जनकपुर, वैशाख २५ (नागरिक)- सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मिथिला राज्य माग गर्दै जनकपुरमा केही दिनदेखि जारी आन्दोलन उद्देश्यविपरित भएको बताएका छन्। मिथिला राज्य सङ्घर्ष समितिले गैरजिम्मेवारी तरिकाले आन्दोलन सञ्चालन गरिरहेको बताउँदै उनले यही तालले मिथिला राज्य नपाउने दाबी पनि गरे।
साथै अध्यक्ष महतोले यो आन्दोलनको कुनै तुक नभएकोसमेत बताए।
सोमबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले जनकपुर अभिभावकविहीन बन्दै गइरहेको आफूलाई महसुस भएको बताए। मिथिला राज्य स्थापनाका लागि बजार बन्द गरेर कुनै उपलब्धि नहुने भन्दै राजनीतिकरुपले शोकलाई शक्तिमा परिवर्तन गनुपर्ने आवश्यकता औँल्याए। पार्टीको जनकपुरमा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले घटनाको छानविनका लागि उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै काठमाडौँमा उपचार गराइरहेका घाइतेहरुको पूर्णरुपमा उपचार भएपछि मात्र डिस्चार्ज गरिने बताए।
सङ्घर्ष समितिको आन्दोलन तरिका गलत रहेकाले अब जनकपुरलाई राजधानी बनाउन समस्या हुन सक्ने उनको भनाई थियो। मुलुकमा सङ्घीयताको कुरा सबभन्दा पहिला सद्भावना पार्टीले उठाएको दाबी गर्दै महतोले सद्भावनाको महाधिवेशनको समयमा जनकपुर बन्द गर्नुले मुलुकभर नकारात्मक सन्देश गएको टिप्पणी गरे।
No comments:
Post a Comment