण्ड, ७.६२ एमएम गोली पाँच सय १९ राउण्ड, इन्सासको म्याग्जिन २३ वटा, एसएलआरको म्याग्जिन ५७ वटा, एलएमजीको म्याग्जिन ६ वटा, एम सिक्सटिनको म्याग्जिन २७ वटा,एसएमजीको म्याग्जिन ७ वटा र चाचर २२ वटा बरामद गरेको छ।
यसअघि सोही गाविस ९ स्थित भालुमारे खोलाको किनारमा रहेको ओडारमुनि लुकाई राखेको अवस्थामा यही बैशाख ८ गते एपीएफ टोलीले ७.६२ एमएमको गोली आठ सय ६० राउण्ड, इन्सासको गोली एक सय ६ राउण्ड, एलएमजीको ब्यारेल दुई थान तथा एलएमजीको म्याग्जिन २४ थान, एसएलआरको म्याग्जिन एक थान र इन्सासको म्याग्जिन पाँच थान बरामद भएको थियो।
सशस्त्र प्रहरी बल सुरक्षा बेस डुडेझारी कैलालीबाट खटिएको एपीएफ टोलीले उक्त गोली तथा म्याग्जिन बरामद गरेको हो।
यसैगरी रोल्पा जिल्लाको गैरी गाउँ ६ वासठाना नजिक खोलाको किनारमा गाडिराखेको कालो ट्यांकी भित्र राखेको अवस्थामा यही बैशाख ११ गते एपीएफ टोलीले ठूलो मात्रामा बम तथा विष्फोटक पदार्थ र गोलीगा बरामद गरेको थियो।
त्यसठाउँमा शंकास्पद वस्तु रहेको भनी खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल सुरक्षा बेस टिला रोल्पाबाट खटिएको एपीएफ टोलीले ८१ एमएम मोर्टारको एचई बम सात थान र स्मोक बम आठ थान, थ्री नट थ्री राइफलको गोली चार सय ७७ थान, एसएलआरको म्याग्जिन एउटा, सेफ्टी फ्युज एक हजार दुई सय मिटर, डेटोनेटर इलेक्ट्रोनिक दुई सय ८८ थान, ठूलो सकेट ४८ थान, सानो सकेट चार सय ५३ थान, सानो सकेटको बाहिरी भाग एक सय ७३ थान, इलेक्ट्रोनिक तार तीन सय मिटर, पटका १५ प्याकेट बरामद गरेको थियो।
त्यसैवेला सो ट्यांकीमा खतरायुक्त अवस्थामा रहेको चार थान सकेट बम मध्य पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालयबाट खटिएको बम डिस्पोजल टोलीले सुरक्षित साथ निस्कृय पारेको थियो।
एपीएफ टोलीले त्यसैठाउँको वरपर खोजतलास गर्ने क्रममा विभिन्न किसिमको पेस्तोलको गोली १३ राउण्ड तथा इन्सास राइफलको गोली एउटा, थ्री नट थ्री राइफलको गोली राख्ने चाचर चार थान, टीएनटी दुई थान, मल्टी प्लक चार थान, डेटकर्ड एक मिटर, मोटोकालो तार चार मिटर र एउटा सानो कालो झोला समेत बरामद भएको छ।

No comments:

Post a Comment