Sunday, May 13, 2012

फेसबुक नेता !

काठमाडौ, वैशाख ३० - केही समयअगाडि अमेरिकाका राष्ट्रपति बाराक ओबामाले फेसबुकको वाल परिवर्तन गरेछन् । वालबाट टाइमलाइनमा लगेपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समाचार आयो, 'ओबामाले फेसबुक वाललाई परिवर्तन गरेर टाइमलाइनमा लगे ।' त्यसपछि उनको पेज हेर्नेको संख्या बढ्यो ।
ओबामाले आफैंले यो काम गरेका थिएनन् । प्रविधि राजनीतिमा माहिर ओबामाको फेसबुक चलाउने सहयोगीले यसलाई अपडेट गर्ने काम गर्छन् । तर यो पेजमा ओबामाको आधिकारिक कुरा आउँछ । पेज टाइमलाइनमा गएपछि फेसुबक प्रयोगकर्तामाझ चर्चा बढ्यो । अनि धेरै प्रयोगकर्ताले पनि ओबामालाई फलो गर्दै आफ्नो फेसबुक पेजलाई पनि टाइमलाइनमा लगे ।
हामी टाइमलाइनको कुरा गरिरहेका छैनौं । न त ओबामाको । हामी फेसबुकका नेपाली नेताहरूको कुराकानी गरिरहेका छौं । जो फेसबुकमा छन् । अनि यसलाई अन्तरक्रियाको माध्यम बनाएका छन् । त्यो नभए यो एउटा आवश्यकता हो भन्ने सोचेका छन् ।
तर, राजनीतिको वालमा फ्रस्टेसनका स्टाटस बढिरहेका बेला फेसबुक नेताहरूलाई गाली गर्ने एउटा गजबको डबली पनि बनेको छ । कसैले अश्लिलै लाग्ने शब्द वा चित्र पनि प्रयोग गरेका पाइन्छन् भने कतिले सुझाव दिने स्थानका रूपमा यसलाई प्रयोग गरेका पछि छन् । राजनीतिका विषयमा चासो देखाउन खोज्नेका लागि त फेसबुक डिजिटल खुलामञ्च बनेको छ ।
'देश बिगार्ने नेताहरू हुन्', 'काम नगर्ने नेतालाई किन पाल्नु', 'तलब लिएका छौ त्यसैले समयमा संविधान देऊ' जस्ता नारामात्र होइनन्, चिन्ता पनि यसमा व्यक्त हुन्छन् । कुनै एउटा नेताका समर्थक वा विरोधीले बनाउने गुप्रको कथा पनि बेग्लै छ ।
'फेसबुकमा आउने ९५ प्रतिशत प्रतिक्रियालाई सकारात्मक मान्ने गरेको छु,' एमाले नेता तथा सभासद रवीन्द्र अधिकारी भन्छन्, 'फेसबुकबाट सर्वसाधारणसँग सहज रूपमा अन्तरक्रिया गर्न पाएको छु ।' आफूलाई र राजनीतिक क्ष्ाेत्रलाई अरूले कसरी हेरेका छन् भन्ने कुरा फेसबुकबाट थाहा पाउन सहयोग पुग्ने उनले बताए । उनी आफूले लेखेका लेखको लिंक राख्नेदेखि अरूलाई उपयोगी सल्लाह र मनमा लागेका कुराहरू फेसबुकमा पोस्ट गर्छन् ।
अधिकारीको पेजमा राजनीति कुराकानी हुन्छ । 'कमरेड ३ सय २५ त साह्रै धेरै भयो । एक लाख जनसंख्यात थेग्नुपथ्र्यो नि केन्द्रीय संसद्ले, दुवै सदन गरेर । २ सयभन्दा नबढोस् भनेर अनुरोध गरेको हुँ ।' एमाले नेता प्रदीप नेपाल (खाता नक्कली पनि हुन सक्छ) ले अधिकारीको वालमा लेखेका छन् । उनको वालमा जातीय राज्यमा नेपाललाई रूपान्तरण गरी देश टुक्राउन खोजेको गुनासोदेखि लेख साह्रै राम्रो लागेको प्रतिक्रिया छन् ।
कांग्रेस नेता रामचन्द्र पौडेलको पनि फेसबुक पेज छ । तर उनी आफैंले चलाउँदैनन् । उनको पेजमा काम र कार्यक्रमको जानकारी राख्ने गरिएको छ । यो पेज लन्डनमा रहेका छोरा र काठमाडौंका केही सहयोगीले चलाउने गरेका छन् । पौडेलका विभिन्न भनाइका साथ फोटो बनाए टाइमलाइनमा राखिएको छ ।
फेसबुक सुरु हुँदाताका सबैभन्दा सक्रिय रहेका प्रधानमन्त्री बाबुराम भट्टराई अहिले फेसबुकमा सक्रिय छैनन् । तर उनका नाममा फेसबुकमा एक दर्जनभन्दा बढी खाता खोलिएको छ । उनलाई राम्रो अनि प्रचण्डलाई गाली गर्दै खोलिएको फेसबुक पेज पनि छ । माओवादीका अध्यक्ष प्रचण्डको नाममा पनि धेरै खाता खोलिएको छ । एमाले अध्यक्ष झलनाथ खनाल र नेता माधवकुमार नेपाल पनि फेसबुकमा छन् । तर यी शीर्षस्थ नेताहरूको पेज अरूले खोलिएको नक्कली धेरै छन् ।
'नक्कली फेसबुक पेजले धेरै छन्,' केही वर्षअगाडिसम्म फेसबुकमा धेरै सक्रिय युवा नेता गगन थापा भन्छन्, 'मेरो पेज ह्याक भएपछि अहिले म भिन्दै खोलेर सञ्चालन गरिरहेको छु ।' उनले केही वर्ष अगाडिसम्म आफू र साधारणबीच कुराकानी माध्यम फेसबुक बनाए । 'तर अहिले छानेर साथी बनाएको छु,' उनले भने ।
फेसबुकमा आउने प्रतिक्रिया र जिज्ञासाको उत्तर दिन नभ्याएपछि उनी अहिले धेरै चलाउँदैनन् । 'समय छैन,' उनले भने, 'अहिले थोरै समय फेसबुक चलाउँछु । यसमा आएको प्रतिक्रिया हेरेर राम्रो लागे उत्तर लेख्छु पनि ।' कुनै काम सुरु गर्नुपरे त्यसको सल्लाह र सहयोगका लागि उनले फेसबुक प्रयोग गर्न छाडेका छैनन् । 'केही समयअगाडि आमा पढेको स्कुलमाइ-लाइब्रेरी खोल्न फेसबुक प्रयोग गरे,' उनले भने । सोलुखुम्बुको कागेलमा लाइब्रेरी खोल्न फेसबुकमा सहयोग माग्न प्रयोग गरे । त्यसपछि उनलाई सहयोगको धुइरो । इ-लाइब्रेरी पनि खोलियो ।
धेरैले मनमा लागेका कुराहरू साथीभाइलाई भन्न उनी पनि फेसबुक प्रयोग गर्छन् । 'मनमा लागेका कुराहरू स्टाटसमा अपडेट गर्छु,' उनले भने, 'यसलाई सुझाव लिने फोरमको रूपमा समेत प्रयोग गरेको छु ।' सोच्दै नसोचेको राजनीतिक सुझाव, संसदीय जानकारी, अत्यधिक उपयोगी लिंक उनले फेसबुकबाट पाएका छन् । त्यसैले पहिलेको जस्तो धेरै समय फेसबुकमा बिताउन नसके पनि पूरै टाढिन सकेका छैनन् ।
सभासद अधिकारीले बिहान र बेलुका फेसबुकका लागि थोरै समय छुट्याउँछन् । तर फेसबुक चलाउने सबैभन्दा उपयोगी समय लामो अनि झन्झटलाग्दो कार्यक्रम हो । 'लामो कार्यक्रममा फेसबुक चलाएर बस्छु,' उनी भन्छन्, 'म फेसबुकबाट दिक्क भएको छैन । तर समय कम छ ।' एमाले नेता योगेश भट्टराई र थुप्रैजसो संगठनका विद्यार्थी नेताहरू फेसबुकमा सक्रिय छन् ।
प्रकाशित मिति: २०६९ वैशाख ३० ०७:२६

No comments:

Post a Comment